उपनिर्वाचनमा एमालेलाई लाभ, काँग्रेसमा विलाप

उपनिर्वाचनमा एमालेलाई लाभ, काँग्रेसमा विलाप

मतदाताको शिर झुक्न नदिने सुहाङको प्रतिबद्धता

काठमाडौं : दोस्रो पटक भएको उपनिर्वाचनमा एमालेलाई लाभ भएको छ। काँग्रेसको प्रदेश सभा सदस्यको सिट एमालेले आफ्नो पोल्टामा पारेको छ। गत वैशाखमा भएको उपनिर्वाचनमा काँग्रेसको सिट राष्ट्रिय स्वतन्त्र पार्टीले हात पारेको थियो।

२०७९ मङ्सिर ४ को चुनावपछि पहिलो र दोस्रो उपनिर्वाचनमा काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा एक/एक सदस्य गुमाएको हो। मङ्सिर ४ को निर्वाचनमा काँग्रेसको पोल्टामा गएको बझाङ क्षेत्र १ को प्रदेशसभा १ उपनिर्वाचनमा एमाले विजयी भएको छ।

माओवादीसँग गठबन्धन गरेर निर्वाचित भएको काँग्रेस यो पटक एक्लै लड्दा सिट गुमाउन बाध्य भएको छ। बझाङ प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी २ सय ६६ मतान्तरले निर्वाचित भए। उनले ११ हजार ६ सय १२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अभिषेक सिंहले ११ हजार ३ सय ४६ मत पाएर पराजित भए।

२०७९ मङ्सिर ४ गते भएको चुनावमा १७ हजार ११२ मत ल्याएको काँग्रेसलाई माओवादी केन्द्रको समेत समर्थन थियो। उपनिर्वाचनमा एक्लै भिडेको काँग्रेसलाई गत निर्वाचनको तुलनामा यो पटक ५ हजार ७ सय ६६ मत कम आएको हो।

गत निर्वाचनमा माओवादीसहितको भोट पाएर जिते पनि घात गरेको आरोप लगाएको काँग्रेस उपनिर्वाचनमा एक्लै भिड्दा एक प्रदेशसभा सदस्य पद गुमाउन बाध्य बनेको छ।

गत निर्वाचनमा १३ हजार ३३६ मत पाएर पनि काँग्रेस माओवादीको गठबन्धन उम्मेदवारसँग हारेको एमाले यसपटक साढे ११ हजार भोट पाएर नै निर्वाचित भएको छ।

उपनिर्वाचनमा एक्लाएक्लै भिडेको माओवादी केन्द्रका उम्मेदवार तेस्रो स्थानमा रहँदा ३ हजार ८ सय ३१ मत पाएको छ। २५ सय १४ मत ल्याएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहको भने जमानत नै जफत भएको छ।

कुल खसेको सदर मतको १० प्रतिशत पनि भोट नपाएपछि एकीकृत समाजवादीका सिंह सहित ८ उम्मेदवारको धरौटी रकम जनही ५ हजार रुपैयाँ जफत भएको हो।

जमानत जफत हुने उम्मेदवारहरूमा राप्रपाका किशोर कुमार खड्का, जसपाका रामबहादुर जाग्री, गजेन्द्र बहादुर थापा, दीपकबहादुर खड्का, सुशीला देवी विष्ट, खगेन्द्रबहादुर शाही र कमल घर्तीमगर छन्।

११ दलका ११ उम्मेदवार चुनावी मैदानमा उत्रिएको बझाङमा एमाले निर्वाचित हुँदा माओवादी केन्द्र र काँग्रेस बाहेक सबै पार्टीको धरौटी जफत भएको हो।

इलाममा सुहाङको पल्लाभारी

इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्। ४५ हजार ९५३ मत गणना सकिँदा एमालेका उम्मेदवार नेम्वाङ ६ हजार ४ सय ३९ मतले अगाडी छन्।

हालसम्मको मत परिणाम अनुसार सुहाङको पक्षमा १९ हजार ११४ मत प्राप्त हुँदा प्रतिद्वन्द्वी काँग्रेसका डम्बर खड्काले १२ हजार ६७५ मत पाएका छन्। काँग्रेसलाई लगभग टक्कर दिएको स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ९ हजार ४ सय १० मत ल्याएर तेस्रो नम्बरमा छन्।

सामाजिक सञ्जालमा एक नम्बर भनेर झ्याली पिटेको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो नम्बरमा खुम्चिँदा ३ हजार २४२ मत मात्रै पाएको छ। हालसम्मको मत परिणाम हेर्दा गृहमन्त्री रवि लामिछानेको रास्वपा र माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टीको जमानत जफत हुने अवस्था देखिएको छ।

एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले बल्लतल्ल ३३७ मत पाएका छन्। अग्रता बनाइरहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङले आफूले पाएको मत इलामेली जनताको आफूहरू प्रति भरोसा रहेको प्रतिक्रिया दिएका छन्। बढ्दो मतान्तर अपेक्षाकृत रहेको र युवाहरूको समेत साथ पाएको उनले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading