लगानी सम्मेलन कर्मकाण्डमै सीमित

लगानी सम्मेलन कर्मकाण्डमै सीमित

काठमाडौं : निकै तामझामका साथ सुरु लगानी सम्मेलन कर्मकाण्डमै सीमित बनेको छ। ८ सय विदेशीसहित करिब २५ सय जनाको सहभागिता रहेको सम्मेलनले लगानी भित्र्याउन भरपुर प्रयास गरेको देखिए पनि निकै कम मात्र लगानीका लागि विदेशी लगानीकर्ता इच्छुक देखिएका छन्।

एक दर्जनभन्दा बढी समझदारी पत्रमा हस्ताक्षर भएको लगानी बोर्डले जनाएको छ। उद्योगी किरण साखका अनुसार हङकङको लगानीमा नेपालको कपिलवस्तुमा झन्डै २ अर्बको लगानीमा होटेल खोल्ने विषयमा अर्थमन्त्री वर्षमान पुनसँग एमओयु भएको छ।

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ। तेस्रो लगानी सम्मेलनको दोस्रो दिन नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो।

नेक्सजेनले एमएबिसीको माउ कम्पनीलाई नेपालमा लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ। ईप्पानका अध्यक्ष गणेश कार्कीले भने नेपाल सरकारले ऐन नै संशोधन गरेर भए पनि अन्तिम समयमा विदेशी लगानीकर्तालाई आकर्षित गर्न खोजेको बताए।

कतिपय व्यवसायी भने ऐन कानुनकै समस्याका कारण विदेशी लगानी भित्रन नसकेको तर्क गरेका छन्। विदेशी लगानीकर्ता खुसी नदेखिएको भन्दै उनीहरूले देशमा लगानीका विषयमा राजनीति नगर्न सुझाएका छन्।

लगानी सम्मेलनको व्यवस्थापन भद्रगोल

सम्मेलनमा सहभागी लगानीकर्ताले राजनीतिज्ञका कारण नेपालमा लगानी हुने वातावरण बन्न नसकेको गुनासो गरेका छन्। लगानी सम्मेलनमा सहभागी विभिन्न देशका लगानीकर्ताहरूले राजनीतिज्ञकै कारण ढुक्कसँग लगानी गर्न नसकेको बताए।

सार्वजनिक–निजी साझेदारी कार्यक्रमहरू बनाउँदा प्रस्तुत हुने कार्यपत्रको अध्ययन गर्न नै कम्तीमा चार/पाँच महिना लाग्ने भएकाले त्यसको अध्ययन हुन नसक्नु नै प्रमुख कमजोरी भएको उनीहरूको निष्कर्ष छ।

विभिन्न पार्टीबाट मन्त्री बनेका तथा प्रधानमन्त्री स्वयमलाई विदेशी लगानीकर्ताले प्रस्तुत गरेको सार्वजनिक–निजी साझेदारी कार्यपत्र नै पढ्न समय नभएकाले उनीहरूलाई घच्घच्याउन सुझाव दिएका छन्।

तर अर्थमन्त्री वर्षमान पुनले भने लगानी सम्मेलन सफल भएको दाबी गर्दै विदेशी लगानीकर्ताको उपस्थितिले उत्साहित भएको दाबी गरेका छन्। अर्थमन्त्री पुनको सचिवालयका अनुसार विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन्।

अर्थमन्त्री पुनसँग साइडलाइन वार्ता गरेका तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विकास साझेदार संस्थाका प्रतिनिधिले सरकारले हालै मात्र कानुनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगानी वातावरण बनाएको बताए।

नेपालका दलहरूमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको उनीहरूको भनाइ थियो। लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको सन्देश भने गएको पूर्वअर्थसचिव रामेश्वर खनालले बताए।

सुनौँ खनालसँगको कुराकानी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading