क्विन्टल सुन बरामद : तौल लिन अझै तीन दिन लाग्ने

क्विन्टल सुन बरामद : तौल लिन अझै तीन दिन लाग्ने

काठमाडौं : राजस्व अनुसन्धान विभागले क्विन्टल अवैध सुनबारे अनुसन्धान गर्न पाँच जना अधिकृत तोकेको छ। विभागले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको क्विन्टल सुन विभागले बरामद गरेको थियो।

अवैध सुनको कारोबारमा जोडिएका अरू व्यक्तिको खोजीका लागि अनुसन्धान अधिकृतहरू तोकिएको राजस्व अनुसन्धान विभागले जनाएको छ। यो प्रकरणमा हालसम्म पक्राउ परेका १० जनालाई अनुसन्धानका लागि म्याद थप गरेर बयान लिने क्रम चलिरहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।

अधिकारीले पक्राउ परेकाहरूले बयानमार्फत थप कसैको नाम पोल्ने र अनुसन्धान गर्दा थप प्रमाण फेला पार्न सकिन्छ कि भनेर अबको अनुसन्धान त्यतातर्फ केन्द्रित भएको बताए। ‘१० जना मान्छे पक्राउ परेका छन्, उनीहरूको बयानको क्रियाकलाप अगाडी बढिरहेको छ,’उनले भने,‘अनुसन्धान अधिकृत तोकिएर विस्तृत अनुसन्धानतर्फ अगाडी बढिरहेको छ।’

राजस्व चुहावटसँग सम्बन्धित प्रमाण सङ्कलन गर्दा कसुरमा मुछिएका व्यक्तिलाई पक्राउ गरी कारबाही चलाउने, गोदाम वा आवश्यकताअनुसार अन्य स्थानको खानतलासी लिने, त्यस्तो गोदाम वा स्थानलाई सिल गर्ने, सम्बन्धित कागजपत्र तथा माल वस्तु आफ्नो कब्जामा लिने लगायतका अधिकारसहित अनुसन्धान अधिकृतहरू तोकिएका हुन्।

यसअघि पाँच दिनको कार्यादेश दिएर छानबिन समिति गठन गरेको भन्सार विभागले तीन कर्मचारी निलम्बन गरेको छ। भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन्।

सुनको ब्रेक सु आउँदा एक्स-रे मेसिनमा श्रेष्ठको ड्युटी भए पनि नहेरेको, खरिददार ढकालले ब्रेक सुको बक्स खोलेर हेरेजस्तो मात्रै गरेको तथा अधिकृत चन्द भने उक्त सामान भएको ठाउँमै नपुगेको विभागको दाबी छ।

हङकङबाट क्याथे एयरवेजको जहाजमा ब्रेक सु मा लुकाएर ल्याएको १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको प्रकरणमा कर्मचारीको कमजोरी देखिएकाले निलम्बन गरिएको भन्सार विभागले जनाएको छ।

रेडी ट्रेडर्सका नाममा हङ्कङबाट आयात भएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको जनाएको छ।

त्यसका लागि विमानस्थल भन्सार तथा कार्गो गोदामका सिसिटिभी क्यामेराका फुटेज र सुरक्षा जाँच पासका क्रममा लिइएका एक्स-रे मेसिनका इमेज थप अनुसन्धानका लागि भन्दै विभागले नियन्त्रणमा लिएको छ।

बुधवार बरामद भएको सुन हाल अनुसन्धानकै क्रममा रहेको र तौल तथा गुणस्तर परीक्षणसमेत हुन बाँकी रहेको नेपाल राष्ट्र बैङ्क अन्तर्गतको टक्सार महाशाखाले जनाएको छ।

एक दिनमा १० केजी मात्रै सुन पगालेर परीक्षण गर्न तथा जोख्ने क्षमता भएकाले सुनको यकिन परिमाण पत्ता लाग्न अझै केही दिन लाग्ने महाशाखाले बताएको छ।

राजश्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले एक दुई दिनमै टक्सार विभागबाट सुनको मात्रा जानकारी हुने बताए।

‘अब एक दुई, दुई तीन दिनमा नेपाल राष्ट्र बैङ्क टक्सार विभागबाट सुनको मात्रा कति रहेछ त भन्ने जानकारी पनि प्राप्त होला,’उनले भने,‘राजश्व चुहावट तथा नियन्त्रण २०५२ छ, त्यो अनुसार हाम्रो अनुसन्धान प्रक्रिया अगाडी बढिरहेको छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading