बुढा साधुको आश्रममा एक बेलुकी एउटा घुमन्ते सन्यासी पुग्यो। सन्यासी एकजना गुरुको खोजीमा थियो। आश्रमका यिनै बुढा साधुलाई गुरु मान्नुपऱ्यो भन्ने सोचेर सन्यासीले त्यहीँ बस्ने अठोट लियो। १५ दिनसम्म सन्यासी त्यहाँ बस्यो।
तर, त्यति दिनसम्म आश्रममा बस्ता बुढा साधुले केही जान्दैन भन्ने सन्यासीलाई लागिसकेको थियो। केही थोरै शब्दहरु दिनदिनै दोहोऱ्याइ-तेहऱ्याइ भन्ने; नयाँ कुरा केही गर्दै नगर्ने…! रातदिन एउटै कुरामात्र भनिरहनेलाई सुनेर के सिक्न सकिएला र! यसको के प्रयोजन होला र! सन्यासीमा हैरानी बढिसकेको थियो।
अब अन्तै कतै गएर नयाँ गुरु खोज्नुपऱ्यो सोची सन्यासीले आश्रमबाट विदा लिएर हिँड्ने अठोट् लिइसकेको थियो।
भोलिपल्ट सन्यासीले आश्रम छोड्ने समय थियो। तर, अघिल्लो रात अर्कै एउटा सन्यासी सोही आश्रममा बास बस्न आइपुग्यो। नयाँ सन्यासीले आश्रममा भेला भएका साधुहरुका अघि बसेर वेदान्तको सूक्ष्म चर्चा गरे। आश्रमवासीहरु नयाँ सन्यासीसित खूब प्रभावित भए।
आश्रम छोड्न लागेको सन्यासीले पनि सोच्यो, “गुरु भनेको त यस्तो पो हुनुपर्छ! कति धेरै शास्त्रीय अर्थविवेचना गर्न सकेको होला! महाविद्वान नै रहेछ नयाँ सन्यासी त! यो आश्रमको बुढो साधुलाई भित्र भित्रै इर्ष्या लागिरहेको होला! आफू केही नजान्ने!”
तीन घण्टाको चर्चनीपछि सबै मौन भए। आफ्ना कुरा सिद्धिएपछि नयाँ सन्यासीले नजर घुमाएर सबैलाई हेर्दै भन्यो,“तपाईंहरुलाई मेरो कुरा कस्तो लाग्यो कुन्नि?” बुढो साधुतिर हेर्दै उनलाई पनि सन्यासीले यही प्रश्न गऱ्यो!
बुढा साधुले भने,“ए आगन्तुक अतिथि, म तीन घण्टादेखि सास रोकेर तिमी केही बोल्छौ कि भनी सुन्न चेष्टा गरिरहेको छु। तर, तिमी केही बोल्दैनौ। एक शब्द तिमी बोलेनौ। मैले कस्तो लाग्यो भनौ?”
सन्यासी तीनछक परेर भन्यो,“तपाईं के भन्दै हुनुहुन्छ, म नबोलेर को बोल्दैथ्यो त अघिसम्म? आफ्नै सामु बोलिरहेको मान्छे नचिन्ने तपाईं पागल त हैन!”
बुढा साधुले भने,“मैले खूबै बुझ्ने प्रयत्न गरें। तिमीभित्रबाट गीता बोलेको सुने, उपनिषद बोलेको सुनें। तर, तिमी स्वयं बोलेको मैले सुनिनँ! घण्टौंसम्म पनि मैले तिमी आफैं बोलेको एकै शब्द सुन्न पाइनँ! शब्द, शास्त्र र सिद्धान्तहरु बोले तर, तिमी बोलेनौ! यी तीनघण्टामा तिमी जति बोल्यौ, त्यतिमध्ये तिमी आफ्नो भन्ने के थियो? त्यो बताऊ तब, म बुझौंला कि तिमीले पनि बोल्यौ! तिमी फेरि दोहोऱ्याएर भन तिम्रा निजी शब्द, वाक्यहरु के के थिए! यदि तिम्रो केही थिएन भने मैले तिमी बोल्यौ भनेर कसरी मानौं?”
तिनै साधुको प्रश्न पैंचो लिएर हामी आ-आफूलाई पनि प्रश्न गर्नु जरुरी छ, आखिर तपाईंको के छ? आत्मा-परमात्मालाई तपाईं जान्नुहुन्छ? चिन्नुहुन्छ? बिहान भित्तातिर फर्केर तपाईं दोहोऱ्याइ-तेहऱ्याइ भट्भटाउनुहुन्छ! तपाईं देख्नुहुन्छ आत्म कहाँ छ? शरीरभित्र आत्मा छ जो सदासर्वदा अमर छ-यो कुरो तपाईं स्वयंद्वारा अनुभूत ज्ञान हो?
के तपाईंलाई साँच्चै थाहा छ मृत्युपछि के हुन्छ? तपाईं जन्मिनुभन्दा पहिले कहाँ हुनुहुन्थ्यो तपाईंलाई थाहा छ? तपाईं के जान्नुहुन्छ? तपाईंको अगाडि ढुंगो लडिरहेको छ-त्यो के हो तपाईं जान्नुहुन्छ? तपाईंको घर अगाडि फूलबारीमा पालुवा पह्लाइरहेको छ, तपाईंलाई थाहा छ त्यो कसरी पैदा भएको हो?
आकाशमा चन्द्र, सूर्य, बादल…वर्षा, बिजुली कसरी अडिएको छ, तपाईं जान्नुहुन्छ? के जान्नुहुन्छ तपाईं? तपाईं धेरै कुरा जान्न सक्नुहुन्छ। तर, तपाईंले जानेका ती कुरा तपाईंका आफ्ना होइनन्! तपाईंले कोही, कसैबाट सिक्नुभएको हुनसक्छ! कुनै पुस्तकमा पढ्नुभएको होला! जे पनि कतै पढिएको छ, सिकिएको छ-तपाईंको निजी ज्ञान होइन। त्यसमा ‘कपी राइट’ लाग्नसक्छ!
तपाईं आफैं आर्जन गरेको ज्ञान नभएकाले त्यसले तपाईंलाई मोक्ष दिलाउँछ भन्ने भ्रम तपाईंको रोग हो। घोकेको, सिकेको ज्ञानले तपाईंलाई प्रकाश दिँदैन। त्यो तपाईंको बुढेसकालमा टेक्ने लौरी, देख्न आँखा बन्नै सक्तैन!
सबैभन्दा ठूलो कुरो त हामी आ-आफूले केचाहिं जानेको छ वा केचाहिं जान्नसकिन्छ भनेर खोज्नु पर्दछ। यस्तो सोचिरहँदा लाग्नसक्छ,‘लौ बित्यास परेछ, म त केही पनि जान्दिनँ! अरु नै कोही जान्दछ, उसैका शब्दहरु पैंचो लिएर म बाँडिरहेको छु। ज्ञान उधारोमा चल्दैन भन्ने तपाईंलाई थाहा छ कि नाई? ज्ञान एकले अर्कोलाई हस्तान्तरण गर्न सम्भव छ? अहँ! यो कुरो सम्भव छैन।
ज्ञान एकबाट अर्को ठाउँमा सार्न सकिँदैन। ज्ञान कसैलाई दिन वा दोहोऱ्याउन सम्भवै छैन। त्यसो भए यो जो हामी जान्दछौं त्यो के हो? यो ज्ञान हो?
एउटैमात्र विचार पनि तपाईंको निजी हो? एक अनुभूति, कुनै अनुभूति तपाईंको हो? जसलाई तपाईंको अन्तरमनले स्वीकार्छ कि यति कुरा मैले जानें। के तपाईंसित जीवनको यस्तो कुनै अनुभव छ? यदि छैन भने यो ‘म जान्दछु, मसित ज्ञान छ’ भन्ने जुन सोच छ त्यो अज्ञानताभन्दा पनि बढी खतरा हुन्छ। किनभने यसले स्वयंमा ज्ञान नभएर पनि ज्ञान भएको भ्रम पैदा गरिदिन्छ। यसले अहंकारको बिउ रोप्छ।
हामीलाई सबैथोक सजिलो चाहिएको छ। ज्ञान पनि सहजै प्राप्त गर्नुपरेको छ। हामी अल्छिहरु खोज्ने, चुनौतीको सामना गर्ने, परिश्रमद्वारा अनुभूत गर्नेजस्ता सत्प्रयासबाट जोगिन चाहन्छौं। ज्ञान प्राप्त गर्नलाई शक्ति र साहस चाहिन्छ।
अपरिचित, अज्ञात विषयमा पस्नु, पहिले कहिल्यै नहिँडेको अन्जान यात्रामा निस्कन निकै हिम्मत चाहिन्छ। यस्ता तमान झण्झटहरु कसले ब्योहोरी रहोस्! हामी सजिलै ताकमा राखेका किताब पल्टाएर सुगाको कृष्ण-हरि रट्न थाल्छौं। दुइ-चार श्लोक घोकेर आउँदो गरेपछि खूबै विद्वान भइहाल्छौं! ज्ञानी हुनुको मज्जा लिन आतुर भइहाल्छौं।
एक-दुइजना वरपरि भेला भएर गुरु भन्न थालिहाल्छन्! ‘उहाँलाई त, वेद उपनिषद पुरै आउँदो छ, फलानो पुस्तकको यति आवृत्ति कण्ठस्थै छ, महाज्ञानी हुनुहुन्छ उहाँ’ भन्दिन्छन्। दुइ-चारजना शिष्यहरु अघि-पछि लाउनसक्ने गुरु भइसकेपछि त झन् अरु के चाहियो र! गाउँको ख्यातीको झ्याम्टा आफूले पिट्नै पर्दैन, आफैं बज्न थालिहाल्छ! यसरी अबुझपनको, अज्ञानताको एउटा अविरल यात्रा शुरु हुन्छ।
विगत आधादर्जन सयवर्षदेखि यस्तै हुँदै आएको छ। उहिले पनि ज्ञानी, साँच्चै ज्ञान प्राप्त महर्षिहरु अति न्यून संख्यामा थिए। अहिले पनि एकाध ज्ञानी महामानवहरु हातका औंलामै गन्नसकिने छन्। तर, गन्नै नसकिने जमात ज्ञानी भएको विज्ञापनमा झ्याम्टा बजाएर हिँडेको छ।
यस्तो हुनुको खास कारण ज्ञान प्राप्तिको बाटो पूरै असम्भव भएर पटक्कै होइन। तर, हामीमा एउटा रोग संक्रमित छ। त्यो के भने हामी बेसाहा खोजेको वा सित्तैमा पाएको ‘ज्ञान’ले तृप्त भइहाल्छौं। तिर्खा लागेको मानिसलाई नदीको चित्र बनाएर देखाउँदा तिर्खा मेटिन्छ? राम्रो रंग भरेर बनाएको सूर्यको नक्शाले प्रकाश दिन्छ?
बेसाहा ज्ञानले वास्तविक ज्ञानको ढोका बन्द गरिदिन्छ अनि त्यस्तो ज्ञान त्याग्न पनि सारै लोभ लाग्छ! किनभने त्यो भ्रमले पनि आफूभित्र रहेको अहंकारलाई तृप्ति दिइरहेको हुन्छ! “हैट्, म त केही हुँ! म आत्मा जान्दछु, म ईश्वरलाई बुझ्दछु! यस्तो ज्ञानको भकारी म कसरी त्यागौं?” त्यसलाई छोड्न धेरै डर लाग्छ किनभने त्यो पनि त्यागेपछि त आफू रित्तै भइन्छ!
हो यही डर-भय वास्तविक ज्ञानको लागि बाधा बनिरहेको छ! ज्ञानको नदीमा पौडिनलाई किनारा छोड्नैपर्छ। जबसम्म तपाईं किनारामा रहेर नदी यस्तो छ उस्तो छ भन्दै बखान गरिरहनु हुन्छ तबसम्म त्यो कुरा महापण्डितले कसाईगिरी गरेजस्तै हो!
लेखक हाल अमेरिकामा रहेका भुटानी नागरिक हुन्
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.