राजावादीको दादागिरी, गृहमन्त्रीको राजीनामा माग

राजावादीको दादागिरी, गृहमन्त्रीको राजीनामा माग

काठमाडौं : राजावादी बताउँदै हिँड्ने समूह पछिल्लो समय भौतिक आक्रमणमा उत्रिएको छ। राजावादी समूहको सदस्य बताउँदै हिड्नेहरु विभिन्न दलका नेताहरूमाथि भौतिक आक्रमणमा उत्रिएका हुन्।

चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्न माग गरेका काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि राजावादी समूहको सदस्य बताउने नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका छन्।

रिपोर्टस क्लबको कार्यक्रम सकेर गाडीमा चढ्नै लाग्दा खुकुरी प्रहार गरेका सापकोटाले आफूलाई राजावादी समूहको सदस्य भएको बयान दिएका छन्। पक्राउ परेका सापकोटाले आफूलाई राजावादी समूहको सदस्य बताएका काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

यसअघि जेठ १७ गते नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालमाथि राजावादी समूहले सार्वजनिक कार्यक्रममा अभद्र व्यवहार गरेको थियो।

काँग्रेसले पार्टीका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले गम्भीर घाइते यादवको ट्रमा सेन्टरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

यादवमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न काँग्रेसले माग गरेको हो। सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लबको कार्यक्रमबाट निस्कने समयमा खुकुरी प्रहार भएको थियो।

काँग्रेसका सहमहामन्त्री यादवको आइसियुमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ। ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री रिजालले विज्ञप्ति निकालेर चिकित्सकको निगरानीमा आइसियुमा उपचार भइरहेको उल्लेख गरेका छन्।

उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएकाले त्यसका कारण गहिरो घाउ भई रक्तस्राव भएको विज्ञप्तिमा लेखिएको छ। उनलाई चिकित्सकको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको विज्ञप्तिमा उल्लेख छ।

भ्रष्टाचारको मुद्दा एकपछि अर्को खोलेर चर्चामा आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शान्ति सुरक्षा कायम गर्न भने चुनौती देखिएको छ।

यादवमाथि खुकुरी प्रहार भएपछि काँग्रेसका भातृसंस्थाले गृहमन्त्रीको राजीनामा माग्दै मसाल जुलुस नै निकालेका छन्। राजधानीको सार्वजनिक स्थलमा पूर्व मन्त्री जस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने गृहमन्त्रीको नेविसंघले राजीनामा माग गरेको छ।

काँग्रेसले मात्रै नभएर गृहमन्त्री श्रेष्ठको पार्टी नेकपा माओवादी केन्द्र भित्रै राजीनामाको आवाज उठ्न थालेको छ। सुन तस्करी प्रकरणमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरालाई जोगाउन नसकेको भन्दै श्रेष्ठलाई गृहमन्त्रीबाट हटाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब परेको छ।

गृहमन्त्री श्रेष्ठले पनि आफूलाई हटाउने प्रयास भइरहेको बताएका छन्। सरकारले खोलेको भ्रष्टाचारको फाइलले गठबन्धनमा असन्तुष्टि बढेर गृहमन्त्री फेर्ने प्रयास भइरहेको चर्चा आइरहेको बेला गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार विरोधी अभियान चलाउनेलाई घेराबन्दी गर्ने वा सरकारलाई अप्ठ्यारो पारेर मूल पात्रहरूलाई हटाउन खोजेको बताएका हुन्।

उनले ६० किलो सुन समातेपछि त्यसलाई आधार बनाएर तस्करीको जरैसम्म पुग्ने त्यसको सारा नेटवर्कको पहिचान गरेर कानुनी कारबाही गर्ने प्रक्रियामा अहिले प्रहरी र सीआइबी अनुसन्धानरत रहेको जिकिर गरे। नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणलाई पनि चाँडै निष्कर्षमा पुर्‍याउने उनको भनाई थियो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.