तँ के बन्न चाहन्छस् भनेर कक्षामा सोध्दा ‘म आमा बन्न चाहन्छु’ भनेर जवाफ दिने गणेश नन्दन ‘कृतिका देव’को आफूलाई म अरू भन्दा केही फरक छु भनेर पहिचान चिनाउनुको संघर्षनै यस ‘ताली’ वेभ सिरिजको कथा हो। ‘पुरुष कहिल्यै आमा बन्न सक्दैन’ भनेर कक्षा कोठामा म्याडमको जवाफ पाए पछि कक्षा कोठा बाहिर उभिन भने पछि उर्फ श्री गौरी सावंतको बायोपिक कथा सुरु हुन्छ।
१५ अगस्त २०२३ मा ओटीटी मार्फत रिलिज गरिएको ‘ताली’मा गौरीको लडाइँले सबैमा प्रेरणा, उत्साह, पहिचान एवं अस्तित्वको कहानी दर्साउन खोजेको छ।गणेशले विगतको इतिहास सँगै उसले गरेका भोगाई र लडाइँले सुप्रीम कोर्टले तेस्रोलिंगीको मान्यता दिलाउन सफल साथै सन् २०१९ मा महाराष्ट्र इलेक्शन कमिटीको ब्रान्ड एम्वेशडर बन्न सकेको सकस नै गणेश हुँदै गौरीको बायोपिक कहानी ‘ताली’ हो।
गौरी सावंत यौनिक तथा लैङ्गिक समुदायमा परिचित नाम वा सामाजिक कार्यकर्ता, अभियन्ताका रूपमा परिचित छिन। सन् १९७९ जुलाई २ मा भारत महाराष्ट्रको पुणेमा गणेश नन्दनका नामले जन्म भएको हो। सन् २००० मा ‘सखी चार चौघी’ नामक संस्था मार्फत अल्पसङ्ख्यक समुदायको सहायता तथा हितका लागी काम सुरु गरेकी थिइन् र सन् २००६ मा उनले यौन पेसामा काम गर्ने महिलाबाट जन्म लिएकी एक बालिकालाई ‘गायत्री’ नाम दिई पालेकी छिन। अहिले पनि धेरै यौन व्यवसायमा लागेर जन्म भएका बच्चाको लालन पोषणमा लागेकी छिन।
वास्तविकतामा गौरीलाई उनको समुदायले भगवानको नै दर्जा दिएको छ। परिवार, समुदायले गर्ने छिःछिःलालछना, हेपाई, भेदभावको आन्दोलनले गणेशलाई गौरी बनाएको हो। जसका कारण अहिले यो समुदाय खुलेआम हिँड्न, बोल्न र आफ्नो पहिचान देखाउन सहज बनाएको छ र आम मानिसलाई उनीहरूले हेर्ने दृष्टिकोण नै अलग छ र सम्मान पूर्वक जीवनयापन गर्न सकेका छन्।
जन्मँदा पुरुष र वयस्क हुँदै गए पछि बिस्तारै हाउ भाउमा परिवर्तन, स्वर सुरिलो हुँदै जानु, महिलाका शृङ्गारका सामान लगाउन मन पर्नु, चुरा पोते, टिका लगाउनु, केटीको कपडा लगायत सामान प्रयोग गर्दै जानुले नै आफू बाहिर केटा देखिए पनि भित्री मन केटी जस्तो फरक सोच आउनु गणेशको दिनचर्या नै बन्न थाल्छ। तर, घरको रोकावटमा आमाको सहयोग हुने तर अन्यको सहयोग नपाउँदा हुने दुःख, संघर्षनै यस सिरिजमा तेस्रोलिंगीको भूमिका निर्वाह गर्ने सुस्मिता सेनको चरित्र वा अभिनय गज्जब देखिन्छ।
माया, प्रेम, रोमान्स जस्ता चरित्रमा अभिनय गर्दै गरेकी सुस्मिता सेन अघिल्लो पटकको ‘आर्या’ सिरिज पछिको यो ‘ताली’ मा गरेको अभिनय ताली बजाउन लायक नै छ। महाराष्ट्रको मराठी परिवारमा हुर्केका गणेश १६ वर्षको कलिलो उमेरमा घर बाट मुम्बई भागेर हिँडे पछि गौरी बन्न कस्तो समस्या, बाधा अड्चन आउन सक्ने उक्त सिरिजमा देखाइएको छ। घर बाट गए पछि आफ्नो सन्तान मर्यो भनेर पुलिस बुवाले अन्त्येष्टि सम्म गरेको दृश्यले भावविहल बनाउँछ।
न कहिले मागेर भीख माग्दै हिँड्ने न त कहिले छक्का हिजडालाई काम नपाए पछि यौन पेसामा लाग्न प्रेरित गर्नेमा आफू अरू भन्दा कुरूप (सुन्दर देखिदा सबैले गलत नजरले हेर्नु) हुनुको फाइदा पनि भएको देख्न सकिन्छ। आफ्नै समुदायले गर्ने शत्रुता व्यवहारलाई कसरी साथ सहयोग गरी आफू सँगै खिच्न सफल देखिएकी छिन र कहानी सँगै एच आई भी एड्स रोगका बारेमा सचेतना कार्यक्रम गरेको देखिन्छ।
आफू जस्तै साथी सङ्गतमा किशोर देखि मुम्बईमा बसेर वयस्क बन्दछ साथ साथै आफ्नो पहिचान थाहा नदिन लुकाएर राख्न थाल्दछ र आफू जस्तै तेस्रोलिंगी साथीहरूको खोजी समस्या सुधार्न लागी पर्दछ। ट्रान्सजेण्डर कम्युनिटीसँग आबद्ध रहे पश्चात् त्यही समयमा एउटा अपरेसनबाट लिङ्ग परिवर्तन गर्ने मनसाय लिए पश्चात् गणेश बाट गौरी (सुष्मिता सेन) बन्न थाल्दछ।
गौरीले ट्रान्सजेण्डर समुदायका लागि लडेको कानुनी लडाई, समुदायको अधिकार हासिल गर्न गरेको सङ्घर्ष देखाई रहँदा बेला बेला ‘फ्लैश बेक’मा कहानी मोडिएको हुन्छ, विगत र बर्तमानलाई सँग सँगै देखाउँदा कता कता कहानी धेरै सुस्त गतिमा बगेको भान हुन्छ। जसका कारण दर्शकलाई कहानी अगाडि बढाउन सके हुन्थ्यो भन्ने पनि हुन्छ। आफ्नो भारतीय नागरिकता, चुनावमा भोट दिने स्वतन्त्रता ,पासपोर्ट, चुनाव लड्ने अधिकारमा सफलता मिल्ने, समुदायका मुद्दा देखाउँदा शरीरका रौँ नै ठाडो हुने र इमोशनल दृश्य उम्दा लाग्छ।
सिरिजमा कहीँ पटकथामा केही कमी महसुस हुन्छ। तेस्रोलिंगीका बारेमा देखाए पनि वास्तविक उनीहरूको पीडा कस्तो खालको हुन्छ त्यहाँ सम्मको गहिराई नपुग्या हो की या देखाउन नसकेको भन्ने पनि लाग्दछ। सतही रूपमा प्रस्तुत भए जस्तो लाग्छ र केही सुस्त गतिको प्रस्तुतिले सिरिज लामो भन्दा चलचित्र बनाउँदा उपयुक्त ठहर ठानिन्छ।
निर्देशकिय क्षमतालाई मान्नै पर्दछ। नेशनल अवार्ड प्राप्त रबी जाधवका पछिल्ला मराठी चलचित्र न्यूड, बाल गन्धर्व, नटरंग जस्ता चलचित्र भन्दा यस सामाजिक विषय बस्तुलाई गहिरो अध्ययन अनुसन्धान गरी बायोपिक रूपमा ‘सोसियल इश्यु’ मार्फत कलाकारलाई न्याय दिलाउन सफल छन्। अङ्कुर भाटिया, ऐश्वर्य नरकार, सुभ्रत जोशी लगायतका कलाकारको अभिनय गज्जब नै छ। निर्देशकले वेभ सिरिज ‘ताली’लाई ट्रान्सजेण्डर समुदायको समस्या र उत्थानलाई केही गहिराई सम्म पेस गर्ने क्षमता गरेका छन् साथै यौनिक तथा लैङ्गिक समुदायका जीवनमा हुने उतार चढाव, मन मस्तिष्कले सोच्ने मनोसामाजिक चिन्तन र उनीहरूका सवालमा वकालत गर्न यस सिरिजले सहज तुल्याएको छ।
मुख्य पात्र गणेशको कृतिका देव र गौरीको सुष्मिता सेनको अभिनयमा बोल्ने लवज, बोलचाल, लुक्स, गौरीको जस्तो मराठी र अङ्ग्रेजी प्रस्तुति शैलीमा उनको बोल्ड आवाजलाई मोडुलेशन गरी पुरुषको जस्तो आवाजले दर्शकलाई मज्जाले बाँध्न सकेको छ। हल्का मोटो शरीर र अनुहारमा केही छुस्स दारी देखाउने बनाएर प्रस्तुति गर्नु सुस्मितालाई ठुलो चुनौती थियो। डाइलग डेलिभरी भरपुर रूपमा देख्न सकिन्छ, जसलाई क्षितिज पतबर्धनले लेखेका छन्।
पहिले पहिले नाच्ने गाउने ताली बजाउँदै रेल र गल्लीहरूमा हिँड्ने, हेला र होचोको दृष्टिले हेर्ने हिजडा, छक्काको पद दिने अहिले उनीहरू ताली बजाऊँने होइन अरूलाई ताली बजाऊँन बाध्य पार्ने खालको काम र आत्मसम्मान वृद्धि गर्न मद्दत पुर्याउन सक्ने यस ६ शृङ्खलामा ३ घण्टा सम्मको सिरिजले गौरीको सम्पूर्ण जीवनी देखाउनका लागि यसको सिनेमेटोग्राफी राम्रो छ तर सम्पादन केही कम लाग्छ। गीत सङ्गीत ठिकै छ। सबै घटनालाई हुबहु देखाउन नसके पनि समुदायको आवाज र पहिचान देखाउन सिरिज केही हद सम्म सफल छ।
यो पनि
बाबुले जिउँदैमा अन्तिम संस्कार सकाएकी गौरी सावन्तको कथा ‘ताली’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.