बालेनको चीन भ्रमण : श्रीमती सुत्केरी हुँदा रद्द

बालेनको चीन भ्रमण : श्रीमती सुत्केरी हुँदा रद्द

काठमाडौं : काठमाडौँका मेयर बालेन शाहले पारिवारिक समस्याका कारण चीन भ्रमण रद्द गरेको खुलेको छ। नेपालको चुच्चे नक्सा नराखेको विरोधमा आफ्नो पाँच दिने चीन भ्रमण रद्द गरेको बालेनले बताएका थिए।

तर, बालेनको चीन भ्रमण पारिवारिक समस्याका कारण रद्द भएको खुलेको हो। चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बेइजिङ जाने कार्यक्रम स्थगित गर्नुको कारण सुत्केरी श्रीमतीलाई हेरचाह गर्नुपर्ने रहेको खुलेको छ।

सामाजिक सञ्जालमा भने देशभक्ति देखाउन र स्टनबाजी गर्न सिपालु मेयर बालेनले चुच्चे नक्सा नराखेका कारण चीन भ्रमण रद्द गरेको उल्लेख गरेका थिए। चीन भ्रमण रद्द गर्नुको कारण चुच्चे नक्सा भनिए पनि बालेनको सचिवालयले उनकी श्रीमती सुत्केरी भएको विज्ञप्ति निकालेर पुष्टि समेत गरेको छ।

शनिवार राति ९ बजेतिर पत्नी सविना काफ्ले महानगरको गाडीमा अस्पतालबाट फर्कँदै गर्दा कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेपछि मेयर शाहले फेसबुकमा अराजक शैलीमा स्ट्याटस लेखेका थिए। महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाउने चेतावनी उनले दिएका थिए।

सो अभिव्यक्तिको विरोध भएपछि आइतबार बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको छ। शाहका स्वकीय सचिव भूपदेव शाहले विज्ञप्तिमा जनाएअनुसार शनिवार बेलुकी ७ बजे सुत्केरी अवस्थामा रहेकी मेयर साहकी पत्नी महानगरपालिकाको सरकारी गाडीमा अस्पताल गएकी थिइन।

यससँगै सविनाले एक साताअघि मेडिसिटी अस्पतालमा छोरीलाई जन्म दिएको खुलेको छ। स्वास्थ्य परीक्षण र एनआईसीयुमा रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा अनावश्यक केरकार गरेको विज्ञप्तिमा लेखिएको छ।

नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक भएको आरोप विज्ञप्तिमा लगाइएको छ। ‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे। सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’के हो? कहाँ हो? भनेको थियो,’ विज्ञप्तिमा भनिएको छ,‘कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारीसाधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो। प्रहरीबाट गरिएको व्यवहार असभ्य, निन्दनीय तथा खेदजनक छ।’

विवादमा तानिए पछि आइतबार नै बालेन भने रिफ्रेस हुन श्रीलङ्का उडेका छन्। उनी एसिया कप हेर्न श्रीलङ्का गएका उनको सचिवालयले जनाएको छ। श्रीमती सुत्केरी हुँदा चीन भ्रमण रद्द गरेको आरोप लाग्ने देखेपछि बालेन आइतबार नेपाल र भारतबीचको खेल हेर्न भन्दै श्रीलङ्का उडेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पनि आइतबार नै श्रीमती निकिता पौडेलसहित श्रीलङ्का पुगेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.