इटालीमा कानुनी अड्चन खेप्दै समलिङ्गी आमाबाबुका सन्तान

इटालीमा कानुनी अड्चन खेप्दै समलिङ्गी आमाबाबुका सन्तान

एजेन्सी : मारिया सिल्भिया फियन्गो र फ्रान्सेस्का पार्डी सन् २०१८ मा आमाबाबुको रूपमा दर्ता भएका इटालीका पहिलो समलिङ्गी जोडीमध्येका एक थिए।
मिलानका मेयर, ज्यूसेप सालाले प्रगतिशील अडान लिँदै, स्पष्ट राष्ट्रिय कानुनको अभावमा समलिङ्गी आमाबाबुका सन्तानलाई स्वीकार गर्न अनुमति दिएका थिए।

मारिया–फ्रान्सेस्का र उनीहरूका चार सन्तान मार्गेरिटा, जुम्ल्याहा जियोर्जियो र र्याफेल, एन्टोनियोका लागि, वर्षौँ देखीको कानुनी चुनौती र भेदभावपछि अन्ततः घरपरिवारको रूपमा पहिचान गरिनु वास्तवमै अविश्वसनीय कुरा थियो।

तर एलजीबीटी समुदायले समानता र स्वीकृतिका लागि ठुलो जीत मानेका उक्त निर्णय गत हप्ता उल्टाइयो।

इटालीको दक्षिणपन्थी सरकारले प्रधानमन्त्री जर्जिया मेलोनीको रुढीवादी एजेन्डामाथि पुनः बहस थाल्दै समलिङ्गी आमाबाबुका सन्तानको जन्मदर्ता बन्द गर्न मिलानको नगर परिषद्लाई निर्देशन दियो।


मिलानमा सयौँ मानिसहरूले सरकारी प्रतिबन्धको विरोध गर्दै समलिङ्गी जोडीको समर्थनमा जुलुस समेत निकाले। विरोधमा उत्रिएका मध्य–वामपन्थी डेमोक्र्याटिक पार्टीका नवनिर्वाचित नेता एली स्लेइनले प्रधानमन्त्रीतर्फ इङ्गित गर्दै भनिन्–‘यति सुन्दर परिवारलाई नतोडियोस्, उनीहरूका छोराछोरीमाथि भेदभाव नगरियोस्। हामी हाम्रै समुदायमा हुर्किसकेका र विद्यालय गइरहेका बालबालिकाको बारेमा कुरा गरिरहेका छौँ। यो निर्णय सहनयोग्य छैन, यी परिवार भेदभावबाट थाकिसकेका छन्।’

इटालीको अति दक्षिणपन्थी ब्रदर्स पार्टीकी नेतृसमेत रहेकी जर्जिया मेलोनीले परम्परागत मूल्य–मान्यताहरूको रक्षा गर्ने बाचा गर्दै एलजीबीटी विरोधी वक्तव्यलाई आफ्नो चुनावी अभियानको आधार नै बनाएकी थिइन्।

‘हामी सधैँ एउटै परिवार भएर बसेका थियौँ, हाम्रा मेयरबाट आधिकारिक रूपमा मान्यता पाउँदा त्यसको स्वागत गरेका थियौँ,’मारिया सिल्भियाले भनिन्,‘तर अहिले सरकारको निर्णयसँगै अन्य परिवारसरह समान अवसर पाउने छैनौँ भन्ने थाहा पाउँदा निरुत्साहित महसुस गरिरहेका छौँ।’


इटालीले सन् २०१६ मा मध्य–वामपन्थी सरकारमार्फत समलिङ्गी नागरिक युनियनहरूलाई कानुनी मान्यता दिएको थियो। क्याथोलिक र रुढीवादी समूहहरूले समलिङ्गी जोडीहरूलाई धर्मपुत्रको अधिकार प्रदान गर्न रोकेकोमा कडा प्रतिरोध गरेका थिए। यसले इटालीमा अवैध मानिएको सरोगेट गर्भधारणलाई प्रोत्साहन दिने विपक्षीहरूको तर्क छ। धर्मपुत्र पाल्नेसहित एलजीबीटी परिवारका जीवनका कयौँ पक्षहरू बिथोलिएको छ।

यसप्रकारको नोकरशाही अवरोधको समाधान खोज्ने उद्देश्यसहित यो विषय अदालतमा पुग्यो। मिलानका मध्य–वामपन्थी डेमोक्र्याटिक पार्टीका मेयरसहित केही स्थानीय प्रशासकहरूले समलिङ्गी जोडीका बालबालिकालाई स्वतन्त्र रूपमा दर्ता गर्ने निर्णय गरे।

यद्यपि आन्तरिक मन्त्रालयले पत्र पठाएपछि यो अभ्यास रोक्न बाध्य भएको मिलानका मेयर सालाले बताएका छन्। जसले आमाबाबुको हैसियतका लागि कानुनी मान्यता प्राप्त गर्न न्यायालयको अनुमति आवश्यक पर्ने इटालीको सर्वोच्च अदालतको फैसलालाई उद्धृत गर्दछ। ‘यसले राजनीतिक र सामाजिक रूपमा एक कदम पछाडि धकेलिदिएको छ’ मेयर सालाले आफ्नो दैनिक पोडकास्टमा भने,‘अहिले अर्को विकल्प देखिएन।’

आफ्नो जन्मदर्ताको प्रमाणपत्रमा आमाबाबु दुवैको पहिचान गराउने अधिकारबाट वञ्चित भएका बालबालिका कानुनी अड्चन खेपिरहेका छन्। तिनका परिवार पनि विभिन्न प्रकारका चुनौतीको सामना गरिरहेका छन्।

एलजीबीटी अधिकारप्रति मेलोनी सरकारको शत्रुतापूर्ण दृष्टिकोणले इटालीका एलजीबीटी समुदायमा निराशा र चिन्ता अझ बढाइदिएको छ। ‘यससँगै उत्तराधिकारीसहित स्वास्थ्य सेवा, बाल सहायताजस्ता मुख्य सेवा र लाभहरूमा ती बालबालिकाको सीमित मात्र पहुँच हुनेछ’ रोमको सेपिएन्जा विश्वविद्यालयमा कानुनका प्राध्यापक एन्जेलो शिलाशीले भने।

‘अहिले कानुनले एउटा अभिभावकलाई मात्र मान्यता दिएको छ। वास्तविक जीवनमा, अभिभावकले छोराछोरीसँगै खेल खेल्न, खाना पकाउन, बिदा मनाउने क्रममा घुम्न जान सक्छन् तर कागजी रूपमा भने उनीहरू अलग हुनेछन्। राज्यले उनीहरूलाई देख्नेछैन। जुन विरोधाभासपूर्ण अवस्था हो’ शिलाशीले भने।


गत सेप्टेम्बरमा निर्वाचित प्रधानमन्त्री जर्जिया मेलोनी परम्परागत परिवार र इसाई मूल्य–मान्यताकी मुख्य समर्थक हुन्। उनले ‘लैङ्गिक विचारधारा’ र ‘एलजीबीटी लबी’ भन्ने विरुद्ध अभियान चलाइरहेकी छिन्। आफू सत्तामा आउनुभन्दा महिनौँ अघि प्रधानमन्त्री मेलोनीले इटालियन नागरिकले सरोगेसी गरे त्यो विश्वव्यापी अपराध बन्न सक्ने कानुन प्रस्ताव गरिन्, जुन अहिले पनि उनको पार्टीको एजेन्डामा कायम छ।

रेन्बो फेमिलिज एसोसिएसनकी अध्यक्ष एलेसिया क्रोकिनी भन्छिन् ‘दुई आमा र दुई बाबु भएका बालबालिका पहिलेदेखि नै इटलीमा छन्, प्रधानमन्त्री मेलोनीले यसको अन्त्य गर्नुपर्छ। हामीले आफ्ना बालबालिकालाई तीनका साथीहरू समान अधिकारको ग्यारेन्टी गर्नुपर्छ।’

आफ्नी पत्नी र ६ वर्षकी छोरीसँगै मिलान र्‍यालीमा सहभागी हुँदै गरेका एन्जेला डियोमेडेले भने, ‘हामीमाथि आक्रमण भइरहेको महसुस गरेको छु, बालबालिकालाई लक्षित गर्ने सरकारको उद्देश्य मैले बुझ्न सकिनँ, यस्तो त कहीँ पनि देखेको छैन।’

गत हप्ता इटालीको सिनेटले युरोपेली सङ्घका २७ वटै सदस्य राष्ट्रमा मान्यता प्राप्त हुने युरोपियन अभिभावकत्व प्रमाणपत्रको प्रस्तावलाई पनि अस्वीकृत गरिदियो। बालबालिकाका लागि यसको अर्थ अभिभावकत्वको प्रमाण हुने र अभिभावकले समेत ती राष्ट्रहरूमा उत्तराधिकारी र नागरिकता जस्ता अधिकारको रक्षा हुने गरी मान्यता पाउने ग्यारेन्टी गर्दछ।

तर इटालीको अति दक्षिणपन्थी पूर्वाधारमन्त्री माटेओ साल्भिनीका लागि यो निकै परको कुरा रह्यो। ‘एक व्यक्ति समलिङ्गी या उभयलिङ्गी हुन सक्छ। प्रेम सबैका लागि स्वतन्त्र, सुन्दर र पवित्र छ’ उनले ट्विटरमा लेखे।

युरोप–व्यापी प्रमाणपत्रको पक्षधर विपक्षी सांसद रिकार्डो मागीले टिप्पणी गर्दै भने– ‘विश्व एकतर्फ जान्छ, इटाली सरकार अर्कोतिर जान्छ।’

उत्तर–पूर्वी शहर उडिनका स्टेफानो जुचिनी र उनका पति अल्बर्टोले पछिल्लो बहसलाई गहनरुपले नियालिरहेका छन्। सरोगेसीको माध्यमबाट क्यालिफोर्नियामा जन्मिएका दुई ६ वर्षीय सन्तानका अभिभावक उनीहरू एक दिन एकैपरिवारको रूपमा कानुनी मान्यता प्राप्त गर्ने आशामा छन्।

अमेरिकामा उनीहरू दुवै जना आमाबाबुको रूपमा चिनिन्छन्। तर इटालीमा स्टेफानोलाई एकल पिताका रूपमा सुचीकृत गरिएको छ जुन कानुनी अवस्थाले उनीहरूको जीवनलाई नै जटिल बनाइदिएको छ।

‘यहाँसम्म धेरैजसो मानिसका लागि सामान्य कुराहरू जस्तै बालबालिकाको किन्डरगार्डेन या चेकजाँचको लागि डाक्टरकोमा लैजान पनि चुनौती छ। उनीहरू हामीलाई देख्दैनन्, तर हाम्रो प्रेम सदैव प्रगाढ छ’ स्टेफानोले भने।

बिबिसी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading