रविसँग प्रचण्ड फायर, सदनको अवरोध हट्ने दाबी

रविसँग प्रचण्ड फायर, सदनको अवरोध हट्ने दाबी

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ। राष्ट्रपति पौडेलबाट वाचन हुने नीति तथा कार्यक्रमको कपी मुख्यसचिव वैकुण्ठ अर्यालले बुझाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए।

सरकारको नीति तथा कार्यक्रम मङ्गलवार सङ्घीय संसद्को दुवै सदनमा राष्ट्रपति पौडेलले प्रस्तुत गर्नेछन्। प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएर राष्ट्रपति पौडेलसँग कुराकानी भएको जानकारी दिए।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने चेतावनी दिँदै आएको छ।

संसद्मा सहज रूपमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन बिहान मात्रै प्रधानमन्त्री प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँग छलफल गरेका छन्। सोमबार बेलुकासम्म काँग्रेसलाई सहज रूपमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने अवस्थामा पुर्‍याउने दाबी प्रधानमन्त्री प्रचण्डले गरेका छन्।

काँग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने आफूहरूको मागमा प्रधानमन्त्री सकारात्मक रहेको बताएको छ। प्रचण्डसँगको भेटपछि काँग्रेस प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए।

काँग्रेसले संसद्का कसरी प्रस्तुत हुने भन्नेबारे सोमबार दिउँसो २ बजे बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने जनाएको छ। सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले पनि आइतबार प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन्।

सदनको जारी गतिरोध अन्त्यका विषयमा भएको छलफलमा काँग्रेस गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने अडानबाट पछि नहटेपछि निष्कर्ष विहीन बनेको छ।

सभामुख घिमिरेले मङ्गलवार संयुक्त सदनमा पेस हुने सरकारको नीति तथा कार्यक्रम साथै सदनको अवरोध हटाउने लगायतका विषयमा कानुन मन्त्री र प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका हुन्।

सरकार पेलेर जाने मुडमा, सदन रोके अध्यादेशबाट बजेट

संसदीय समिति गठन गर्ने अडानबाट पछि नहटेको काँग्रेस राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्नबाट नरोक्ने विश्वास प्रधानमन्त्री प्रचण्डले गरे।

उनले मङ्गलवार बिहानसम्म नै सदनको अवरोध हटाउनेबारे पहल जारी राख्ने बताए। ‘राष्ट्रपतिले सम्बोधन गर्ने कुरामा भोलि नै सहमति नभए पनि समस्या हुन्छ भन्ने लाग्दैन,’प्रधानमन्त्री प्रचण्डले भने,‘सदन खोलेर जानु सबभन्दा राम्रो, सहमति भएन भने पनि राष्ट्रपतिले सम्बोधन गर्ने कुरामा कसैले पनि अवरोध गर्नु हुँदैन, काँग्रेसले पनि गर्दैन भन्ने मलाई विश्वास छ।’

प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी गरेर फरार भएका गृहमन्त्री लामिछानेका बिजनेस पार्टनर जीवी राईलाई खोजी गरेर पक्राउ गर्ने प्रयास भइरहेको पनि बताए। उनले लामिछानेको अभिव्यक्ति प्रति आक्रोश समेत पोखे।

राईलाई अघिल्लो सरकारले भगाएको भन्ने लामिछानेको अभिव्यक्ति कुतर्क भएको प्रधानमन्त्री प्रचण्डले बताए। ‘कुतर्क कसैले पनि गर्न हुँदैन,जीवी राईलाई ल्याउनु पर्छ भन्नेमा सरकार प्रस्ट छ,’प्रधानमन्त्री प्रचण्डले भने,‘पासपोर्टको इस्युले गर्दा अलिकति समस्या भएको छ, त्यसलाई हल गर्न खोजिँदै छ।’

सरकार व्यक्ति नतोकी सङ्कटग्रस्त सहकारी समस्या छानबिन गर्न संसदीय समिति बनाउन लचक भएको छ। काँग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न भने पनि समग्र सहकारीको छानबिन गर्ने कुरामा विमति नरहेको प्रधानमन्त्री प्रचण्डले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.