गृह र अर्थमन्त्रीको राजीनामा माग्ने सांसद पक्राउले तरङ्ग, सर्च अप्रेसन जारी

गृह र अर्थमन्त्रीको राजीनामा माग्ने सांसद पक्राउले तरङ्ग, सर्च अप्रेसन जारी

काठमाडौं : सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने सत्तारुढ दल नेपाली काँग्रेसका सांसद सुनिल शर्मा प्रमाणपत्र किर्तेको आरोपमा पक्राउ परेका छन्। सांसद शर्मा सहित अन्य चार जना चिकित्सकहरू पक्राउ परेका प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

पक्राउ परेका सबैको शैक्षिक प्रमाणपत्रमा गडबडी देखिएको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर अमृत चौधरी, रञ्जितकुमार यादव, रामबाबु यादव र यानिस साहलाई पक्राउ गरिएको कडायतले जानकारी दिए।

सांसद शर्मामाथि डाक्टरी पढ्दा प्लस टुको नक्कली सर्टिफिकेट बनाएको आरोप लागेको छ। सांसद शर्माले सुन प्रकरणमा गृह र अर्थमन्त्रीले राजीनामा नदिए सदनमै अनसनमा बस्ने घोषणा गरेका थिए। संसद्देखि पार्टीकै बैठकमा समेत शर्माले सुन प्रकरणमा राजीनामाको माग उठाएपछि पक्राउ गरिएको हुनसक्ने अड्कलबाजी समेत भएको छ।

तर, सिआइबीले भने सांसद शर्मालाई पक्राउ गरिनु सुन प्रकरणसँग कतै नजोडिएको दाबी गरेको छ। सर्च अपरेसन जारी रहेकाले थप व्यक्ति पक्राउ पर्न सक्ने सिआइबीले बताएको छ। पक्राउ परेका सांसद शर्मासहितका अन्य आरोपीलाई शुक्रवार सार्वजनिक गरिने सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

सांसद शर्मा पक्राउ परेको जानकारी सिआइबीले औपचारिक रूपमा संसद् सचिवालयलाई गराएको छ। सो पत्रमा सांसद शर्माले आइएससीको सर्टिफिकेट किर्ते गरेको उल्लेख गरिएको छ।

सांसद पक्राउ परेको पत्र सचिवालयमा आइसकेकाले अब सभामुखले सदनलाई जानकारी गराउनुहुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। पक्राउ परेका सांसद शर्मा तत्काल निलम्बनमा भने नपर्ने गिरीले बताए।

गृह र अर्थमन्त्रीको राजीनामा माग्ने शर्मालाई सिआइबीले पक्राउ गरेपछि काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारमाथि प्रश्न गरेका छन्। शिवाकोटीले सामाजिक सञ्जालमा सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन्? भनेर प्रश्न गरेका छन्।

आफ्नै सांसद पक्राउ बारे काँग्रेसले भने सम्बन्धित निकायबाट जानकारी लिएर मात्रै धारणा सार्वजनिक गर्ने बताएको छ। काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पक्राउ परेका सांसद कुन कसुरमा पक्राउ परेका हुन् त्यसबारे सभामुख र प्रहरीबाट जानकारी लिएर मात्रै पार्टीको धारणा सार्वजनिक गरिने बताए।

सुन प्रकरणमा पूर्वप्रहरी प्रमुख समेत संलग्न भएको आरोप लागेको छ। रास्वपा सभापति रवि लामिछानेले पूर्वप्रहरी प्रमुख भनेर एमालेतर्फ औँला ठड्याएका छन्। एमाले पनि राज्यका संयन्त्रसँग विश्वास गर्न नसकिने भन्दै उच्चस्तरीय छानबिन समितिको रटान लगाइरहेको छ।

समिति गठन गर्ने प्रतिबद्धता नआएसम्म संसद्मा विरोध कायम रहने एमालेले बताएको छ। एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले आफूहरूले नभई सरकारले संसद् अवरोध गरेको बताए। उनले समिति गठनको प्रतिबद्धता नआउँदासम्म बैठकमा अवरोध कायम रहने बताए।

प्रतिनिधि सभाको बैठक शुक्रवारका लागि बोलाइएको छ। बैठकको सम्भावित कार्यसूची बिहीबार सार्वजनिक भएको छ। तर, १० साउन देखि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ।

रवि लामिछानेको शङ्का, पूर्वप्रहरी प्रमुखको सेटिङमा सुन तस्करी

सत्ता र प्रतिपक्षी दल सुन प्रकरणमा जोडिएका अमुक नेता जोगाउने प्रतिस्पर्धामा लाग्दा संसद् बन्धक बनेको छ। सुन प्रकरणमा सत्तारुढ माओवादी र प्रमुख प्रतिपक्षी एमालेका नेताहरू नै संलग्न भएकाले संसद् बन्धक बनेको अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले आरोप लगाएको छ।

सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीको राजीनामा मागेका काँग्रेस सांसद सुनिल शर्मा पक्राउ परेपछि तरङ्ग फैलिएको छ।

गृह र अर्थमन्त्रीलाई पदबाट नहटाए संसद्मै अनशन बस्ने धम्की दिएका शर्मा आफैँ प्रहरी हिरासतमा पुगेका छन्। सुन प्रकरण अगाडि चुइँक्क नबोल्ने शर्मा लगत्तै संसद्मै अनशन बस्ने धम्की दिएर चर्चामा आएका थिए।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको रोइलो, ल्यारक्याललाई नियुक्ति बदर हुने डर

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.