संसदमा नाराबाजी, गलत साबित गर्न रविलाई चुनौती

संसदमा नाराबाजी, गलत साबित गर्न रविलाई चुनौती

काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसले नाराबाजी गरेको छ। काँग्रेसले बजेट अधिवेशनको पहिलो दिन नै नाराबाजी गरेको हो।

काँग्रेस महामन्त्री गगनकुमार थापाले सहकारीको रकम अपचलनमा गलत साबित गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिए।

संसद्मा प्रश्नहरूको घाटी निमोठ्ने तयारी भएको भन्दै महामन्त्री थापाले संसदीय छानबिन समिति गठन नभएसम्म सदनको कारबाही अगाडी बढ्न नसक्ने बताए।

छानबिन समिति गठनको मागलाई हल्का रूपमा नलिन काँग्रेस महामन्त्री गगन थापाले चेतावनी दिए। ‘यसलाई हल्का नठानियोस्, नेपाली काँग्रेस पार्टी सदन चल्नुपर्छ भन्ने कुरामा गम्भीर छ,’थापाले भने,’सहकारीको ठगीका सन्दर्भमा यो संसद्ले छानबिन समिति बनाओस्।’

उनले समिति गठन गर्न डराउनुको कारण सोधेका छन्। ‘किन डराएको? किन भागेको? कहिले प्रहरीलाई बोल्न लगाएको छ,कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ,’उनले भने,’यहाँ त महान्यायाधिवक्ता झुक्दा झुक्दा लम्पसार परिसक्नु भयो।’

महामन्त्री थापाले छानबिन समितिको नेतृत्व गर्न सत्ता गठबन्धनलाई भनेका छन्। ‘छानबिन समितिको नेतृत्व तपाई (सत्ता गठबन्धन)हरू गर्नुहोस्, हामीहरू बसेर हेर्छौ,गलत साबित गरिदिनुहोस्,’उनले भने,’हामी सही छौ भने हाम्रो कुरा राख्छौ, त्यति गरौँ भन्दा हेप्न खोज्ने? पेल्न खोज्ने?’

उनले सङ्ख्याका आधारमा हेपेर पेलेर सरकारका काम अगाडी नबढाउन सभामुखलाई चेतावनी पनि दिए। ‘संसदीय समिति नबनीकन अब सदनको कुनै पनि काम कारबाही अगाडी बढ्दैन,उनले भने, यसको जिम्मेवार हामी होइनौ।’

महामन्त्री थापाले सरकारको काम कारबाही प्रति विश्वास नभएको बताए। ‘ढाकछोप गरियो राज्यका तमाम अङ्गहरूलाई, वासिङ मेसिन जस्तो प्रयोग गरियो,तपाईँहरूले धोएर धोइन्न, पखालेर पखालिन्न,उनले भने,दूधको दूध पानीको पानी संसद्को छानबिन समितिले छुट्टाउँछ,त्यसैले जबसम्म छानबिन समिति बन्दैन, त्यो बेलासम्म अब हामीलाई भन्न पाइँदैन।”

उनले सरकार आफैँ निहुँ खोज्न आएको बताए। ‘प्रत्येक भेटमा छानबिन समिति बनाऊ,तपाईँहरूले लिड गर्ने हो,त्यहाँ कुनै राजीनामा दिनुपर्दैन भन्दाभन्दा पनि यो कुरालाई स्वीकार नगर्ने कुराले सरकार आफैँ निहुँ खोज्न आएको हो,’उनले भने,’सरकार आफैँ वातावरण बिगार्न आएको हो,सरकारकै कारणले गर्दा अप्ठ्यारो सिर्जना भएको हो,अब सरकारको कुनै पनि काम कारबाही अगाडी बढ्ने कुरामा नेपाली काँग्रेसको साथ रहँदैन।’

सभामुखले सदनको कारबाही अगाडी बढाउन लाग्दा काँग्रेस सांसदहरूले संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरे। छानबिन समिति गठन गर, सहकारी पीडितलाई न्याय दे भन्दै काँग्रेस सांसदहरूले उठेर नाराबाजी गरिरहँदा सभामुख घिमिरेले राष्ट्रपति कार्यालयको अधिवेशन आव्हान सम्बन्ध पत्र वाचन गरेर सुनाएका थिए।

प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि काँग्रेस सांसदहरूले नाराबाजी जारी राखे। सभामुख घिमिरेले आफ्नो धारणा राख्न गृहमन्त्री लामिछानेलाई समय दिए पछि काँग्रेस सांसदहरू रोष्टम घेराउ गर्न पुगे।

रोष्टममा पुगेका गृहमन्त्री लामिछानेले नाराबाजी जारी रहेपछि केही बोल्न पाएनन्। नाराबाजीकाबीच प्रतिनिधि सभाको बैठक जेठ १ गते बेलुकी ३ बजे बस्ने गरी स्थगित भएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading