निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपालमा शक्ति राष्ट्रका राजदूतको छाडापन

नेपालमा शक्ति राष्ट्रका राजदूतको छाडापन

413
SHARES

काठमाडौं : नेपालमा रहेका शक्ति राष्ट्रका राजदूतहरूको छाडापन बढ्दै गएको छ। कूटनीतिक मर्यादा विपरीतका अभिव्यक्ति दिएर राजदूतहरूले सरकारलाई चुनौती दिइरहेका छन्।

नेपाली जनताका अगाडी राष्ट्रवादी देखाउन चर्का भाषण गर्ने नेताहरू भने विदेशीका सामु लम्पसार पर्ने गरेको आरोप लागिरहेको छ।

सरकारले नेपालको चुच्चे नक्साबारे आधिकारिक रूपमा छिमेकी देशलाई जानकारी समेत नगराएको खुलासा भइसकेको छ। प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरूको शरणम प्रवृत्तिका कारण राजदूतहरू मर्यादा विपरीत अभिव्यक्ति दिन थालेका छन्।

एमसिसी सम्झौतामा मुख खोलेको चीनले नेपाल भारत सम्बन्धकाबारेमा विवादास्पद अभिव्यक्ति दिएको छ। नेपालका लागि चिनियाँ राजदूत छङ सोङले भारतसँगको विद्युत् व्यापारबाट नेपालले घाटा बेहोरिरहेको भन्दै यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ? भनेर प्रश्न गरेका थिए।

सरकारले राजदूतको बोलीमा लगाम लगाउन सकेको छैन। सरकारले राजदूतहरूलाई कूटनीतिक मर्यादामा रहन सचेत समेत गराएको छैन। उनको यो अभिव्यक्तिको नेपालका राजनीतिक दल एवं कूटनीतिज्ञहरूले आपत्ति जनाए पनि सरकार अहिलेसम्म मौन बसेको छ।

भारत र चीनको बीचमा रहेको नेपाललाई राजदूतहरूले विनासित्तीका अभिव्यक्ति दिएर हायलकायल पारिरहेका छन्।

सरकारले बेलैमा स्पष्टीकरण नलिए राजदूतहरूको छाडापन बढ्ने काँग्रेस सहमहामन्त्री महेन्द्र यादवले बताएका छन्। ‘चाइनिज एम्बेस्डर हेडमास्टर होइन,हामीलाई आएर स्कुलमा पढाउने त उहाँ होइन,चाइनासँग कसरी सम्बन्ध राख्ने, व्यापार गर्ने हामीलाई थाहा छ,’उनले भने,‘नेपाल सरकारले यो मामलामा चिनियाँ राजदूतसँग स्पष्टीकरण लिनुपर्छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले चिनियाँ राजदूतलाई कूटनीतिक मान र मर्यादामा रहेर मात्र कुरा गर्न चेतावनी दिए। ‘हाम्रो सम्बन्ध कुनै देशसँग विर्गान चाहँदैनौ,’उनले भने,‘कहीँ त्यस्तो देखियो भने तुरुन्तै नोट पठाइहाल्नु पर्छ।’

पूर्वराजदुत विजयकान्त कर्णले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ गतिविधि बढेको दाबी गरेका छन्।

उनले सन् २०१९ को अक्टोबरमा नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमणपछि चिनियाँ राजदूतहरूको गतिविधि नेपालको आन्तरिक राजनीतिमा सिधै प्रभाव पार्ने खालका देखिएको टिप्पणी गरे। ‘यो भन्दा अगाडिका राजदूत राति १२ बजे राष्ट्रपतिलाई भेट्ने, बिहान ७ बजे प्रधानमन्त्रीलाई भेट्ने,९ बजे प्रचण्ड र १० बजे माधव नेपाललाई भेट्ने,’उनले भने,‘यस्तो त कहीँ पनि दुनियाँमा हुँदैन।’

तर, परराष्ट्र मन्त्री एनपी साउदले भने पटक पटक विवादास्पद अभिव्यक्ति दिने राजदूतहरूलाई सचेत गराइरहेको बताएका छन्। चिनिया राजदूतको अभिव्यक्तिबारे भने मन्त्री साउदले अहिले जवाफ दिन नसक्ने बताए।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने एमसिसी संसद्बाट पारित भइसके पछि नेपालमा अमेरिकी अधिकारीहरूको चहलपहल बढेको टिप्पणी गरेका छन्। खनालले अमेरिकासहित जी सेभेन राष्ट्रलाई चुनौती दिन अमेरिकाले नेपाललाई प्रयोग गर्न खोजिरहेको आरोप लगाए।

समाचार शेयर गर्नुहोस्
413
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.