प्रचण्डलाई भेटेर देउवाले जनाए असन्तुष्टि

प्रचण्डलाई भेटेर देउवाले जनाए असन्तुष्टि

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृह मन्त्री फेर्न दबाब परेको छ। सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले गृह मन्त्री फेर्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको स्रोतले बताएको छ।

नक्कली भुटानी शरणार्थी मुद्दामा बालकृष्ण खाँण पक्राउ परे पछि काँग्रेस सभापति शेरबहादुर देउवा गृह मन्त्री नारायणकाजी श्रेष्ठसँग चिढिएका छन्। देउवाले पटक पटक प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रीको कामबारे असन्तुष्टि जनाएका बालुवाटार स्रोतले बताएको छ।

समाजवादी मोर्चाको विराटनगरमा भएको सन्देश सभाबाट फर्किएका प्रधानमन्त्री प्रचण्डलाई देउवाले सोमबार बालुवाटारमा भेटेर भ्रष्टाचारका मुद्दामा आफ्ना पार्टीका धमाधम पक्राउ परेकोमा असन्तुष्टि जनाएका स्रोतले बताएको छ।

गृहमन्त्री श्रेष्ठ समेत सहभागी भेटमा प्रधानमन्त्रीले अड्किएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनको संशोधन विधेयकमाथि भइरहेको सहमतिको प्रयास बारे जानकारी गराएका छन्।

यसअघि प्रचण्डले टिआरसी विधेयककै विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए। पछिल्लो समयमा गृहमन्त्री श्रेष्ठको गतिविधिप्रति सत्ता गठबन्धन दल नेपाली काँग्रेसका नेताबाटै प्रश्न उठिरहेको सन्दर्भमा भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ।

काँग्रेस नेताहरूले सरकारको नेतृत्व नै परिवर्तन गर्नु पर्ने अभिव्यक्ति दिइरहेका छन्। सरकारको नेतृत्व काँग्रेसले गर्नु पर्ने काँग्रेस नेताहरूको अभिव्यक्तिबारे पनि प्रधानमन्त्री प्रचण्डले चासो लिएका स्रोतले बताएको छ।

गुन्डा तह लगाउने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुन्डाहरूलाई सडकमार्फत तह लगाउने उत्तेजित अभिव्यक्ति दिएका छन्। समाजवादी मोर्चाले विराटनगरमा गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लाखौँ जनतालाई सडकमा उतारेर गुन्डाहरू तह लगाउने अभिव्यक्ति दिएका हुन्।

समाजवादी मोर्चाले सात वटा प्रदेशमा कार्यक्रम सकेपछि लाखौँ जनतालाई सडकमा उतार्ने प्रचण्डको भनाई छ। ‘अस्ति एउटाले हाम्रो महेन्द्र यादवलाई खुकुरी प्रहार भयो। गठबन्धनमा भएको सहमहामन्त्रीलाई खुकुरी हान्दियो। उनीहरूको मनोबल कस्तो रहेछ। तपाईँ हामी रक्षात्मक त्यस्तो होइन अब। अब यो समाजवादी मोर्चाले जहाँ बदमासी, गाली गलौच हुन्छ इँटको जवाफ पत्थरले दिने हो,’ उनले भने, ‘हामीले त्यो दिनै पर्ने छ। भोलि सातै वटा प्रदेशको सभा सकिन्छ त्यसपछि हामी बसेर कार्यक्रम बनाउँछौँ सडकमा जाने। लाखौँ जनतालाई सडकमा ल्याउने हो र यी गुन्डा, दलालहरूलाई हामी जिउँदै छौँ भनेर देखाउन परो। अनि मात्रै हाम्रो जित हुन्छ।’

उनले हतियारविहीन युद्धको सुरुवात आफूले गरेको बताउँदै साथ दिन सबैसमक्ष अपिल समेत गरे।

तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नामै लिएर अपराधीहरूले दिनदहाडै खुकुरी प्रहार गर्दा पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका छन्।

तेजाब पीडितहरुसंगको जागरण दिवसका असरमा आयोजित कार्यक्रममा ओलीले सम्मानित ढङ्गले बाँच्न पाउनुपर्ने अधिकार खोस्न उद्धत हुने प्रवृत्ति हाबी हुँदा समेत सरकार मूक दर्शक बनेको आरोप लगाए।

‘असामाजिक,अमानवीय र गैरकानूनी काममा साथ दिन सक्दिनँ भन्दा शान्ति सुव्यवस्था र एकताको पक्षमा कुरा गर्दा त्यो सहन नसकेर तिमीलाई त बाँकी राख्दिनँ तिम्रा बालबच्चा र घरपरिवारलाई पनि मार्छु भन्नु आतङ्कवादबाहेक केही होइन,’उनले भने,‘सरकार आफैँले यस्ता अपराध बढाइरहेको छ। सपरिवार मार्छु भनेको छ,त्यस्ता मान्छेलाई नियन्त्रणमा लिइन्न।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.