टेकनाथको न्यायिक सुनुवाइका लागि कौशिलाको अनुरोध

टेकनाथको न्यायिक सुनुवाइका लागि कौशिलाको अनुरोध

काठमाडौँ : भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालको न्यायिक सुनुवाइका लागि कौशिला रिजालले अनुरोध गरेकी छन्। ‘उमेरमा ७६ वर्ष पुरा हुन लागेका र सुगर, ब्लड–प्रेसरसहितका असाध्य विरामहरूबाट ग्रसित नेता रिजालको आगत–विगत सम्झेर पनि न्यायिक सुनुवाइका लागि अनुरोध गर्दछु’ टेकनाथकी श्रीमती कौशिलाले निकालेको विज्ञप्तिमा लेखिएको छ।

नक्कली शरणार्थी प्रकरणको मुद्दामा आवश्यक छानबिन एवं न्यायिक निरूपणका क्रममा नेता रिजाल हाल पुर्पक्ष थुनामा रहेका छन्। नेता रिजालले इतिहासदेखि आफ्नो जातीय पहिचान, भाषा–संस्कृतिको पक्षमा आवाज उठाउँदै आएका छन्। न्याय, लोकतन्त्र तथा मानव अधिकारको पक्षधर बनेरै सङ्घर्षको भिन्न उचाइमा नाम चिनाएका रिजाल काठमाडौँ जिल्ला अदालतको आदेशमा थुनामा पुगेका छन्।

श्रीमती कौशिलाले रिजालमाथि अप्रमाणित र अवाञ्छित अभियोगसहित पुर्पक्ष थुनामा राखिनु अन्यायपूर्ण देखिएको उल्लेख गरेकी छन्। ‘आज आएर नक्कली शरणार्थीको गिरोहलाई जोडेर नेता रिजालमाथि अप्रमाणित र अवाञ्छित अभियोगसहित पुर्पक्ष थुनामा राखिएको प्रसङ्ग आफैमा अन्यायपूर्ण देखिन्छ,’विज्ञप्तिमा लेखिएको छ,‘नक्कली शरणार्थीको यो गिरोहबारे स्वयम रिजालले एक वर्षअघि देखि नेपालका पुर्वप्रधानामन्त्रीहरु तथा बहालवाला मन्त्री, पूर्वपरराष्ट्र मन्त्री र मिडियासहित सम्बद्ध निकायमा सप्रमाण सूचना दिँदै आउनुभएको थियो। यो गिरोहमा संलग्न व्यक्तिहरूका बारेमा गत वर्ष वैशाख अन्तिममा समेत गृह मन्त्रालयमा लिखित रूपमा जानकारी दिएको यथार्थबारे नेपाली मिडिया जगत् जानकार छ।’

नेपाली भूमिमा भुटानी शासकको चङ्गुलमा टेकनाथ : निर्वासन अध्याय-१७

न्याय नियम र पद्धतिको पक्षमा उभिने भएरै भुटानमा १० वर्ष जेलनेल बेहोर्ने नेता रिजाल भुटानी शरणार्थीको स्वैच्छिक घर फिर्तीको अडानमा निरन्तर आवाज उठाइरहने एक मात्र प्रतिनिधि पात्र हुनु भएको श्रीमती कौशिलाले उल्लेख गरेकी छन्।

झन्डै ३० वर्षयता शरणागत भएर नेपाल भूमिमा बस्दै आएको र शरणार्थी हकहितका निम्ति राष्ट्रिय/अन्तर्राष्ट्रिय तहमा आवाज उठाउँदै आएका नेता रिजालको अभियानलाई निस्तेज गराउन लामो समयदेखि चलखेल जारी रहेको विषयसमेत भिन्न तहमा अवगत हुँदै आएको उनले निकालेको विज्ञप्तिमा उल्लेख छ।

यो मुद्दामा सम्मानित अदालतमा न्यायिक निरूपण हुने क्रम जारी रहे पनि नेता रिजालको प्रतिकुल स्वास्थ्य स्थितिको सरोकारलाई समेत स्मरण गराउँदै उहाँका पक्षमा सरोकार राख्ने र न्यायिक आवाजका निम्ति लेखेर वा बोलेर साथ दिने समस्त अधिकारकर्मी तथा मिडिया जगत्लाई कौशिलाले धन्यवाद दिएकी छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.