निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संविधान सभा अध्यक्ष नेम्वाङको निधनले स्तब्ध

संविधान सभा अध्यक्ष नेम्वाङको निधनले स्तब्ध

332
SHARES

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको बताएका छन्।

७१ वर्षको उमेरमा मंगलबार बिहानै हृदयाघातका कारण नेम्वाङको निधन भएको खबर पाए लगत्तै राष्ट्रपति पौडेलले ट्विट गर्दै नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको लेखेका छन्।

‘दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु’ पौडेलले ट्विट गरेका छन्।

संविधान सभा अध्यक्ष नेम्वाङको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन्। नेम्वाङको निधन भए लगत्तै ट्विट गर्दै प्रधानमन्त्री प्रचण्डले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

‘संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु,’प्रधानमन्त्री प्रचण्डले ट्विटमा लेखेका छन्,‘दिवङ्गत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन्। ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छु,’देउवाले ट्विटमा लेखेका छन्,‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अत्यन्तै सालिन र नम्र नेता सुवास नेम्वाङको निधनले स्तब्ध र दुखित तुल्याएको बताएका छन्। ट्विट गर्दै शर्माले लेखेका छन्,‘संविधान सभाको सभामुखका रूपमा संविधान निर्माणका समयमा उहाँले निभाउनु भएको महत्त्वपूर्ण भूमिका देशले सदैव सम्मानसाथ स्मरण गरिरहने छ, हृदयदेखि भावपूर्ण श्रद्धाञ्जली।’

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको निधन प्रति अकल्पनीय, अपूरणीय र अत्यन्त दुखद भएको बताएका छन्।

‘नेकपा एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवं प्रतिनिधि सभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङको निधन भएको छ। यस निधनले नेपाली कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक र राष्ट्रिय आन्दोलनमा पुगेको क्षति अपूरणीय छ,’ज्ञवालीले ट्विट गरेका छन्।

नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ। १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेले जनाएको छ।

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ गत मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा सदस्यमा इलाम क्षेत्र २ बाट ३० हजार २० मत प्राप्त गर्दै विजयी भएका थिए।

नेम्वाङका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए। नेम्वाङले ११४ मतको अन्तरले खड्कालाई पराजित गरेका थिए।

नेम्वाङ २०५६ र ०७४ सालको संसदीय निर्वाचनमा विजयी भएका थिए। उनी २०५६ सालमा लेखा समितिको सभापति थिए। २०६४ र २०७० सालका दुवै संविधान सभा निर्वाचनमा पनि नेम्वाङ इलाम २ बाटै निर्वाचित भएका थिए।

२०४८ र २०५१ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य समेत बनेका थिए। सभामुख र दुवै संविधान सभाका अध्यक्षको भूमिका निर्वाह गरेका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत भएका थिए।

समाचार शेयर गर्नुहोस्
332
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.