जेलभित्र पूर्व र बहालवाला गृहमन्त्रीको भेट, टेकनाथको स्वास्थ्यमा चासो

जेलभित्र पूर्व र बहालवाला गृहमन्त्रीको भेट, टेकनाथको स्वास्थ्यमा चासो

काठमाडौँ : नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न मधेस प्रदेशका बहालवाला गृहमन्त्री पुगेका छन्। मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिम खाँणलाई भेट्न बुधवार दिउँसो केन्द्रीय कारागार कार्यालय जगन्ननाथदेबल पुगेका हुन्।

खाँणलाई बुधवार बिहान मात्रै काँग्रेस नेता डा. शंशाक कोइराला पुगेका थिए। ५/६ जनाको टोली सहित कोइरालाले खाँणलाई भेटेर फर्केको केही बेरमै मन्त्री समिम पुगेका हुन्। उनले औपचारिकता पूरा गर्नका लागि खाँणलाई भेटेको बताए।

पाँच महिनापछि काठमाडौँ आएको बताउँदै उनले पहिचानसँग भने,‘जे भए पनि उहाँ नेता हो,औपचारिकता पूरा गर्नका लागि भेट गरे।’ भेटमा आफू अक्क न बक्क भएको उनले बताए। ‘धेरै कुरा भएन,पार्टीको भागमा परेका मन्त्रालयले राम्रो काम गरुन् भन्नु भयो,’उनले भने,‘यो सबै कर्म र भागमा डिपेन्ड गर्ने रहिछ।’

मधेसका मन्त्री समिमले भेटेर फर्के लगत्तै खाँणलाई भेट्न काँग्रेस नेता उदय शमशेर राणा र अमरेन्द्र यादव पनि पुगेका छन्। यसअघि काँग्रेस नेता शेखर कोइरालाले खाँणलाई भेटेका थिए। काँग्रेस नेता रामहरि खतिवडा, हृदयराम थानी लगायतका नेताले पनि खाँणलाई भेटेका स्रोतले बताएको छ। ‘भेट्नु पर्‍यो भनेर फोन गर्नुहुन्छ,हामी चिट पठाइदिन्छौ,’कारागार प्रशासनले पहिचानसँग भन्यो,‘खतिवडा र थानीले भने कर्मचारीहरूसँग पनि आएर हाई हेलो गर्नुभयो।’

काठमाडौँ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई काँग्रेस नेता कार्यकर्ता लाम लागेरै भेट्न पुगेका छन्। अर्का पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पनि भेट्न जानेको लाम नै लाग्ने गरेको कारागार प्रशासनले जनाएको छ।

नेपाली भूमिमा भुटानी शासकको चङ्गुलमा टेकनाथ : निर्वासन अध्याय-१७

नक्कली शरणार्थी मुद्दामा जेल परेका भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाललाई भने भेट्न जानेहरू कम छन्। १९८४ देखि सुगरको बिरामी रहेका रिजालले कारागारकै अस्पतालमा तीन पटक स्वास्थ्य चेकजाँच गराएका छन्। कारागार स्रोतका अनुसार बुधवार मात्रै पनि रिजालको स्वास्थ्य जाँच भएको छ।

रिजालको स्वास्थ्यमा कारागार प्रशासनले पनि चासो दिएको जनाएको छ। नियमित खाने औषधी र आवश्यक पर्दा चिकित्सकसँग चेकजाँचको पनि व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।

उमेरमा ७६ वर्ष पुरा हुन लागेका र सुगर, ब्लड प्रेसरसहितका असाध्य बिरामहरूबाट ग्रसित मानव अधिकारवादी नेता रिजालको आगत विगत सम्झेर न्यायिक सुनुवाइका लागि श्रीमती कौशिला रिजालले अनुरोध गरेकी थिइन।

रिजालले नक्कली शरणार्थीको गिरोहबारे सूचना दिएकै आधारमा जेल हालिएको जिकिर समेत गरेकी छन्। ‘आज आएर नक्कली शरणार्थीको गिरोहलाई जोडेर नेता रिजालमाथि अप्रमाणित र अवाञ्छित अभियोगसहित पुर्पक्ष थुनामा राखिएको प्रसङ्ग आफैँमा अन्यायपूर्ण देखिन्छ,’कौशिलाले १० भदौमा निकालेको प्रेस विज्ञप्तिमा लेखिएको छ,‘नक्कली शरणार्थीको यो गिरोहबारे स्वयं रिजालले एक वर्षअघि देखि नेपालका पूर्व प्रधानमन्त्रीहरू तथा बहालवाला मन्त्री, पूर्व परराष्ट्र मन्त्री र मिडियासहित सम्बद्ध निकायमा सप्रमाण सूचना दिँदै आउनुभएको थियो। यो गिरोहमा संलग्न व्यक्तिहरूका बारेमा गत वर्ष वैशाख अन्तिममा समेत गृह मन्त्रालयमा लिखित रूपमा जानकारी दिएको यथार्थबारे नेपाली मिडिया जगत् जानकार छ।’

टेकनाथ गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर फर्केको तीन पछि लगत्तै पक्राउ परेका थिए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका बारेमा जानकारी दिने रिजाल भने अहिले आफैँ थुनामा छन्। भुटान फर्कन पाउनु पर्ने माग राखेर तेस्रो देश पुर्नवास नभई नेपालमै बसेका रिजाल नेपाल र भारतले भुटानसँग वार्ता गरे शरणार्थी शिविरमा बस्नु नपर्ने आशा व्यक्त गर्दै आएका थिए।

टेकनाथको न्यायिक सुनुवाइका लागि कौशिलाको अनुरोध

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.