बिपीलाई सम्झँदै देउवाले भने, ‘संविधानको मर्म अनुसार अभ्यास गर्न पाएका छैनौँ’

बिपीलाई सम्झँदै देउवाले भने, ‘संविधानको मर्म अनुसार अभ्यास गर्न पाएका छैनौँ’

काठमाडौँ : बिपी कोइरालाको ११० औँ जन्म जयन्ती। नेपाली काँग्रेसले तीन दिनसम्म बिपी साहित्य महोत्सव गरेर मनाइरहेको छ। आजको युवा पुस्तालाई बिपीका बारेमा गहिरो ज्ञान बाँड्ने उद्देश्य महोत्सवको रहेको काँग्रेसले जनाएको छ।

सभापति शेरबहादुर देउवाले ‘बिपीले प्रतिपादन गरेका राजनीतिक विचार, साहित्यिक कृतिहरू, भोग्नु परेका सङ्घर्षमय जीवन गाथाहरू र सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोण लगायतका विविध पक्षमा विशिष्ट ज्ञान भएका विद्वान बुद्धिजीवीहरूबाट चर्चा बहस गराई आजको युवा पुस्तालाई पनि बिपीका बारेमा गहिरो ज्ञान बाँड्ने यो महोत्सवको उद्देश्य रहेको छ’ उल्लेख गरेका छन्।

देउवाले बिपीको राजनीतिक चिन्तनले देखाएको मार्गमै हिँडेको बताए। ‘बिपी आफैमा वहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधैँ अजर र अमर नक्षत्रको रूपमा आज पनि स्थापित हुनुहुन्छ,’महोत्सव उद्घाटन गर्दै देउवाले भने,‘उहाँको राजनीतिक चिन्तनले देखाएको मार्गमै हामी हिँडेका छौ। मुलुकलाई त्यही चिन्तनले समृद्ध बनाउने लक्ष्य लिएका छौ, प्रयत्न गरिरहेका छौँ भने नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि उहाँको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएका छन्।’

देउवाले आफ्नो राजनीतिको स्रोत नै बिपी रहेको उल्लेख गरेका छन्। ‘यहाँ उपस्थित रहनुभएका धेरै साथीभाइहरूले समय र उमेरका कारणले बिपीलाई भेट्ने अवसर पाउनु भएन, जतिले पाउनु भयो, जति समय पाउनु भयो उहाँहरूले पक्कै पनि आफ्नो विचारमा, दृष्टिकोणमा, जीवन दर्शनमा र व्यवहारमा उहाँबाट केही न केही कुरा अवश्य लिनुभएको छ,’देउवाले भने,‘मेरो राजनीतिक प्रेरणाको स्रोत उहाँ नै हुनुहुन्छ।’

बिपी कोइरालाले असल मान्छे बन्न भनेको देउवाले स्मरण गरेका छन्। ‘उहाँ साधा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो। हामीले उहाँलाई भेट्दा, उहाँले आफै भन्नु हुनुहुन्थ्यो कि तिमीहरू ठुलो मान्छे होइन, असल मान्छे बन्नु’देउवाले सुनाए,‘उहाँले मार्क्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो। प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग निकट देखिनुहुन्छ भने आर्थिक समानताका सवालमा मार्क्सवादी चिन्तनलाई पनि आवश्यक ठान्नुहुन्छ।’

उनले नेपाली काँग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आदर्श कायम गरेर अघि बढेको दाबी समेत गरे। ‘सामन्तवादका विरुद्ध तत्कालीन समयमा देखिएको निरपेक्ष साम्यवाद र निरपेक्ष पुँजीवाद दुवै उहाँले अपूर्ण देख्नुभयो। अनि प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भन्नु भयो ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ’,देउवाले भने,‘आज नेपाली काँग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आदर्श कायम गरेर अघि बढेको छ।’

उनले देशमा स्थायित्व कायम हुन नसकेको उल्लेख गरेका छन्। संविधान जारी भएको ८ वर्ष पुग्न लागे पनि संविधानको मर्म अनुसार अभ्यास गर्न नपाएको गुनासो समेत देउवाले गरेका छन्। ‘समयको अन्तराल सँगै आज हाम्रो मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको छ तर विभिन्न कारणले स्थायित्व पाएको छैन,’उनले भने,‘नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेका छौँ तर यसको मर्म अनुसार अभ्यास गर्न पाएका छैनौँ।’

उनले बिपीका विचारलाई हरेक पुस्ताका नागरिकहरूबिच पर्याप्त बहस र छलफल गराउन नसक्नु कमजोरी भएको पनि उल्लेख गरे। ‘नागरिकका कैयौँ अभाव, समस्या, असन्तुष्टि र समाजमा देखिएका विभेद विसङ्गतिलाई बिपीको आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक एवं राजनीतिक विचारले समाधान दिन सक्छ भन्ने दृढ विश्वास हुँदाहुँदै पनि उहाँको विचारलाई हरेक पुस्ताका नागरिकहरू बिच पर्याप्त बहस र छलफल गराउन नसक्नु हाम्रा पनि केही कमजोरीहरू रहेका छन्’उनले भने।

११० औ जन्म जयन्तीका अवसरमा देउवाले बिपी राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पहाड झैँ उभिएको उल्लेख गरेका छन्। ‘बिपी राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार हुनुहुन्थ्यो, सबै किसिमका विभेद विरुद्ध आगो ओकल्नु हुन्थ्यो,’उनले भने,‘समावेशिता र सधैँ नागरिकको न्याय, समानता र स्वतन्त्रताको पक्षमा लडिरहनु भयो भने राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पहाड झैँ उभिनुभयो।’ देउवाले विचार, सिद्धान्त र साहित्यिक कृतिहरूले मार्ग निर्देश गरिरहेको उल्लेख गरे।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.