सरकार पेलेर जाने मुडमा, सदन रोके अध्यादेशबाट बजेट

सरकार पेलेर जाने मुडमा, सदन रोके अध्यादेशबाट बजेट

काठमाडौं : प्रतिपक्षी नेपाली काँग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई र्‍याखर्‍याख्ती पारेको छ। रवि भर्सेस काँग्रेस भिड्दा संसद् बन्धक बन्ने देखिएको छ।

संसदीय छानबिन समिति गठन गरेर लामिछानेलाई सहकारीको रकम अपचलनमा दोषी ठहर गराउन काँग्रेसले राजनीतिलाई नै दाउमा राखेको छ। लामिछाने गलत साबित भएमा राजनीति छोड्ने काँग्रेस महामन्त्री गगन थापाले लामिछानेकै चुनौती स्वीकार गरेका छन्।

काँग्रेसले चुनौती स्वीकार गरे पनि सरकार संसदीय छानबिन समिति बनाउन राजी भएको छैन। गृहमन्त्री लामिछाने लक्षित छानबिन समिति नबनाउने अड्डी कसेको सरकारले काँग्रेसले सदन चल्न नदिए आगामी बजेटका लागि अध्यादेशको विकल्प रोज्ने तयारी गरेको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सदन अवरोध जारी रहे बजेटका लागि अध्यादेशको बाटो रोज्नुपर्ने बताए। सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने निर्णय गरिसकेको छ।

संसदीय समितिको रटानमा रहेको काँग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने जेठ १ गतेको बैठक पनि अवरुद्ध गर्ने बताएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि महामन्त्री थापाले सहकारी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद्का कुनै पनि कार्यसूची अघि बढ्न नसक्ने बताए।


सरकारले जेठ १ गते संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्बोधन गराउने तयारी गरेको छ।

तर, काँग्रेस आफ्नो मागबाट पछि हटेको छैन। महामन्त्री थापाले सरकारले नै संसद् पनि चल्न नदिने र गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बनाउन नदिने रणनीति लिएको निष्कर्ष काँग्रेस बैठकले निकालेको सुनाए।

संसद्को अवरोध हटाउन सभामुख र सरकार जिम्मेवार नबनेको काँग्रेसको आरोप छ। काँग्रेसले आगामी संसद्मा आफ्नो रणनीति बनाउन सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ।

सहकारी ठगीमा पक्राउ पुर्जी जारी भई फरार रहेका जीवी राईलाई पक्राउ गरेर बेकिङ न्युज दिने बताएका गृहमन्त्री लामिछानेको बोली फेरिएको छ। राईलाई अघिल्लो सरकारले भगाएको आरोप लामिछानेले लगाएर गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्।

अघिल्लो र अहिलेको सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्। प्रचण्ड क्याबिनेटका गृहमन्त्री लामिछानेले चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका हुन्।

गगनको राजनीति दाउमा राखेर छानबिन गर्न रवि तयार

सहकारी ठगीमा स्वयं लामिछानेकै नाम पटक–पटक आएपछि राजीनामा दिन र जीवी पक्रन दबाब बढेको छ। कतिपयले भने राई लामिछानेकै संरक्षणमा रहेको आशङ्का समेत गरेका छन्। सहकारी ठगी प्रकरणले गृहमन्त्री लामिछाने र काँग्रेसका महामन्त्री थापा आमनेसामने भएका छन्।

लामिछानेले अघिल्लो सरकारले राई भगाएको आरोप लगाए पछि महामन्त्री थापाले यसको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनुपर्ने माग गरेका छन्। थापाले गृहमन्त्रीले दिएको अभिव्यक्तिको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनुपर्ने माग गरेका हुन्।

सङ्घीय संसद्मा उत्पन्न अवरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन्। समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्ता र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रवार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार सत्तारुढ नेकपा एमालेलगायत दलका नेतासँग सहमतिको उपायबारे अनौपचारिक संवाद गर्नु भएको प्रचण्डको सचिवालयले जनाएको छ।

सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले अहिलेसम्म सहमतिका लागि ठोस प्रगति नभए पनि अब सदनको बैठक बस्ने दिनसम्म सरकारले सहमतिका लागि कुनै न कुनै उपाय निकाल्ने बताए।

लामिछानेले सौदाबाजी गरेको आरोप

काठमाडौँको नक्सालस्थित बालमन्दिरको सरकारी जग्गा हिनामिना गर्ने विरुद्ध पक्राउ पुर्जी जारी भएको ३ दिन बितेको छ। तर, २० मध्ये एक जना पनि प्रतिवादी पक्राउ परेका छैनन्।

गत बिहीबार बालमन्दिरको तर्फबाट जाहेरी लिएसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले जिल्ला अदालत काठमाडौँबाट २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति पाएको थियो।

अवैध तरिकाले जग्गा भाडामा दिने करिब २७ वर्ष बाल सङ्गठनको अध्यक्ष रहेकी रिता वैद्य सिंहसहित २० जनामाथि पक्राउ गर्न अनुमति लिएको प्रहरीले एक जनालाई पनि पक्राउन गरेको छैन।

तत्कालीन अध्यक्ष सिंह तथा वृहस्पति विद्या सदनका सञ्चालक पुरुषोत्तमराज जोशीबीचको मिलेमतोमा बाल सङ्गठनको स्वामित्वमा रहेको २८ रोपनी पाँच आना जग्गा दुरुपयोग भएको उजुरी सीआइबीमा परेको छ। पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना प्रतिवादीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

बालमन्दिरका तत्कालीन अध्यक्ष सिंह नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी बहिनी हुन्। गृह प्रशासनको नेतृत्व सम्हालेका लामिछाने आफैँ सहकारीको रकम अपचलनमा मुछिँदा सरकारी जग्गा दुरुपयोगमा मुछिएकाहरू पक्राउ पर्न नसकेको टिप्पणी भएको छ।

गृहमन्त्री लामिछानेले काँग्रेससँग सौदाबाजी गर्नका लागि आरोपीहरूलाई तत्काल नसमातेको आरोप समेत लामिछानेमाथि लागेको छ।

सहकारी अपचलनको विवादमा लामिछानेमाथि संसदीय समितिले छानबिन गर्नुपर्ने अडानबाट टसमस नभएको काँग्रेससँग यो विषयमा सौदाबाजी हुन लागेको आरोप लागेको हो।

तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले भने अनुसन्धानमा कसैको प्रभाव नपरेको र विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.