आपराधिक विश्वासघात कसूरमा दुई जना पक्राउ

आपराधिक विश्वासघात कसूरमा दुई जना पक्राउ

359
SHARES

काठमाडौं – नेपाल सरकारको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गराउने कार्यमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। उनीहरूलाई ठगी तथा आपराधिक विश्वासघात कसूरमा पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ।

पक्राउ पर्नेमा ललितपुर झम्सिखेल बस्ने पलिना श्रेष्ठ र काठमाडौं टोखा धापासी बस्ने नरेन्द्र उलक छन्। नेपाल दूरसञ्चार प्राधिकरण, जमल काठमाडौँबाट २ वैशाख २०७० मा दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (नं. BTSL-01) लिई सञ्चालन भएको “स्मार्ट टेलिकम प्रा.लि.” ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारण दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम १० वर्षपछि ३ वैशाख २०८० देखि अनुमतिपत्र स्वतः रद्द भएको थियो।

अनुमति बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम कम्पनीका सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली तथा दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो।

तर, नेपाल सरकारको सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्देश्यसहित गैरकानुनी रूपमा लिलामी गर्ने प्रक्रियामा संलग्न रहेको आरोपमा ठगी तथा आपराधिक विश्वासघात कसूर अन्तर्गत श्रेष्ठ र उलकलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको सिआइबीले थप अनुसन्धान भइरहेको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
359
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.