काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय गेट अगाडिबाट झन्डै १०० किलो सुन बरामद गरेपछि संसद्मा हङ्गामा भएको छ। सत्तारुढ काँग्रेसकै सांसदले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन्।
सुन तस्करीका मुख्य व्यक्तिहरू पक्राउ नपरेपछि बुधवार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलकै सांसदले अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरे।
मङ्गलवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै तस्बिर छापिए जस्तो गरी व्यापारी दीपक मलहोत्राको फोटो पत्रिकामा छापिएको गृहमन्त्रीको राजीनामा माग गरेका थिए।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसद सुनिल शर्माले प्रधानमन्त्री फर्केपछि यो प्रकरणका नाइके अर्थमन्त्री र गृहमन्त्रीलाई बर्खास्त नगरे संसद्मै आमरण अनशन बस्ने चेतावनी दिए।
सत्तारुढ काँग्रेसका सांसदले सुन तस्करीमा राजीनामा नै माग्दा प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर संसद् बैठक अवरुद्ध गरेको छ। सुन प्रकरणमा अहिलेसम्म १७ जना पक्राउ परेका छन्।
सुन तस्करीमा संलग्न रहेको आशङ्कामा सुरेन्द्र तामाङ बुधवार पक्राउ परे। क्विन्टल सुन तस्करीको आशङ्कामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ।
विभागले कमलपोखरीस्थित निवासमा छापा मारेको हो। क्विन्टल सुन ल्याउने रेडी ट्रेडर्स नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको आशङ्कामा विभागले अनुसन्धान गरिरहेको जनाएको छ।
बुधवारको बैठकमा सांसदहरूले भरियालाई देखाएर सुन काण्ड टालटुल पार्न खोजेको आरोप पनि लगाएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गृह र अर्थमन्त्री कै संलग्नतामा सुन भित्रिएको आरोप पनि लगाएको छ।
उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले संसद्मा नाराबाजी गरेको छ। एमालेका प्रमुख सचेतक पदम गिरीले पछिल्लो पटक सेटिङ बिग्रिएर मात्र एक क्विन्टल सुन प्रकरण बाहिरिएको दाबी गरे।
यसअघि विमानस्थलबाट सुन भित्र्याउनका लागि पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको संलग्नता रहेको भनिए पनि सत्ताको आडमा छानबिन नभएको गिरिको आरोप छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणलाई निष्कर्षमा पुर्याउन नसके वर्तमान सरकारको दिन गन्ती सुरु हुने बताए। लामिछानेले प्रहरी प्रशासन, भन्सार प्रमुखलगायतको सरुवा गरेर पुरस्कृत गर्ने नभई बर्खास्त गर्नुपर्ने माग गरे।
नक्कली शरणार्थी : आरजुलाई डिस्टर्व, शेखरलाई कसरी मुख देखाउने समस्या
पछिल्लो समय बाहिरिएका प्रकरणले राज्य प्रशासन सेटिङमा चलेको देखिएको छ। पशुपतिमा सुनको जलहरी राख्दा व्यक्तिको नाम लेख्ने सम्मका दुस्साहस भएको पुष्टि भएको छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने कामले अन्तर्राष्ट्रिय जगतमा अनुहार देखाउनै समस्या भएको छ। काण्डैकाण्डमा जेलिएको देशमा दलहरू आफ्नालाई जोगाउने प्रतिस्पर्धामा लागेका छन्।
नक्कली शरणार्थी प्रकरणमा जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे काँग्रेस मौन बसेको छ भने एमाले आरोपित रामबहादुर थापालाई पक्राउ पर्न नदिन पाखुरा सुर्किएर बसेको छ।
काँग्रेस पार्टी कार्यालय, सानेपामा बुधवार अन्तिम दिनको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेका निर्णयमा खाँणलाई निलम्बन गर्ने विषय नपरेपछि अर्का महामन्त्री गगनकुमार थापासहित केही नेताले फरक मत राखेका छन्।
गणतन्त्र ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूको आफ्नालाई जोगाउने परिपाटी राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध गर्ने मसला बनेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने, सुनलाई स्कुटरको ब्रेक शू मा हालेर भित्र्याउने कस्तो संस्कार हो? भनेर प्रश्न गरेका छन्।
ललिता निवास प्रकरण
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका रमेश कुमार पोखरेलको रिटमा बन्दी प्रत्यक्षीकरणको आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले पोखरेलको थुना गैरकानुनी नभएको ठहर गरेको हो।
यद्यपि पोखरेलले लामो समयदेखि डिप्रेसनलगायत मानसिक रोगको औषधि सेवन गरिरहेको भन्दै पुनः म्याद थप गर्न आउँदा विचार पुर्याउन सर्वोच्चले काठमाडौं जिल्ला अदालतलाई भनेको छ। पोखरेलमाथि ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको आरोप छ।
ललिता निवास प्रकरणमा पटक पटक गरी पक्राउ परेका २२ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला अदालत काठमाडौँले यस प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई अनुसन्धान गर्न थप ५ दिनको समय दिएको हो।
न्यायिक हिरासतमा रहेका २२ मध्ये २० जनाको बयान सकिएको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। सरकारी जग्गा किर्तेमा नक्कली मोही बनेका सकुलनन्द महर्जन र सञ्जय महर्जनको बयान हुन बाँकी रहेको सिआइबीले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.