स्थानीय जनप्रतिनिधिको दुई वर्ष : चर्चामा बालेन र हर्क

स्थानीय जनप्रतिनिधिको दुई वर्ष : चर्चामा बालेन र हर्क

काठमाडौँ : स्थानीय तहका जनप्रतिनिधिले पाँच वर्षे कार्यकालको दुई वर्ष बिताएका छन्। ३० वैशाख २०७९ मा भएको हो स्थानीय तह निर्वाचन। राजनीतिक दलको झन्डा मुनि र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गरे चुनावमा।

७५३ स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिका, धरान र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले बाजी मारे। स्थानीय तहका जनप्रतिनिधि मध्ये चर्चामा पनि स्वतन्त्र नै देखिएका छन्। काठमाडौँ बालेन्द्र शाह (बालेन) र धरानका हर्क साम्पाङको चर्चा चुलिँदै गएको छ।

राजनीतिक दलबाट निर्वाचित भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पनि आफ्नो कामको प्रशंसा बटुलेकी छन्। तर, उनको कामले मात्र राजनीतिक दल प्रति आकर्षण गराउन सकेको देखिएको छैन।

गाउँपालिका मध्ये लमजुङको दोर्दी गाउँपालिकाले दक्षिण एसियामै पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गरेर नेपालको नाम राखेको छ। बर्दियाको बढैयाताल गाउँपालिकाले दक्षिण एसियामै पहिलो लेस्बियन जोडीको विवाह कानुनी रूपमा दर्ता गरेको छ।

केही स्थानीय तहले उदाहरणीय काम पनि गरेका छन्। सबै स्थानीय तहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह अस्थायी रूपमा दर्ता गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिपत्र नै जारी गरिसकेको छ।

राजनीतिक दलका लागि फलामको चिउरा चपाउनु जस्तै जब्बर बनेका बालेन र हर्कले दल बिनाको स्वतन्त्र मतदातालाई आकर्षणको केन्द्रका रूपमा उभ्याएका छन्। स्थानीय तहको पाँच वर्षे कार्यकालपछि बालेनको पनि राजनीतिक दल बन्ने अड्कल समेत गर्न थालिएको छ।

तेस्रो वर्षमा पाइला टेकेका जनप्रतिनिधिले चुनावमा जनाएका प्रतिबद्धता पुरा गर्न बजेट माग गरिरहेका छन्। काठमाडौँका मेयर बालेन भने सिंहदरबारसँग बजेट माग्ने तरिका बदलिरहेका छन्। उनी सीप मेला आयोजना गरेर महानगरका स्थानीयलाई रोजगारी दिने बजेट माग गरिरहेका छन्। बालेन स्वतन्त्र लौरो चुनाव चिन्हमा निर्वाचित भएका हुन्।

सङ्घीय राजधानी काठमाडौँ महानगरले शिक्षामा सीप कक्षा पनि सञ्चालन गरेको जनाएको छ। सामुदायिक विद्यालयका विद्यार्थीहरूमा जीवनउपयोगी सिप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सिप’ कार्यक्रम नतिजा भएको दाबी बालेनले गरे।

कक्षा ९ र १० का स्केचिङ् एन्ड स्कप्चर’ विषयका विद्यार्थीले ‘शिक्षामा सिप’ कार्यक्रमअन्तर्गत कोरेका चित्र र बनाएका मूर्तिहरूको प्रदर्शनी भएको छ। महानगरपालिकाले ‘विद्यालयमा सिप सिकेका विद्यार्थीहरूलाई, एक वडा, एक उद्यम कार्यक्रमसँग जोड्न सकिने भनेको छ।

वडा नं ५ मा माटोको भाँडा बनाउने काम व्यवसायीक उत्पादनको तहसम्म पुगेको प्रचार मेयर शाहले गरेका छन्। माटोका भाँडा बनाउने कार्यक्रमसँग जोड्न सकिने उनले बताएको उनको सचिवालयले जनाएको छ।

विद्यालयमा सञ्चालन गरिएका सिपमूलक कार्यक्रमबाट विद्यार्थीहरू पहिचान गरिएको क्षमताको उपयोग गर्ने विधि छान्न सक्ने भएका दाबी महानगरले गरेको छ। बालेनले आफ्नै चित्र आफैँ अवलोकन गरे। जनजीवन, पेसा, प्रकृति, जमिन, जनावर, चराचुरुङ्गी र पोर्टेट चित्रहरू थिए भने पोर्टेट चित्रमा महानगरपालिकाका प्रमुख शाह, साहित्यकार स्व. बालकृष्ण सम, खेलाडीहरूका चित्र थिए।

मूर्तिकलामा धेरैजसो फूलदानी र बिर्को भएका भाँडाकुँडा थिए। आकृतिहरूमा बिरालो, मुसो, मृग, दैनिक जीवनमा आवश्यक पर्ने चुलो, कराही, खाना पकाउने भाँडाहरू प्रदर्शनीमा राखिएका थिए।

महानगरपालिकाको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार विद्यार्थीहरूको सङ्ख्या, रुचि, विद्यालयको परिवेशजस्ता सूचकका आधारमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरू समावेश गरेर एउटा विद्यालयमा एउटा बाल समूह र विभिन्न १५ वटा उपसमूह गठन गरिएका छन्। कक्षा ९ र १० का विद्यार्थीका लागि सञ्चालित ‘शिक्षामा सिप’ कार्यक्रमअन्तर्गत १० वटा विधा राखिएका छन्।

विश्व निकेतन, रत्नराज्य, ज्ञानोदय, तरुण, गीतामाता, कन्या मन्दिर, सहिद शुक्र, पद्मकन्या विद्याश्रम, र कोटेश्वर सरस्वती मा. वि. गरी ९ वटा विद्यालयका कला समावेश थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.