क्विन्टल सुन काण्डमा बल्ल प्रहरीको इन्ट्री, ६ वटा बाकसमा दाह्री काट्ने सेभर फेला

क्विन्टल सुन काण्डमा बल्ल प्रहरीको इन्ट्री, ६ वटा बाकसमा दाह्री काट्ने सेभर फेला

काठमाडौं : विमानस्थल भन्सार कार्यालयबाट क्विन्टल सुन काण्ड बाहिरिएको एक साता पुग्नै लाग्दा अनुसन्धानमा बल्ल नेपाल प्रहरीको इन्ट्री भएको छ।

राजस्व अनुसन्धानले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयबाट अवैध सुन बरामद गरेको छैटौँ दिनमा अनुसन्धानका लागि प्रहरीको सहयोग मागेको हो। विभागले अनुसन्धानको लागि प्रहरीको सहयोग माग गरेपछि प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीलाई पठाइएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले अनुसन्धानका लागि प्रहरी खटाइदिनु भन्ने आग्रहमा पङ्गेनी खटिनु भएको बताए। ‘सबै प्रहरीले गर्ने होइन, प्रहरी त्यहाँ अनुसन्धान सहयोगका लागि गएको हो,’उनले भने,‘अनुसन्धानमा सहयोग गर्न उहाँहरूले मागेकै एक जना हो, हामीले एक जना नै पठाएका हौँ।’

विभागले अहिलेसम्म १६ जनालाई नियन्त्रणमा लिए पनि सुन तस्करका मुख्य व्यक्तिहरू पक्राउ गर्न सकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भ्रष्टाचार नियन्त्रणमा विदेशमा रहेका नेपालीको साथ मागेका छन्।

इटालीमा पुगेका प्रधानमन्त्री प्रचण्डले रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोएसिया, पोर्चुगल, अस्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूसँग भेट गर्दै ठूलाठूला भ्रष्टाचार र तस्करीमा संलग्नलाई कारबाही गर्न सरकारले लिएको अठोटमा साथ दिन आग्रह गरेका उनको निजी सचिवालयले जनाएको छ।

राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट बरामद गरेको बाकसमा सुन फेला नपरेको बताएको छ। विभागले ४ साउनमा ६ वटा शङ्कास्पद बाकस बरामद गरेको थियो।

तस्करीको सुन भएको आशङ्कामा बरामद सामानमा सुन फेला नपरेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन्। सोमबार बाकस खोल्दा दाह्री काट्ने ‘सेभर’ भेटिएको र त्यहाँ सुन फेला नपरेको विभाग स्रोतले बताएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ‘रेड ट्रेड प्रालि’ ले मगाएको थियो। सोही कम्पनीको थप सामान भेटिएसँगै थप अवैध सुन भएको आशङ्कामा विभागले सामान बरामद गरेको थियो।

क्विन्टल सुन बरामद : तौल लिन अझै तीन दिन लाग्ने

अवैध सुन समातिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महत सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाले काम गरेको बताए। बुटवलमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातिएको दाबी अर्थमन्त्री महतले सुनाए। ‘भन्सारको अनियमित कुराहरू निस्तेज गर्नका लागि पुरस्कार दिने व्यवस्था राखिएको छ,’उनले भने,‘त्यसले पनि काम गरेको छ।’

तर, काँग्रेसका सांसद डा. सुनिलकुमार शर्माले भने सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिका शङ्कास्पद रहेको भन्दै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन्।

सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा लिखित निवेदन दिँदै सांसद शर्माले एयरपोर्टबाट भएको सुन तस्करीमा अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिका शङ्कास्पद रहेको भन्दै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका हुन्।

आफ्नै पालामा ठुला ठुला भ्रष्टाचारको फाइल खोलिएपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने हौसिएका छन्। उनले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने पटक पटक दोहोर्‍याउँदै आएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा गृहमन्त्री श्रेष्ठले अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने बताए। अपराधमा संलग्नहरूलाई प्रमाणले भ्याएसम्म सबैलाई कारबाही हुने उनको भनाई थियो।

गृहमन्त्री श्रेष्ठले दोषीमाथि अनुसन्धान भई रहँदाको असहजता सुनाउँदै सबैको लागि कानुन बराबर रहेको बताए। ‘राजनीतिक क्षेत्रका नेताहरू दोषी देखिए, अपराधी देखिए, कारबाहीका लागि नियन्त्रणमा लिइयो,मुद्दा चलाइयो भने राजनीतिक पार्टीका नेताहरू कराउन थाल्ने,’उनले भने,‘उद्योग व्यवसायी परे भने हामी उद्योग व्यवसायी त ट्याक्स तिरेका छौ नि, कर तिरेका छौ, राज्य चलाउन सहयोग गरेका छौ,हामीलाई पनि गर्ने भनेर आवाज उठाउँछन्।’

गृहमन्त्री श्रेष्ठले कर्मचारीलाई कारबाही गर्न नपाइने आवाज समेत उठेको बताए। ‘कर्मचारीलाई कारबाही गर्न पाइन्छ भन्छन्,कारबाही कसलाई गर्ने? त्यही निमुखा, गरिब, शक्ति नभएका भनिएका जनतालाई गर्ने कारबाही?’गृहमन्त्री श्रेष्ठले भने,‘विपन्नलाई एउटा कानुन, सम्पन्नलाई अर्को कानुन म मान्दिन,सरकारले त्यसलाई स्वीकार गर्न सक्दैन।’

नक्कली मोही पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा दुई जना नक्कली मोही पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा सञ्जय कुमार महर्जन र सकुलानन्द महर्जनलाई नियन्त्रणमा लिइएको एसएसपी दिनेश आचार्यले जानकारी दिए।

महर्जनद्वयलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाललगायतले सरकारी जग्गा हडपेको सीआइबीले जनाएको छ।

त्यसअघि हाइप्रोफाईल व्यक्ति सम्मिलित नक्कली भुटानी शरणार्थी प्रकरणको भने जरो बिचैमा काटिएको टिप्पणी हुन थालेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताए।

पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने देशमा सुशासन कायम हुन नसक्ने उल्लेख गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बिचमै काटिँदा अनुसन्धान पूरा नभएको टिप्पणी गरे।

‘आज को छैन भ्रष्टाचारी भनेर खोज्नु पर्ने अवस्था आएको छ,हिजो प्रधानमन्त्री, मन्त्रीको तहमा मात्रै हुन्थ्यो होला,अब वडा सदस्यसम्म भ्रष्टाचार पुगेको छ,’उनले भने,‘आज त्यो भुटानी शरणार्थी काण्ड कति ठुलो काण्ड भएर गयो, तर त्यो काण्ड कहाँसम्म पुग्यो भन्दा जाँदै जाँदै गर्दा बिचमा गएर जरा काटिएको छ।’ उनले त्यो पल्लो छेउसम्म नपुगेको बताए। खोजतलास नपुगेको उनले बताए।

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading