नक्कली शरणार्थी : आरजुलाई डिस्टर्व, शेखरलाई कसरी मुख देखाउने समस्या

नक्कली शरणार्थी : आरजुलाई डिस्टर्व, शेखरलाई कसरी मुख देखाउने समस्या

काठमाडौं : सरकारले उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्ने बताएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्ने छलफल भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बताए।

नेताहरूको सम्पत्ति छानबिन गर्ने बताएको वर्तमान मन्त्रिपरिषद्का सदस्यको भने सम्पत्ति विवरण लुकाइएको छ। वर्तमान प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक नगरी गोप्य नै राखेको छ। अघिल्लो सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् पनि सम्पत्ति विवरण सार्वजनिक नगरी बाहिरिएको थियो।

मन्त्रिपरिषद् गठन भएको ६ महिनासम्म प्रधानमन्त्री प्रचण्डदेखि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन। तर, मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले छानबिन आयोग गठन गरेर जुनसुकै पार्टीका भए पनि भ्रष्टाचारीलाई कारबाही गरेरै छाड्नेबारे प्रधानमन्त्री प्रचण्डसँग कुरा भइसकेको जानकारी दिए।

‘भ्रष्टाचारका ठुला ठुला काण्डहरूको फाइल खोल्दै खोल्दै जाने हो, प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले भनेको छु, प्रधानमन्त्रीज्यू अघि बढ्नुस्। जो जो पर्छन् पर्छन्, काँग्रेस, एमाले, माओवादी को पर्छन् थाहा छैन, भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने हो,’मन्त्री गुरुङले भने,‘म जहाँ छु त्यहीँ छु, मन्त्री भएपछि डराएको छैन, मन्त्री पद छोड्नुपरे छोडौँला, आफ्नो निष्ठा, सिद्धान्त छोडिन्न, विचार छोडिन्न।’

नक्कली शरणार्थी प्रकरणमा टेकनाथको बयान, मन्त्रिपरिषद् जिम्मेवार हुनुपर्छ

वर्तमान सरकारमाथि आफ्नो आङको भैँसी नदेखेको तर, अरूको आङको जुम्रा खोज्ने दाबी गरेको आरोप लागेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणका कारण नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भइरहेको छ। आरोपितहरू भने खल्लेआम धक फुकाएर ठुलठुलो आवाजमा कुर्लिरहेका छन्।

आरोप लागेपछि अनुसन्धान गर्ने निकायलाई सघाउनुको साटो ‘मिडिया ट्रायल’ गरेर डिस्टर्व गरिएको समेत भन्न भ्याएका छन्। काँग्रेस नेतृ डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि पति शेरबहादुर देउवालाई समेत डिस्टर्व गर्न खोजिएको गुनासो गरेकी छन्।

‘कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो’, उनले भनिन्, ‘यस प्रकरणमा सयौँ टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ। त्यसैलाई उचालियो। टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो।’

आरजुको खुलेआम च्यालेन्ज आउँदा शेरबहादुरसँग पार्टी सभापतिमा पराजित शेखर कोइरालाले भने सुशासन कायम गर्न नसके काँग्रेस नै सकिने चेतावनी दिएका छन्। उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताए।

‘भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भीर तरिकाले गाँजिएको मैले पाइराखेको छु। जता हेर्‍यो, जसरी हेर्‍यो, जहाँ हेर्‍यो त्यहीँ भ्रष्टाचार देखिन्छ,’कोइरालाले भने,‘यो केन्द्रीय समिति पछिको नेपाली काँग्रेस भ्रष्टाचारमा शून्य सहनशीलताको हिसाबले हामी अगाडि बढ्नै पर्छ। नत्र भने नेपाली काँग्रेसको औचित्य समाप्त हुन्छ भन्ने कुरा तपाईँहरूलाई भन्न चाहन्छु।’

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

नक्कली भुटानी शरणार्थीका कारण अन्तर्राष्ट्रिय समुदायमा अनुहार देखाउनै नसक्ने अवस्था आएको काँग्रेस नेता कोइरालाले बताए।

‘भुटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरूले आफ्नो अनुहार कसरी देखाउने?’उनले भने,‘विदेश जाँदा नेपाली पासपोर्ट लिएर जानु पर्ने अवस्था छ,त्यो नेपाली पासपोर्ट देखाउँदा तिमीहरू त यस्तो हौँ भन्यो भने हामीहरूले आफ्नो मुख कसरी देखाउने भन्ने समस्या पनि छ।’

नक्कली शरणार्थी प्रकरणमा काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण जेल परेका छन्। खाँण पत्नी मञ्जु र देउवा पत्नी आरजुमाथि पनि आरोप लागेको छ।

काँग्रेस केन्द्रीय समिति बैठकमा खाँणलाई निलम्बन गर्नु पर्ने या सरकारबाट हट्नु पर्नेसम्मको धारणा आए पनि काँग्रेसले केही निर्णय गरेको छैन। नक्कली भुटानी शरणार्थी प्रकरणबारे काँग्रेसका नेताहरू बोले पनि संस्थागत कुनै निर्णय आएको छैन।

शरणार्थी प्रकरणपछि, ललिता निवास जग्गा र विमानस्थल भन्सार पास भएर क्विन्टल सुन बाहिरिएको काण्ड अहिले चर्चामा छ। शरणार्थीमा जस्तै सुन काण्डमा पनि उच्च पदस्थ नै संलग्न भएको आरोप लागेको छ।

क्विन्टल सुन काण्डमा बल्ल प्रहरीको इन्ट्री, ६ वटा बाकसमा दाह्री काट्ने सेभर फेला

गृहमन्त्री नारायणकाजी श्रेष्ठ माथि नै सुन तस्करी उम्काउन खोजेको आरोप लागेको छ। सानोतिनो संलग्नताबाट क्विन्टल सुन तस्करी नभएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा प्रशासनको नेतृत्व गरेका गृह मन्त्री श्रेष्ठले काँक्रोको बियाँ अर्काको गालामा टाँसेर आफू उम्कन खोजेको आरोप लगाएका छन्।

कम्बोडियाबाट फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले नै सबैको ध्यान अन्यत्रै मोड्न विभिन्न प्रपञ्च गरिरहेको आरोप लगाए। ‘सुन काण्डको सिलसिला अन्तिम नपुर्‍याई हामी छोड्दैनौँ, पहिला पनि सुन तस्करी हुने गरेको थियो,’ओलीले भने,‘कसमाथि कारबाही हुन्छ हामी हेरिरहेका छौँ।’ गृहमन्त्रीले सुन तस्करीमा संलग्न देखिने गरी पत्रपत्रिकामा आफ्नो फोटो छाप्न लगाएर अफवाह फैलाउने काम गरेको ओलीको आरोप थियो।

क्विन्टल सुन काण्डपछि सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ। आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डेलाई अर्थले विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी दिएको हो।

एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएको छ। गत पुस २९ गते विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि पोखरेल बिदामा बसेका थिए।

पोखरेल बिदामा रहेका बेला गत साउन २ गते विमानस्थलको भन्सार पार गरेको अवस्थामा करिब एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading