समलिङ्गी मुक्ति आन्दोलनको शृङ्खला–स्टोनवाल विद्रोह

समलिङ्गी मुक्ति आन्दोलनको शृङ्खला–स्टोनवाल विद्रोह

एजेन्सी : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजिबिटिक्यूप्लस) नागरिकहरूले जून महिना गौरवमय उत्सव र अधिकारका लागि भएको विद्रोहको स्मरणमा प्राइड मन्थका रूपमा मनाउने गरेका गरेका छन्। यो महिनाभर उनीहरू सार्वजनिक मार्च (परेड) गर्छन्।

एलजिबिटिआईक्यू व्यक्तिहरू आफ्नो आवाज उठाउन, आफ्नो समुदायको संस्कृति र अधिकारको समर्थनमा समर्पित गर्दै पुरै महिना नृत्य, उल्लासमा रमाए। विशेष गरी, जून महिनाको अन्तिम आइतबार आफ्नो हक अधिकार विस्तार गर्नका लागि इन्द्रेणी झन्डासँगै विभिन्न पहिरनमा सजिएका एलजिबिटिआईक्यूप्लस व्यक्तिहरूको प्राइड मार्च संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरमा भव्य देखिन्थ्यो। रेनबो फ्ल्याग अर्थात् इन्द्रेणी झन्डा एलजिबिटिआई संस्कृतिको प्रतीक बनेको छ।

फिफ्थ एभिन्यू र म्यानहट्टनको ग्रिनबिच गाउँको सडकहरू भरिएका थिए। आयोजकका अनुसार संयुक्त राज्य अमेरिकामा उनीहरूको सबै भन्दा ठुलो मार्च निस्कियो जसमा ७५ हजारले भाग लिए भने झन्डै २० लाख दर्शकले त्यो प्राइड मार्चको अवलोकन गरे।

के हो प्राइड मन्थ

प्राइड मन्थको अवधारणा स्टोनवाल विद्रोहबाट सुरु भएको थियो। सन् १९६९ मा एलजिबिटिआईक्यू अधिकार आन्दोलनलाई उत्प्रेरित गर्ने एउटा घटना भयो। न्यूयोर्क सहरको ग्रिनबिच भिलेज, स्टोनवालइनमा समलिङ्गी मुक्तिका लागि भएको विरोधको त्यो पहिलो शृङ्खलापछि अमेरिका बाहिर फैलियो।

तल्लो म्यानहट्टन भित्र रहेको गे (पुरुष समलिङ्गी) बार स्टोनवालइनमा प्रहरीले छापा मार्दा विद्रोह सुरु भएको थियो। २८ जूनको बिहान प्रहरीले एलजिबिटिआईक्यू समुदायका युवाहरू जम्मा हुने ठाउँ (बार) मा छापा मार्‍यो। बिना लाइसेन्स रक्सी बेचेको भन्दै त्यहाँका कर्मचारीलाई प्रहरीले पक्राउ गर्नुका साथै केहीलाई कुटपिट गरी बार खाली गरायो।

बाहिर जम्मा भएका केही समर्थकहरूलाई पक्राउ गरेपछि आक्रोशित भिडले विरोध गर्दै प्रहरी माथि सिक्का र बोतलहरू प्रहार गर्न थाल्यो। झन्डै ४ सय बढी मानिसहरू उक्त विद्रोहमा संलग्न थिए। थप प्रहरी परिचालन गरी तत्काल उक्त भिडलाई तितरबितर पारेपछि त्यसपछिको पाँच दिन लगातार बार बाहिर दङ्गा भइरह्यो। उक्त विद्रोहलाई स्टोनवाल विद्रोह भनेर भन्न थालियो। त्यही विद्रोहले अमेरिकामा एलजिबिटिआईक्यू मुक्ति आन्दोलनलाई उजागर गरिदियो र यो नै समलिङ्गी मुक्ति आन्दोलनको केन्द्रबिन्दु बन्यो।

उक्त विद्रोहको सम्मान गर्न प्रत्येक जुन महिनालाई उत्सवका रूपमा मनाइन्छ। स्टोनवाल विद्रोहको स्मरणमा सुरुमा अमेरिकामा जून महिनाको अन्तिम आइतबारलाई गे प्राइड डे को रूपमा मनाइएको थियो।

अहिले भने अमेरिकाका प्रमुख सहरहरूमा मात्र नभएर विश्वभरका एलजिबिटिआईक्यूप्लस व्यक्तिहरूलाई एक महिनाभरको प्राइड मन्थको उल्लासले खिचेको देखिन्छ। एम्स्टर्डम, सिकागो, लन्डन, मेक्सिको सिटी, पेरिस, स्यानफ्रान्सिस्को, साओ पाउलो जस्ता विश्वका ठुला सहरहरूमा प्राइड मन्थका कार्यक्रमहरू आयोजना गरियो।

यो एक महिना लामो उत्सवमा प्राइड परेडहरू प्रदर्शन गरिए, पिकनिक, पार्टी, कार्यशाला, कन्सर्टहरू भए जसले विश्वभरका लाखौँ एलजिबिटिआईक्यूप्लस व्यक्तिहरूलाई ध्यानाकर्षण गर्‍यो।

स्टोनवाल विद्रोहमा संलग्न मुख्य व्यक्ति

मार्सा पी.जोनसोन : स्टोनवालइन विद्रोहमा धेरै व्यक्तिहरूको मुख्य भूमिका रहेको भए पनि जोनसोनलाई पहिलो श्रेय दिइन्छ। उनी आफ्नो २५ औँ जन्मदिन मनाउन गे बार पुगेकी थिइन्।उनी काला जातिकी एक ट्रान्स वमन थिइन् जो समलिङ्गी समुदायमा टुर डे फोर्स मनाउँदै थिइन्। सन् १९९२ मा मात्र ४६ वर्षको उमेरमा जोनसनको मृत्यु भएको थियो।

प्रहरीले हडसन नामको नदीमा उनको शव फेला पारेको थियो। उनको मृत्युलाई सुरुमा आत्महत्या भनिएको थियो। तर मार्साको परिवार र उनका साथीहरूले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्।

सिल्भिया रिवेरा : उनी एक अधिकारकर्मी थिइन्। सिल्भियाले पनि स्टोनवाल विद्रोहमा भूमिका खेलेकी थिइन्। उनले मार्सा पी. जोनसोनसँगै ट्रान्सजेन्डर अधिकारका लागि लडिन्। उनले घरबार विहीन एलजिबिटिआईक्यू युवाहरूलाई सहयोग गर्न एसटिएआर (स्ट्रिट ट्रान्स भेस्टाइट एक्सन रिभोलुसनरीज) खडा गरिन्। उनको सन् २००२ मा मृत्यु भयो। त्यसअघि सम्म सिल्भियाले ट्रान्सजेन्डर अधिकारका लागि वकालत गरिन्।

स्ट्रोम डिलार्भेरी : स्ट्रोम समलिङ्गी अधिकारकर्मीसँगै कलाकार पनि थिए। स्टोनवालइनको गे बारमा प्रहरीले छापा मार्दा उनी पनि त्यहीँ थिए। उनको साथी, लिसा क्यानिस्ट्रासीले सन् २०१४ मा उनको मृत्युको बारेमा जानकारी गराएकी थिइन्। ‘पहिले कसले विद्रोह गर्‍यो भन्ने कसैलाई थाहा छैन तर सबैभन्दा पहिले मैले गरेँ भनेर स्ट्रोमले मलाई भन्थे’लिसाको भनाई थियो।

समलिङ्गी मुक्ति विरोधको वार्षिकोत्सव

सन् १९७० जुन २८ मा स्टोनवाल विद्रोहको पहिलो वार्षिकोत्सवको रूपमा अमेरिकाका धेरै सहरहरूमा आयोजना गरियो। एलजिबिटिआईक्यू समुदायका मानिसहरूलाई एक ठाउँमा भेला हुने मौका दिने उद्देश्यसहित पहिलो प्राइड मार्च आयोजना गरिएको थियो।

स्टोनवाल विद्रोह र पहिलो प्राइड मार्चपछि, एलजिबिटिआईक्यू व्यक्तिहरूको सङ्ख्या तीव्र रूपमा बढ्यो र प्राइड आन्दोलन केही वर्षपछि देशभर फैलियो।

न्यूयोर्क सहरको मेट्रोपोलिटन यातायात प्राधिकरणले वार्षिक रूपमा प्राइड मन्थलाई मान्यता दिन्छ। सन् १९९९ मा, अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले द स्टोनवाल विद्रोहको वार्षिकोत्सवका रूपमा जून महिनालाई गे र लेस्बियन प्राइड मन्थ भनेर घोषणा गरे। यस्तै गरी, सन् २०११ मा, राष्ट्रपति बराक ओबामाले प्राइड मन्थलाई आधिकारिक रूपमा मान्यता प्रदान गरे।

सन् २०१७ मा भने राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा प्राइड मन्थका लागि सङ्घीय मान्यता जारी राख्न अस्वीकार गरे। सन् २०२१ मा कार्यभार सम्हालेपछि राष्ट्रपति जो बाइडेनले प्राइड मन्थलाई मान्यता दिए।

सम्बन्धित समाचार

युगान्डामा समलिङ्गी विरोधी व्यवस्थाको विरोध, आर्थिक सहायता कटौती गर्ने बाइडेनको चेतावनी

पाकिस्तान–सिन्ध प्रान्त : ट्रान्सजेन्डर माथिको उत्पीडन र गिरफ्तारी रोक्न सुझाव

ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म

समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

सर्वोच्चको फैसला कुर्दै भारतीय समलिङ्गी जोडी

दक्षिण कोरियामा समलिङ्गी जोडीको अधिकारलाई मान्यता

इटालीमा कानुनी अड्चन खेप्दै समलिङ्गी आमाबाबुका सन्तान

समलिङ्गी विवाहलाई वैधानिक बनाउने कानुनमा बाइडेनले गरे हस्ताक्षर

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading