मङ्की पक्स

बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस

बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस

तस्बिर : बीबीसी

काठमाडौं : ‘मङ्कीपक्स’का बिरामी फेला परेपछि बेलायतका स्वास्थ्य अधिकारीहरूले समलिङ्गी बारहरू र स्पाहरूमाथि अनुसन्धान गरिरहेका बताएका छन्। बेलायतमा हालसम्म फेला परेका ‘मङ्की पक्स’का ९ जना बिरामीमध्ये ६ जना समलिङ्गी पुरुषमा भेटिएको छ। 
अधिकारीहरूले यो यौन सञ्जालमा छिटो फैलिएको बताएका छन्। बेलायत बाहेक युरोपका अन्य देशमा पनि यस्तै प्रकारको महामारी देखिएको छ। 
स्पेनमा सात जना समलिङ्गीमा ‘मङ्की पक्स’ भेटिएको छ। पोर्चुगलमा नौ जना बिरामी फेला परेका छन्। तिनीहरू प्रायः युवा पुरुषसँग सम्बन्धित छन्। 
युके र युरोपमा अहिलेका सङ्क्रमितहरू बढी समलिङ्गी भएका कारण उनीहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ।
अहिले देखिएका धेरै सङ्क्रमणमा मङ्कीपक्स यौन सम्पर्कको समयमा सरेको जस्तो देखिन्छ र धेरै जसो सङ्क्रमितहरूको गुप्त अङ्गनजिक डाबर देखिएका छन्।
हालसालै फेला परेका सङ्क्रमितहरू मुख्यतया समलिङ्गी सम्बन्ध राख्ने पुरुषहरू छन्। बेलायतको स्वास्थ्य मन्त्रालयका प्रमुख चिकित्सा सल्लाहकार सुसान हप्किन्सले स्वास्थ्य जानकारी र सल्लाह प्रदान गर्न सङ्क्रमितलाई नजिकबाट ट्र्याक गर्ने प्रयास गरिरहेको बताएका छन्।
अधिकांश बिरामी एक अर्कासँग सम्बन्धित नभएकाले ‘मङ्की पक्स’ बढी गम्भीर हुन सक्ने सम्भावना रहेको बेलायती स्वास्थ्य अधिकारीहरू बताउँछन्। गे बारहरू र क्लबहरू महामारीको अनुसन्धान गर्न ट्रेस भइरहेका छन्।
युके हेल्थ सेक्युरिटी एजेन्सीले पुरुषहरूलाई उनीहरूको अनुहार वा लिङ्गमा कुनै प्रकारको दाग देखिएमा यसलाई हल्का रूपमा नलिन चेतावनी दिएको छ। 
विश्व स्वास्थ्य सङ्गठनले बेलायतमा स्वास्थ्यसम्बन्धी जानकारी लिएपछि समलिङ्गीहरू ‘मङ्की पक्स’को चपेटामा परेका बताएको छ। सङ्क्रमितको सङ्गतमा आएका व्यक्तिहरूको पनि खोजी भइरहेको छ।
‘मङ्की पक्स’ के हो 
‘मङ्की पक्स’ दुर्लभ भाइरल सङ्क्रमण हो। यो पश्चिम र मध्य अफ्रिकाका केही भागमा सङ्क्रमित जङ्गली जनावरहरूमा पाइन्छ। यो श्वासप्रश्वास वा सङ्क्रमित तरल पदार्थको माध्यमबाट मानिसमा सर्छ। मानिसका शरीरमा यसले घाउहरू बनाउँछ। एक प्रतिवेदनअनुसार ‘मङ्की पक्स’का १०० बिरामीमध्ये एक जना मृत्युको कारण बन्ने गरेको छ। सङ्क्रमित व्यक्तिलाई छोएमा, उसको सिँगान‚ कफ‚  दिशा र  उसको कुनै वस्तुको सम्पर्कमा आएपछि यो सर्छ।
कुनै उपचार छैन
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९७० मा मानिसमा पहिलो पटक ‘मङ्की पक्स’देखिएको थियो। त्यसयता अफ्रिकाका ११ देशमा यसको पुष्टि भइसकेको छ। डब्ल्यूएचओका अनुसार ‘मङ्की पक्स’ लक्षण ६ देखि १३ दिनमा देखिन थाल्छ। 
ज्वरो आउने, कडा टाउको दुख्ने, कम्मर र मांसपेशीमा पीडा हुने र निकै कमजोरी हुने जस्ता लक्षण देखिन्छन्। सङ्क्रमित व्यक्तिका शरीरमा ठुला राता फोका देखिन्छन्। 
डब्ल्यूएचओले बेलायतमा ‘मङ्की पक्स’ भाइरसका बिरामी बढ्न सक्ने चेतावनी दिएको छ। सिन्ह्वा समाचार संस्थाका अनुसार बेलायती स्वास्थ्य अधिकारीहरूले भाइरसको खोजी गरिरहेका छन्। 
डब्ल्यूएचओले भाइरसको फैलावटको तह कति गम्भीरमा छ अहिले नै भन्न नसकिने बताएको छ। मे ६ तारिखमा एउटै घरबाट तीन जना सङ्क्रमित फेला परेका थिए। केही दिनपछि थप चार जना सङ्क्रमित फेला परे। यसका साथै लन्डनमा एक र इङल्याण्डको दक्षिणपूर्वका एक जना सङ्क्रमित भेटिएका छन्। 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading