भुटानी शरणार्थीको गुनासो : नक्कलीका नाममा वास्तविक ओझेलमा

भुटानी शरणार्थीको गुनासो : नक्कलीका नाममा वास्तविक ओझेलमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृ भूमि नेपालमा शरणार्थी बनाइएकाको समस्या समाधान गर्न भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीले आग्रह गरेका छन्।

विवादास्पद अभिव्यक्ति दिएका इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीको संयोजकत्वमा बालुवाटार गएको समूहले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भुटानी शरणार्थी समस्याको समाधान गर्न आग्रह गरेको हो।

समूहले भुटान फर्किन चाहने, नेपालमा बस्न चाहने वा तेस्रो देशमा पुनर्वासमा जान चाहने शरणार्थीको मानवअधिकारको रक्षा गरी उनीहरूको चाहनाबमोजिमको व्यवस्थापन गर्न प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र नै बुझाएको छ।

भाषा रहे संस्कृति रहन्छ, संस्कृति रहे पहिचान रहन्छ र पहिचान रहे जातिको परिचय रहन्छ भन्ने मान्यता बोक्ने पितृ भूमि नेपाल भएका र नेपालको सरकारसँग सम्झौता गरी भुटानमा गई बसोबास गर्दै आएका पितृ भूमि नेपाल भएका नेपाली भाषी समुदायलाई नेपाली भाषा, संस्कार र संस्कृति अङ्गालेकै कारण भुटान सरकारले निर्मम दमन र सर्वस्वहरण गरी भुटानबाट लखेटेको र अझै नेपालमा आठ हजार शरणार्थी रोग र अभावबाट ग्रसित भई जेलसरहको कठोर जीवन बिताइरहेका ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

‘मेरो भ्वाइस युनिभर्स’ मा विवादित अभिव्यक्ति, भुटानी शरणार्थीले जनाए आपत्ति

अमानवीय तरिकाले ट्रकमा मेची नदीको पुलमा ल्याएर छोडिएका विस्थापित झन्डै ३४ वर्षदेखि शरणार्थीका रूपमा नेपाल सरकारलगायत कुनै पनि दातृ निकायको उचित र आवश्यक सहयोगबिना नै जीवन मरणको दोसाँधमा रहेकाले उनीहरूको उचित व्यवस्थापनको माग ज्ञापन पत्रमा गरिएको छ।

यसरी लाखौँ शरणार्थीमध्ये अधिकांश तेस्रो देशमा पुनर्वास भएका र प्राविधिक कारणले यसरी जान नसकेका र नचाहेका एवं जबरजस्ती आफ्नै पितृ थलोमा अनागरिक बन्न बाध्य बनाइएकाको समस्या झन् बढ्दै गएकाले उनीहरूको यो अवस्थाप्रति छिट्टै ध्यान दिन ज्ञापन पत्रमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको फाउन्डेसनले जनाएको छ।

तेस्रो मुलुकमा पुनःस्थापनामा जाने प्रक्रियामा रहेका र केही भुटान नै फर्किन वा नेपालमा नै बसोबास गर्न चाहेका शरणार्थीको समस्या समाधानका लागि नेपाल सरकारले कार्यदल बनाएकामा सो कार्यदलको प्रतिवेदनका आधारमा समस्या समाधान गर्ने कुरामा नेपाल सरकारले ध्यान दिनुपर्ने ज्ञापन पत्रमा लेखिएको छ।

वास्तविक नेपाली भाषी भुटानी शरणार्थीको यो अवस्था रहेको तर नक्कली भुटानी खडा गरी पहुँचको आधारमा वास्तविक शरणार्थीलाई ओझेलमा पार्ने गरी प्रयास भएको भन्दै ज्ञापन पत्रमा समस्या समाधानका लागि आग्रह गरिएको छ।

ज्ञापन पत्र लिँदै प्रधानमन्त्री प्रचण्डले संसारभरका नेपालीलाई सांस्कृतिक एकताको सूत्रमा जोड्न फाउन्डेसनले गरेको योगदानको प्रशंसा गरेका थिए।

फाउन्डेसनको आयोजनामा हालै नेपालमा सर्वाधिक पुरस्कार राशिका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिता सम्पन्न भएका छन्।

त्यस अवसरमा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले दिएको अभिव्यक्तिको भने विभिन्न देशमा रहेका भुटानी नागरिकले आपत्ति जनाएका थिए। अधिकारीले भने आफ्नो अभिव्यक्ति सच्याएका छैनन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.