बाबुले जिउँदैमा अन्तिम संस्कार सकाएकी गौरी सावन्तको कथा ‘ताली’

बाबुले जिउँदैमा अन्तिम संस्कार सकाएकी गौरी सावन्तको कथा ‘ताली’

एजेन्सी : मान्छे जन्मेपछि मर्नु शाश्वत सत्य हो तर, जिउँदै हुँदा अभिभावकले अन्तिम संस्कार गरिदिए पछि ती सन्तानमा के बित्छ होला हामी कल्पना पनि गर्न सक्दैनौँ।

हामीले कल्पना गर्न पनि डराउने यो पिडाबाट गुज्रेकी भारतकी तेस्रोलिंगी (ट्रान्सजेण्डर) अभियन्ता गौरी सावन्त आफैँमा एउटा उदाहरण हुन्। उनको जीवन भोगाइ अहिले निकै चर्चामा छ कारण हो उनको जीवनको यथार्थमा आधारित आउँदै गरेको वेभ सिरिज ‘ताली’।

बलिउड अभिनेत्री सुष्मिता सेन र उनको अभिनय जो कोहीलाई मन पर्छ। तीनै सुष्मिताले ताली सिरिजको मुख्य भूमिका निभाएकी छिन्। सिरिजको पोस्टर देखेपछि भारतीय प्रशंसकहरू यसको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन्।

अभिनेत्री सुस्मिताले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेको तालीको सानदार मोशन पोस्टर निकै मन पराइएको छ। ‘सङ्घर्ष, लचकता, सहनशीलता, अदम्य शक्तिको कहानी श्रीगौरी सावन्त हुन्। यो धेरै कारणले विशेष छ’ सुष्मिताले भनेकी छिन्।

ताली गौरीको वायोपिक–वास्तविक जीवन कथामा आधारित सिरिज हो। अभिनेत्री सेन ताली सिरिजमा किन्नरको भूमिकामा देखिएको पोस्टरबाट प्रस्ट हुन्छ। पोस्टरमा सुष्मिताको अनुहार भने पुरै नदेखाई आँखा देखाइएको छ। आँखाबाटै अभिनेत्रीले गज्जबको भूमिका प्रदर्शन गरेकी छिन् भन्ने भान हुन्छ।

को हुन् गौरी सावन्त जसको कथामा बन्यो ताली

श्रीगौरी सावन्त एक ट्रान्सजेन्डर सामाजिक कार्यकर्ता र टेलिभिजन होस्ट हुन्। उनी ट्रान्सजेन्डर अधिकारसँगै सम्मान, एचआइभी एड्स पीडित र असहाय एवं अलपत्र पारिएका महिला तथा बालबालिकाको उत्थानका लागि काम गर्छिन्।

प्रारम्भिक जीवन र पृष्ठभूमि

श्रीगौरी सावन्तको जन्म भारतको पुणेमा एक मराठी परिवारमा छोराको रूपमा भएको थियो। उनको नाम गणेशनन्दा थियो। ७ वर्षको उमेरमा नै उनको आमाको मृत्यु भयो। त्यस बेला श्रीगौरीलाई हजुरआमाले पालन पोषण गरिन्।

उमेर बढ्दै जाँदा उनले आफ्नो लैङ्गिकताको बारेमा थाहा पाए पनि सुरुमा आफ्ना पितालाई बताउन सकिनन्। उनका पिता प्रहरी अफिसर थिए। उनको परिवार पहिले नै पितृसत्तात्मक सोचले ग्रसित थियो।

अन्ततःगौरीले आफू को हुँ भनेर बताइन् तर बाबुले उनको त्यो पहिचानलाई स्वीकार गरेनन् र गौरीले बुबाको बोझ र निराशको कारण नबन्ने निर्णय गर्दै १४/१५ वर्षको उमेरमा घर छाडिन्।

उनले भेजिनोप्लास्टी गराइन् र सधैँका लागि गणेश नन्दनबाट गौरी सावन्त बनिन्। गौरीले आफ्नो जीवनमा निक्कै कष्ट र पिडा भोग्नु पर्‍यो। गौरीले एक अन्तरवार्तामा, बाबुले आफूलाई जिउँदै मरे तुल्य बनाएको बताएकी छिन्। गौरीका पिताले उनी जिउँदो भए पनि उनको अन्तिम संस्कार समेत गरेका थिए।

सामाजिक कार्य

सन् २००० मा गौरीले सखी चार चौघी ट्रस्टको स्थापना गरिन्। सुरक्षित यौन सम्बन्धलाई समर्थन गर्दै आएको गौरीको ट्रस्टले ट्रान्सजेन्डर व्यक्तिहरूलाई परामर्श दिने गर्दछ।

श्रीगौरी सावन्तले सन् २००१ मा एक बालिकालाई धर्मपुत्री बनाइन् जसलाई जन्मदिने आमा जो एक सेक्स वर्कर महिला थिइन्। तर एचआइभी पीडित ती सेक्सवर्कर महिलाको मृत्यु भएपछि गौरीले उनीबाट जन्मेकी अर्की छोरीलाई पनि सन् २००८ मा धर्मपुत्रीको रूपमा ग्रहण गरिन्।

यस्तै गरी, दास बनाउन बेचबिखन गर्न लागिएका एक पाँच वर्षीय बालकलाई पनि गौरीले अभिभावकत्व प्रदान गरिन्। सन् २०१७ मा, भिक्सले गौरीलाई आफ्नो विज्ञापनमा देखाएको थियो।

सबै लिङ्ग र वर्गीय मापदण्डहरू भन्दा माथि गएर प्रेम, परिवार र हेरचाहको भावना प्रदर्शन गर्ने ट्रान्सजेन्डर गौरीलाई भिक्सले कसरी मातृत्व जैविक सम्बन्धभन्दा माथि हुन्छ भन्ने उदाहरणका रूपमा प्रस्तुत गरेको थियो।

भिक्सले गणेशबाट गौरीमा परिवर्तन हुँदै गर्दा उनको बाल्यकालको कथा अनि गायत्री नाम गरेकी बालिकाले आफूलाई जन्म दिने यौनकर्मी आमालाई एचआइभी एड्सका कारण ६ वर्षको उमेरमा गुमाउनु परेको पिडा समेत देखाउँछ।

सन् २०१४ मा ट्रान्सजेन्डर मानिसहरूको धर्मपुत्र अधिकारका लागि भारतको सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने उनी पहिलो ट्रान्सजेन्डर व्यक्ति थिइन्। उनले राष्ट्रिय कानुनी सेवा प्राधिकरण सम्बन्धी मुद्दामा पनि याचिका दायर गरेकी थिइन्, जसमाथि ऐतिहासिक फैसला सुनाउँदै सर्वोच्च अदालतले ट्रान्सजेन्डर समुदायका व्यक्तिहरूलाई तेस्रोलिङ्गीको रूपमा मान्यता दिएको थियो।

पहिलो ट्रान्सजेन्डर निर्वाचन दूत

सन् २०१९ मा, भारतको निर्वाचन आयोगले श्रीगौरीलाई महाराष्ट्रबाट १२ जना निर्वाचन दूतमध्ये एकका रूपमा नियुक्त गर्‍यो। उनी एलजिबिटीक्यूआइएप्लस समुदायबाट यो पद धारण गर्ने पहिलो बनिन्।

त्यस बेला उनले भनेकी थिइन्–‘गृहिणी मात्र होइन, यौनकर्मी महिला, यो देशका हरेक ट्रान्सजेन्डर महिलाहरू पनि चुनावमा सहभागी हुन्छन् र भोट दिन्छन् भनेर सुनिश्चित गर्न चाहन्छु।’

‘ताली’ सिरिज उनै श्रीगौरी सावन्तको प्रेरक जीवन, उनको बाल्यकाल, परिवर्तनसँगै भारतमा ट्रान्सजेन्डर आन्दोलनमा क्रान्ति ल्याउन अन्तिम योगदानमा केन्द्रित गरेर बनाइएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

सम्बन्धित समाचार

पारलिंगी महिलाको भेषमा यौन हिंसाको शृङ्खला : आजीवन कारावास

समलिङ्गी मुक्ति आन्दोलनको शृङ्खला–स्टोनवाल विद्रोह

युगान्डामा समलिङ्गी विरोधी व्यवस्थाको विरोध, आर्थिक सहायता कटौती गर्ने बाइडेनको चेतावनी

पाकिस्तान–सिन्ध प्रान्त : ट्रान्सजेन्डर माथिको उत्पीडन र गिरफ्तारी रोक्न सुझाव

ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म

समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

सर्वोच्चको फैसला कुर्दै भारतीय समलिङ्गी जोडी

दक्षिण कोरियामा समलिङ्गी जोडीको अधिकारलाई मान्यता

इटालीमा कानुनी अड्चन खेप्दै समलिङ्गी आमाबाबुका सन्तान

समलिङ्गी विवाहलाई वैधानिक बनाउने कानुनमा बाइडेनले गरे हस्ताक्षर

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading