ललिता निवास : पूर्वप्रधानमन्त्रीको निवासमै बयान, लौरो टेक्दै सीआइबी पुगे पूर्वमन्त्री

ललिता निवास : पूर्वप्रधानमन्त्रीको निवासमै बयान, लौरो टेक्दै सीआइबी पुगे पूर्वमन्त्री

काठमाडौं : ललिता निवास प्रकरणका आरोपी पूर्वप्रधानमन्त्रीद्धवय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालसँग केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले बयान लिएको छ।

भट्टराई र नेपालको बयान नलिई प्रतिवेदन बुझाउने तयारी गरेको सीआइबीले चौतर्फी आलोचना भए पछि घरमै गएर बयान लिएको जनाएको छ।

सीआइबी प्रमुख किरण बज्राचार्यले भट्टराई र नेपालको निवासमै पुगेर बयान लिएको स्वीकार गरेकी छन्। अरू आरोपीलाई पक्राउ गरेर बयान लिएको सीआइबीले भिभिआइपीलाई घरमै बयान दिने सुविधा दिएको हो।

तर, पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशीलाई भने सीआइवीले कार्यालयमा बोलाएर बयान लिएको छ। सोमबार दिउँसो १ बजे बोलाएर बयान नलिई फर्काएको सीआइबीले बेलुकी पुन बोलाएर बयान लिएको जोशीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। ‘पहिलो पटक सीआइबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो। तर फेरी अहिले नआउनु भनी खबर आयो। आज फेरी बोलाए बमोजिम सवा १ बजे सीआइबी कार्यालय पुगेको थिए,’जोशीले लेखेका छन्,‘तर बयान नलिई फेरी बोलाउँला भनी फर्काइयो। भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिबद्धता कायम छ। म फरार छुइन।’

दिउँसो बयान नलिएको सीआइबीले बुलुकी फेरी बोलाएर बयान लिएको जोशीले अर्को ट्विट गरेका छन्। ‘अन्ततः बोझबाट हलुका भएको छु। सीआइबी समक्ष बयान दिएर आइयो। सीआइबीलाई धन्यवाद,’उनले लेखेका छन्,‘ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाई सार्वजनिक नै छ। चाहिएको बेला आवश्यक सहयोगको लागि तत्पर छु।’

ललिता निवास : भट्टराई र नेपालको बयान हल्लामै सीमित

सर्वोच्च अदालतको आदेश आउँदा समेत यस प्रकरणमा भिभिआइपीहरूको बयान नलिएको भन्दै सीआइबी र सत्तारुढ दलको चर्को आलोचना भएको थियो। सीआइवीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको जनाएको छ।

सीआइबीले गत असार १२ गतेदेखि विस्तृत अनुसन्धान सुरु गरेको थियो। मङ्गलवार अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी भएको सीआइबीले जनाएको छ। सोमबार जिल्ला अदालतबाट तीन दिन म्याद थप भएको र मङ्गलवार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइने सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

अनुसन्धानमा संलग्न प्रहरीको सरुवा

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो तहको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरूको सरुवा गरेको छ। गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजिपी)को सरुवा गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो तहको अनुसन्धानको नेतृत्व गरिरहेका उपत्यका प्रहरी प्रमुख रहेका श्यामलाल ज्ञवालीलाई कार्य विभागमा सरुवा गरिएको छ। ज्ञवाली उपत्यका प्रहरी कार्यालयमा आएको साढे चार महिना मात्रै भएको थियो।

कार्यविधि भन्दा बाहिर गएर प्रहरी अधिकृतको सरुवा गरिएपछि सरकारको आलोचना भइरहेको छ। सोमबार मात्रै पनि शरणार्थी प्रकरणको नेतृत्व गरेका प्रहरी अधिकृत काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा मनोज केसी र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीको सरुवा गरिएको छ।

पुनः शरणार्थी प्रकरणको फाइल खोल्ने योजनामा यी दुई अधिकृत रहेकाले सरुवा गर्नुपर्ने भनेर काँग्रेस सभापति शेरबहादुर देउवाबाट दबाब आएपछि सरुवा गरिएको आरोप लागेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो तहको अनुसन्धानमा देउवा पत्नी डा. आरजु राणा, बालकृष्ण खाँण पत्नी मञ्जु, नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, पत्नी नैनकला तथा छोरा प्रतीकलाई पक्राउ गर्ने हल्ला चलेको थियो। तर, सभापति देउवाको प्रत्यक्ष निर्देशनमा अनुसन्धान अधिकृत परिवर्तन गरिएको स्रोतले दाबी गरेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.