रवि लामिछानेको सचिवालयमा भूटानी शरणार्थीको अपिल

रवि लामिछानेको सचिवालयमा भूटानी शरणार्थीको अपिल

253
SHARES

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भूटानी शरणार्थीले गुहार मागेका छन्। सभापति रवि लामिछानेको नाममा अपिलपत्र बुझाएर भूटानी शरणार्थी युवा विष्णु चौहानले गुहार मागेका हुन्।

नेपालमा जन्मिएका तथा दशकौँदेखि राज्यविहीन जीवन बिताइरहेका शरणार्थी परिवारका बालबालिकालाई नागरिकता तथा पहिचान दिलाउन उनको माग छ।

भूटानी शरणार्थी शिविरबाट काठमाडौं आएका चौहानले नेपालमै जन्मिएर हुर्किएका बालबालिका अझैसम्म नागरिकता, राष्ट्रियता र आफ्नो भन्ने स्थायी पहिचानविहीन अवस्थामा बाँच्न बाध्य रहेको उल्लेख गर्दै वैशाख २३ गते रास्वपाका सभापति रवि लामिछानेको सचिवालयमा अपिलपत्र बुझाएका हुन्।

उनले आफूलाई “आवाजविहीनहरूको आवाज” का रूपमा प्रस्तुत गर्दै नेपाल सरकारले मानवीय दृष्टिकोणबाट समस्या समाधान गर्नुपर्ने आग्रह गरेका छन्।

“भूटानी शरणार्थीहरू तीन दशकभन्दा बढी समयदेखि शरणार्थी शिविरको छायामा राज्यविहीन जीवन बिताइरहेका छन्,” पत्रमा उल्लेख छ, “शरणार्थीहरू नेपाली मूलका भए पनि आज आफ्नो भन्न सकिने भूमि र कानुनी पहिचानबाट वञ्चित छन्।”

चौहानले पत्रमा लेखेका छन्, “हाम्रा हजुरबुबा–हजुरआमाहरू नेपालबाट भूटान गएका थिए, तर आज हामीसँग आफ्नो भन्न सकिने भूमि छैन, न त पहिचान नै।”

पत्रमा एक लाखभन्दा बढी भूटानी शरणार्थी तेस्रो मुलुक पुनर्वासअन्तर्गत विभिन्न देशमा पुनर्वास भइसके पनि नेपालमा अझै करिब ६ हजार ५०० शरणार्थी राज्यविहीन अवस्थामै रहेको उल्लेख गरिएको छ।

अपिलपत्रमार्फत उनले नेपालमा जन्मिएका शरणार्थी बालबालिकालाई नागरिकता प्रदान गरी उनीहरूलाई सपना देख्ने र समाजमा योगदान गर्ने कानुनी अधिकार दिन माग गरेका छन्।

नेपालमै बसोबास गर्दै आएका बाँकी ६ हजार ५०० शरणार्थी परिवारको कानुनी हैसियत टुङ्गो लगाई दीर्घकालीन समाधान गर्न पनि उनले माग गरेका छन्।

चौहानले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वले लामो समयदेखि थाँती रहेको मानवीय सङ्कट समाधान गर्न पहल गर्ने विश्वास व्यक्त गरेका छन्।

पहिचानसँगको कुराकानीमा चौहानले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रत्यक्ष भेटवार्ता नभए पनि केन्द्रीय सचिवालयका सचिवहरूले आश्वासन दिएको बताए।

भूटानी शरणार्थी समस्या सन् १९९० को दशकदेखि सुरु भएको हो। भूटानले राज्यविहीन बनाएर खेदेका नेपाली मूलका भूटानी समुदाय नेपालका झापा र मोरङस्थित शिविरहरूमा आश्रय लिन बाध्य भएका थिए।

नेपाल–भूटानबीच १५औँ चरणसम्म वार्ता भए पनि भूटानले आफ्ना नागरिक फिर्ता लगेन। बरु आफ्ना नागरिक नै नभएको जिद्दी गरिरहेको छ।

नेपाल–भूटान वार्ता भङ्ग भएपछि नेपालले तेस्रो देश पुनर्वास, स्वदेश फिर्ती तथा स्थायी समाधानका लागि अर्को पहल थालेको थियो। तर, तेस्रो देश पुनर्वास प्रक्रियाबाहेक अन्य मागमा सरकार र सरोकारवालाले कुनै प्रभावकारी पहल नगरेको अनुभूति आफूले गरेको चौहान बताउँछन्।

समाचार शेयर गर्नुहोस्
253
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.