निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गगनको राजनीति दाउमा राखेर छानबिन गर्न रवि तयार

गगनको राजनीति दाउमा राखेर छानबिन गर्न रवि तयार

106
SHARES

काठमाडौँ : रवि लामिछाने राजनीति छाड्ने बाजी राखेर संसदीय समिति बनाउन तयार देखिएका छन्। सहकारीको रकम अपचलन गरेको अभियोगपत्रले पुष्टि गरे पनि महान्यायाधिवक्ता कार्यालयमार्फत चोखिने प्रयास गरेका लामिछाने अन्ततः संसदीय समिति बनाएर छानबिन गर्न तयार देखिएका हुन्।

उनले गगन थापासँग बाजी राखेका हुन्। लामिछाने भरखरै खुलेको नयाँ नाम नै स्वतन्त्र पार्टीका सभापति हुन भने थापा जहानियाँ राणा शासन ढालेको नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसका महामन्त्री हुन्।

थापा निर्वाचित महामन्त्री हुन् भने लामिछाने मनोनीत सभापति हुन्। प्रतिनिधि सभामा दुवै निर्वाचित सांसद हुन्। हैसियत दुवैको बराबर हो। त्यही हो अहिले गगनको पार्टी प्रतिपक्षमा छ भने लामिछानेले त आफैँ सरकारको नेतृत्व गरेका छन्।

उपप्रधानको फुर्को झुन्ड्याएर दोस्रो पटक गृहमन्त्री बनेका लामिछानेको नाम सुप्रिम सहकारीबाट दुई करोड लिएको नेपाल प्रहरीको प्रतिवेदनमा उल्लेख भए पनि सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने हिम्मत गरेन।

लामिछाने सत्ताको रापले तातेका छन्। रामभक्त हनुमानहरू सामाजिक सञ्जालमा शीतल बनाउने प्रयास गरिरहेका छन्। संसद्को बजेट अधिवेशन सुरु भएकै दिन सहकारीको रकम हिनामिनाबारे छानबिन समिति गठनको माग गर्दै काँग्रेस सांसदहरूले नाराबाजी नै गरे पछि लामिछाने तनावमा परेका छन्।

संसद्मा बोल्न पाउनुपर्ने पत्र बुझाएका उनलाई सभामुखले समय दिए पनि रोष्टममा पुग्नै सकेनन्। घेरा हालेर बसेका काँग्रेस सांसदहरूले बिचैबाट फर्किन बाध्य बनाए। त्यसको झोकमा लामिछानेले थापासँग राजनीतिलाई दाउमा राख्न चुनौती दिए।

संसदमा नाराबाजी, गलत साबित गर्न रविलाई चुनौती

थापाले पनि लामिछानेको चुनौती स्वीकार गरेका छन्। लामिछानेले निवेदन दिएर ऋण मागेको प्रमाण दिन चुनौती दिँदै राजनीतिलाई दाउमा राखेका हुन। ‘अब म गगन जीलाई एउटा चुनौती दिन चाहन्छु,निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोड्दिन्छु,त्यो प्रमाण दिन सक्नु भएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ,’लामिछानेले भने,’नत्र संसदीय समिति त सामान्य कुरा भइहाल्यो, बनाए हुन्छ।’

थापाले पनि गलत साबित भए आफूले पनि राजनीति छोड्दिने चुनौती दिए। ‘यो गलत साबित भयो भने छोड्दिन्छु,उहाँले कहिले चार नं. मा आउँछु भन्नुभयो, त्यहाँ पनि आउनुहोस्,बागमतीमा नुहाउँछु भन्नुभयो, नुहाउनुहोस्,छोड्दिन्छु भन्नु भो छोड्दिन्छु,’थापाले भने,’चुनौती मैले स्वीकार गरे।’

छानबिन समिति बनाउन नहुने अडानबाट लामिछाने लच्किएसँगै एमालेले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। नेपाली रुपैयाँमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयले भारत रिसाउने अभिव्यक्ति दिएका नेपाललाई पदबाट हटाउनुपर्ने दबाब एमालेले दिएको छ।

चौतर्फी दबाब पछि लामिछाने संसदीय समिति बनाउन राजी बनेका हुन्। गगनले पनि लामिछानेको चुनौती स्वीकार गरेकाले समिति बन्ने देखिएको हो।

गृह प्रशासनको नेतृत्व सम्हालेका लामिछानेमाथि छानबिनको माग चर्काएपछि एमाले राष्ट्रपतिका सल्लाहकारतिर खनिएको छ। ‘भारतलाई खुसी पार्न चिरञ्जीवीले दिएको अभिव्यक्तिको जवाफ प्रधानमन्त्रीले या राष्ट्रपतिले कसले दिने हो?’ एमालेले प्रश्न गरेको छ।

समाचार शेयर गर्नुहोस्
106
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.