इराकको मानवअधिकार रेकर्डमा अर्को कालो धब्बा

इराकको मानवअधिकार रेकर्डमा अर्को कालो धब्बा

एजेन्सी : इराकले समलिङ्गी सम्बन्धलाई अपराध घोषणा गरेको छ। इराककी संसद्ले समलिङ्गी सम्बन्धलाई अपराध मान्दै १० देखि १५ वर्षसम्मको जेल सजाय दिने विधेयक पारित गरेको हो।

संशोधित नयाँ कानुनअनुसार तेस्रो लिङ्गी व्यक्तिलाई पनि एकदेखि तीन वर्ष र वेश्यावृत्ति र समलैंङ्गिकतालाई बढवा दिने व्यक्तिलाई कम्तीमा पनि ७ वर्षको जेल सजाय हुन सक्नेछ। यस्तैगरी, व्यक्तिगत इच्छा र झुकावका आधारमा जैविक लिङ्ग परिवर्तनलाई अपराध ठहर गर्दै लिङ्ग पुनः निर्धारणको शल्यक्रिया गर्ने डाक्टरहरू, जानाजानी महिलाको जस्तो व्यवहार गर्ने पुरुषलाई पनि जेल सजाय हुनेछ।

सन् १९८० को दशकको अन्त्यमा पारित वेश्यावृत्ति विरोधी कानुनमा संशोधनसहित ल्याइएको विधेयकको मस्यौदामा समलैङ्गिक कार्य एवं समलिङ्गी सम्बन्धका लागि मृत्युदण्डको प्रस्ताव गरिएको थियो। तर, अमेरिका र अन्य पश्चिमी देशहरूको विरोधपछि यसलाई परिमार्जन गरियो।

यसै महिनाको सुरुमा प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले अमेरिका भ्रमण गरेका थिए। संशोधनलाई अगाडी बढाउने सांसद राइद अल–मलिकीका अनुसार त्यसअघि विधेयकलाई रोकिएको थियो।

‘हामी भ्रमणलाई असर गर्न चाहँदैनथ्यौँ’ अल मलिकीले एएफपी समाचार एजेन्सीलाई भने, ‘यो आन्तरिक मामिला हो र हामी इराकी मामिलामा कुनै पनि हस्तक्षेप स्वीकार गर्दैनौँ।’ इराकी अधिकारीहरूले लामो समयदेखि एलजीबीटीआइ व्यक्तिहरूलाई निशाना बनाउँदै आएका छन्, यसअघि उनीहरूलाई दबाउन नैतिक कानुनको प्रयोग गरिन्थ्यो।

नयाँ कानुनले मुख्यगरी इराकी संसद्मा सबैभन्दा ठुलो गठबन्धन बनाउने सिया मुस्लिम पार्टीहरूको समर्थन पाएको थियो। उनीहरूले देशमा धार्मिक मूल्य मान्यतालाई कायम राख्नु यसको उद्देश्य बताएका छन्।

मानवअधिकारमाथि गम्भीर आघात

अधिकारवादी समूहहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय (एलजीबीटीआइ) विरुद्ध इराकको रेकर्डमा अर्को कालो धब्बा लागेको बताएका छन्। ह्युमन राइट्स वाचका एलजीबीटीआइ अधिकार कार्यक्रमकी उपनिर्देशक राशा यूनुसले मानवअधिकारका लागि यो गम्भीर झट्का भएको बताएकी छिन्।

एमनेस्टी इन्टरनेशनल– इराक अनुसन्धानकर्ता रजाव सालिहीले इराकले एलजीबीटीआइ समुदायका सदस्यहरूमाथि वर्षौँ देखि गदै आएको भेदभाव र हिंसालाई कानुनमा प्रभावकारी ढङ्गले संहिताबद्ध गरिदिएको प्रतिक्रिया दिएका छन्।

ह्युमन राइट्स वाच र अन्य मानवअधिकारवादी सङ्गठनहरूले यस समुदायका व्यक्तिहरूको अपहरण, यातना, बलात्कार र हत्याका धेरै घटना विवरण सार्वजनिक गर्दै आएका छन्। इराकका प्रमुख राजनीतिक दलहरूले एलजीबीटीआइ अधिकारको आलोचना बढाउँदै आएका छन् भने विरोध प्रदर्शनमा धेरैजसो इन्द्रेणी झन्डाहरू जलाइएका छन्।

अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नयाँ कानुन पारित हुनु मानवअधिकार र स्वतन्त्रताका लागि खतरा भएको बताएको छ। ‘कानुनले इराकको अर्थतन्त्रमा विविधता ल्याउने र विदेशी लगानी आकर्षित गर्ने क्षमतालाई पनि कमजोर बनाउँछ’ अमेरिकाले भनेको छ। अन्तर्राष्ट्रिय व्यापार गठबन्धनहरूले इराकमा यस्तो भेदभावले देशको व्यापार र आर्थिक वृद्धिलाई नोक्सान पुर्‍याउने सङ्केत गरिसकेका छन्।

बेलायतका विदेशमन्त्री लर्ड डेभिड क्यामरुनले पनि इराकी कानुनमाथिको संशोधनलाई ‘खतरनाक र चिन्ताजनक’ भनेका छन्। ‘कसैलाई लक्षित गरी उनीहरू को हुन् भन्न हुँदैन’, क्यामरुनले भनेका छन् ‘हामी इराक सरकारलाई भेदभाव बिना सबै मानिसहरूको मानव अधिकार र स्वतन्त्रताको समर्थन गर्न प्रोत्साहित गर्छौँ।’

१३० भन्दा धेरै देशमा कानुनी मान्यता

पछिल्ला वर्षहरूमा भइरहेका प्रगतिका बाबजुद संसारभर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक(एलजीबीटीआइ) व्यक्तिहरूले अहिले पनि उत्पीडन, कानुनी र सामाजिक भेदभाव र बहिस्कार, हिंसासँगै कहिलेकाहीँ मृत्युको सामना गर्नुपरेको छ।

आवर वर्ल्ड इन डाटामा उल्लेख भएअनुसार, संसारभरका १३० भन्दा धेरै देशहरूमा समलिङ्गी यौन कार्यलाई कानुनी मान्यता दिइएको छ भने ६० भन्दा धेरै देशमा समलिङ्गी यौन सम्बन्ध अपराध मानिएको छ। ११ देशमा यसका लागि मृत्युदण्डको सजाय समेत हुनसक्छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading