निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पलान्चोक भगवती : प्रदूषण मुक्त क्षेत्र घोषणा

पलान्चोक भगवती : प्रदूषण मुक्त क्षेत्र घोषणा

909
SHARES

काभ्रे : काभ्रे जिल्लाको पलान्चोक भगवती स्थान प्रदूषण मुक्त क्षेत्र घोषणा भएको छ। डिभिजन वन कार्यालय काभ्रेको वातावरण संरक्षण तथा सहरी वन कार्यक्रम अन्तर्गत पाँचखाल नगरपालिकाले भगवती स्थानलाई प्रदूषण मुक्त क्षेत्र घोषणा गरेको हो।

प्रदूषण मुक्त क्षेत्र घोषणा भएपछि पलान्चोक क्षेत्रमा फोहोर मैला गर्न निषेध गरिएको छ। प्लास्टिकका सामग्री प्रयोगमा रोक लगाइएको छ। मन्दिर क्षेत्रमा फोहोर मैला जथाभाबी नगरी फोहोर बस्तुहरू तोकिएको डस्टबिनमा विसर्जन गर्नुपर्ने छ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल,डिभिजन वन अधिकृत देविचन्द्र पोखरेल लगायतको उपस्थितिमा मन्दिर प्राङ्गणमा जडान गरिएको डिजिटल डिस्प्ले बोर्डमा स्विच अन गरी प्रदूषण मुक्त क्षेत्र घोषणा गरिएको हो।

मन्दिर प्राङ्गणमा ट्रि गार्ड सहितको वृक्षारोपण र सरसफाइ अभियान समेत सञ्चालन भएको थियो। डिभिजन वन कार्यालयले मन्दिर परिसर क्षेत्रको सरसफाइमा खटिएका सफाइकर्मीको पारिश्रमिक भुक्तानी पनि गरेको छ। विभिन्न सौन्दर्य मूलक ट्रि गार्ड सहितको ५० वटा वृक्षारोपण, डिजिटल डिस्प्ले बोर्ड, होर्डिङ बोर्ड, प्लास्टिकका बोतल राख्ने डस्टबिन लगायतको व्यवस्थापन कार्य गरिएको अधिकृत तिमिल्सिनाले जानकारी दिए।


प्रदूषण मुक्त क्षेत्र घोषणा कार्यक्रममा जिल्ला समन्वय काभ्रेका प्रमुख गौतम र पाँचखाल नगरपालिका मेयर खरेलले सबै सरोकारवाला निकायबिच समन्वय गरी स्वच्छ हराभरा पलान्चोक भगवती निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे।

डिभिजन वन अधिकृत पोखरेलले बन कार्यालय सदैव स्वच्छ, सफा पलान्चोक निर्माणमा क्रियाशील रहने बताए। प्रदूषण मुक्त पलान्चोक क्षेत्र घोषणा पश्चात् धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा रहेको वन अधिकृत तिमिल्सिनाले बताए।

डिभिजन वन कार्यालय काभ्रेले पलान्चोक भगवती स्थानलाई प्रदूषण मुक्त क्षेत्र घोषणा गर्न चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममै राखेको थियो। वार्षिक कार्यक्रम अनुसार नै भगवती स्थानलाई असार १७ गते जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतम, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका प्रमुख सेनानी अशोक कुमार मल्ल, डिभिजन बन अधिकृत देविचन्द्र पोख्रेल लगायतको उपस्थितिमा प्रदूषण मुक्त क्षेत्र घोषणा गरिएको बन अधिकृत तिमिल्सिनाले जानकारी दिए।

पलान्चोक भगवतीको महत्वलाई नमन गर्दै विकासमा टेवा पुर्‍याउन स्थानीयले पनि उप–समिति गठन गरेका छन्। २०७२ सालको भूकम्पले बिग्रेको मन्दिर स्थानीय सरकार र जन सहभागितामा २०७६ मा जीर्णोद्धार सम्पन्न भएको छ। विश्व सम्पदा सूचीमा नामाङ्कन हुन सक्ने राष्ट्रिय महत्वको पलान्चोक भगवती क्षेत्रलाई २०७६ सालमै सरकारले पर्यटकीय गन्तव्य घोषणा गरेको थियो।

समाचार शेयर गर्नुहोस्
909
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.