युगान्डामा समलिङ्गी विरोधी व्यवस्थाको विरोध, आर्थिक सहायता कटौती गर्ने बाइडेनको चेतावनी

युगान्डामा समलिङ्गी विरोधी व्यवस्थाको विरोध, आर्थिक सहायता कटौती गर्ने बाइडेनको चेतावनी

एजेन्सी : युगान्डाका राष्ट्रपतिले एलजिबिटीआइक्यू विरोधी नयाँ कानुन अनुमोदन गरेका छन्। उक्त कानुनलाई संसारकै सबैभन्दा कडा समलिङ्गी विरोधी व्यवस्थामध्येको एक मानिएको छ। जसको अन्तर्राष्ट्रिय समुदायले कडा निन्दा गरेको छ।

युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले विश्वको सबैभन्दा कडा समलैङ्गिकता विरोधी कानुनमा हस्ताक्षर गरिदिएपछि सर्वत्र निन्दा खेप्नुपरेको छ।

‘म कानुनअन्तर्गत कर्तव्य पालन गर्नेहरूलाई समलैङ्गिकता विरोधी ऐनमा दिइएको आदेश कार्यान्वयन गर्न प्रोत्साहित गर्दछु’संसद्की अध्यक्ष अनिता अमोङले ट्विट गर्दै भनेकी छिन्–युगान्डाका जनताले बोलेका छन् र अब निष्पक्ष, स्थिर र दृढ रूपमा कानुन लागू गर्नु तपाईँको कर्तव्य हो।’

युगान्डामा समलिङ्गीबिचको सम्बन्धलाई पहिलेदेखि नै अवैध मानिएको थियो। नयाँ कानुन लेस्बियन, समलिङ्गी, मध्यमलिङ्गी, ट्रान्सजेन्डर (एलजिबिटीआइक्यू) मानिसहरूलाई लक्षित गर्न गर्दै निकै अगाडी बढेको छ।

यसले एचआइभी पोजेटिभ हुँदा समलिङ्गी यौन सम्बन्ध सहित केही व्यवहारका लागि मृत्युदण्डको सजाय दिने र समलैङ्गिकतालाई बढवा दिए २० वर्षसम्मको सजायको प्रावधान गरेको छ।

युगान्डाको नयाँ कानुनले समलिङ्गीहरू त्रसित, एमनेस्टी इन्टरनेशनलको आपत्ति

राष्ट्रपति मुसेभेनीले यस्तो कानुनलाई अनुमोदन गरेपछि पश्चिमा सरकार, व्यवसायी र मानव अधिकारवादीहरूले कडा आलोचनासँगै विरोध गरेका छन्।

मुसेभेनीको कार्यालयले भने समलैङ्गिकता विरोधी विधेयक–२०२३ राष्ट्रपति मुसेभेनीले हस्ताक्षर गरेका ६ वटा कानुनमध्येको एक थियो भनेको छ।

सांसदहरूले मे महिनाको सुरुमै कानुनको नयाँ मस्यौदा पारित गरे, जसमा उनीहरूले युगान्डाको मूल्यमान्यताहरूलाई पश्चिमी अनैतिकताबाट जोगाउने प्रयासमा बाह्य हस्तक्षेपको प्रतिरोध गर्ने प्रतिबद्धता जनाएका थिए।

संशोधित संस्करणले समलिङ्गीको रूपमा पहिचान खुलाउनुलाई अपराधीकरण गरिनेछैन तर ‘समलैङ्गिक क्रियाकलाप तथा गतिविधिमा संलग्नलाई दण्डनीय अपराध मान्दै आजीवन कारावासको सजाय तोकेको छ।

मुसेभेनीले अघिल्लो साता विधायकहरूलाई पुनर्वासको मुद्दामा विचार गर्न र विधेयकमा परिवर्तन गर्न सुझाव दिएका थिए। ‘प्रस्तावित कानुन स्पष्ट हुनुपर्छ ताकि, अपराधी मानिने कुरा भनेको विचलित प्रवृत्ति भएको अवस्था होइन बरु त्यो विचलनमा काम गर्ने व्यक्तिको कार्य हो। त्यसैले विधेयकको समीक्षा गरिनुपर्छ र स्पष्ट रूपमा उल्लेख गरिएको प्रावधान समावेश गर्नुपर्छ’ गत अप्रिलमा संसद्लाई लेखेको पत्रमा मुसेभेनीले भनेका थिए।

सर्वत्र विरोध

मानवअधिकारकर्मी पेपे जूलियन ओन्जीमाले आफ्नो र समुदायसँगै देशमा मानव अधिकारको अवस्थालाई लिएर भयभीत भएको बताए। ‘यो कार्य अवस्थित कानुनको पुनरावृत्ति हो, यसले घृणा, होमोफोयिबा, ट्रान्सफोबियालाई वैद्य बनाउन र युगान्डाको नागरिकताबाट एउटा बर्गल्याई अलग्याउने कार्यलाई बढवा दिने चिन्ता थपिदिएको छ’ उनले भने–यसले एलजिबिटीआइक्यू समुदायका सदस्यहरूलाई ठुलो आघात पुर्‍याएको छ, विद्यमान हिंसा, विक्षिप्तता, डरलाई बढाउनेछ’ ओन्जीमाले भने।

अमेरिका, बेलायत, युरोपेली सङ्घ, ग्लोबल फन्ड, मानव अधिकारवादी समूहसँगै एलजिबिटीआइक्यू सङ्गठनहरूले युगान्डाले यस्तो कडा कानुन ल्याएकोमा दुख व्यक्त गर्दै निन्दा गरेका छन्।

सार्वभौमिक मानव अधिकारहरूको दुखद उल्लङ्घन

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले उक्त कानुन तत्काल खारेज गर्न आह्वान गरेका छन्। उनले यसलाई ‘सार्वभौमिक मानव अधिकारको दुखद उल्लङ्घन’ भन्दै आलोचना गरेका छन्। बाइडेनले पूर्वी अफ्रिकी मुलुक युगान्डालाई आर्थिक सहायता र लगानीमा कटौती गर्ने चेतावनी समेत दिएका छन्।

सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिंकेनले संसारको सबैभन्दा कडा एलजिबिटीआइक्यूविरोधी कानुन अपनाएपछि युगान्डाका केही अधिकारीहरूको भिसामाथि प्रतिबन्ध लगाउनेबारे विचार गर्न सक्ने बताए। केही अपराधका लागि कानुनमा मृत्युदण्डको व्यवस्था गर्नु निक्कै चिन्तापूर्ण रहेको उनको भनाई छ।

युगान्डामा समलिङ्गीसम्बन्धी पहिले नै गैरकानुनी भए पनि नयाँ कानुनले उग्र समलैङ्गिकता लगायतका केही गतिविधि तथा व्यवहारका लागि मृत्युदण्डको सजाय र समलैङ्गिकतालाई बढवा दिनेलाई २० वर्षको जेल सजाय तोकेको छ।

युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले यो कदम अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको विरुद्धमा जाने र यसले विश्वव्यापी साझेदार देशहरू सँगको सम्बन्धमा असर पर्ने बताए। ‘यो कानुन अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र युगान्डाको मानव अधिकार सम्बन्धी अफ्रिकी चार्टर अन्तर्गतको दायित्व र मर्यादा, गैर–भेदभाव, र क्रूर, अमानवीय वा अपमानजनक सजायको निषेधसहितको दायित्वहरूको विपरीत हो’ बोरेलले एक वक्तव्यमा भनेका छन्– आफ्ना सबै नागरिकको रक्षा गर्नु र तिनीहरूको आधारभूत अधिकारहरूलाई समर्थन गर्नु युगान्डा सरकारको दायित्व हो, त्यसो गर्न नसक्दा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्ध कमजोर हुनेछ।’

बेलायत सरकारले कुनै पनि परिस्थितिमा मृत्युदण्डको कडा विरोध गरेको छ। ‘यो कानुनले युगान्डाको संविधानमा समावेश गरिएका सबै नागरिकको संरक्षण र स्वतन्त्रताको व्यवस्थालाई कमजोर पार्दछ’ बेलायतको विदेश कार्यालय विभागका मन्त्री एन्ड्र्यू मिचेलले भने–यसले हिंसा, भेदभाव र उत्पीडनको जोखिम बढाउनेछ, एचआइभी/एड्सविरुद्धको लडाइलाई पछाडि धकेल्नेछ र युगान्डाको अन्तर्राष्ट्रिय प्रतिष्ठामा नोक्सान पुर्‍याउनेछ।’

यूएनएड्सले युगान्डा र राष्ट्रपति मुसेभेनी सबैका लागि स्वास्थ्य सेवामा पहुँचको सिद्धान्तमा आधारित एड्स अन्त्य गर्ने अभियानको अगाडी थिए भन्दै नयाँ कानुनले यो प्रतिक्रियालाई गम्भीर सङ्कटमा पारिदिएको बताएको छ।

एड्स, क्षयरोग र मलेरियासँग लड्न अमेरिकी राष्ट्रपतिको आपतकालिन योजनासँगै ग्लोबल फन्डको संयुक्त वक्तव्यमा ‘स्वास्थ्य सेवा खोज्ने जो कोहीका लागि विश्वास, गोपनीयता र लाञ्छनामुक्त संलग्नता आवश्यक छ। युगान्डामा एलजिबिटीक्यूआईप्लस मानिसहरू आफ्नो सुरक्षा र संरक्षणलाई लिएर डराइरहेका छन्। ठुलो सङ्ख्याका मानिसहरूलाई आक्रमण, सजाय र थप सिमान्तिकरणको डरले अत्यावश्यक स्वास्थ्य सेवा खोज्न समेतबाट निरुत्साहित गराइएको छ।’

अलजजिराको समाचार अनुसार युगान्डाले प्रत्येक वर्ष अरबौँ डलरको विदेशी सहायता प्राप्त गर्दै आएको छ तर समलैङ्गिकता विरोधी कडा कानुन अनुमोदन गरेपछि भने फेरी अर्को चरणको प्रतिबन्धको सामना गर्नुपर्ने खतरा देखिएको छ।

यसअघि सन् २०१४ मा, पश्चिमा सरकारहरूले केही सहायतासँगै भिसा प्रतिबन्ध र सीमित सुरक्षा सहयोग कटौती गरेपछि एन्टी एलजीबिटीक्यू कानुनलाई घरेलु अदालतले प्रक्रियागत आधारमा खारेज गरिदिएको थियो।

(यो सामग्री अलजजिराबाट अनुवाद गरिएको हो)

सम्बन्धित समाचार

पाकिस्तान–सिन्ध प्रान्त : ट्रान्सजेन्डर माथिको उत्पीडन र गिरफ्तारी रोक्न सुझाव

ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म

समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

सर्वोच्चको फैसला कुर्दै भारतीय समलिङ्गी जोडी

दक्षिण कोरियामा समलिङ्गी जोडीको अधिकारलाई मान्यता

इटालीमा कानुनी अड्चन खेप्दै समलिङ्गी आमाबाबुका सन्तान

समलिङ्गी विवाहलाई वैधानिक बनाउने कानुनमा बाइडेनले गरे हस्ताक्षर

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading