निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बिदा भए संसदीय राजनीतिका खेलाडी

बिदा भए संसदीय राजनीतिका खेलाडी

433
SHARES

काठमाडौँ : ३ दशकको संसदीय राजनीतिका सफल खेलाडी सुवास नेम्वाङले प्राण त्यागेका छन्। ७१ वर्षको उमेरमा राति १ः३० बजे तिर नेम्वाङलाई परिवारका सदस्यले शौचालयमा बेहोस अवस्थामा फेला पारे। शिक्षण अस्पताल पुर्‍याए पनि नेम्वाङ बाच्न सकेनन्।

बहुदलीय देखि गणतान्त्रिक व्यवस्थाका महत्त्वपूर्ण घटनाक्रमका साक्षी बनेर बिदा भए नेम्वाङ। कम्युनिस्ट भए पनि काँग्रेसका स्वर्गीय गिरिजाप्रसाद कोइरालाको प्रस्तावमा नेम्वाङ २०६२/०६३ को जनआन्दोलन पछि पुनर्स्थापित अन्तरिम व्यवस्थापिका संसद्को अध्यक्ष बन्न सफल भए।

२०६४ को पहिलो संविधान सभा चुनाव पछि गठन भएको संविधान सभाको अध्यक्ष बने नेम्वाङ। २०७० सालको दोस्रो संविधान सभाका समेत अध्यक्ष बनेका नेम्वाङको सहमति, सहकार्य र एकताको मन्त्रले असोज ३ गते संविधान जारी हुन सफल भयो।

संविधान सभा अध्यक्ष नेम्वाङको निधनले स्तब्ध

विवादित कुरा गर्दै नगर्ने स्वभावका नेम्वाङ आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्दा धर्म सङ्कटमा परे। ‘संवैधानिक या असंवैधानिक भन्दिन,’उनले भनेका थिए,‘संविधान विपरीतको काम गर्ने छुट कसैलाई छैन।’

पटकपटक पार्टीले संसद् अवरोध गरिरहँदा उनी संसद् अवरोध गर्नु पर्छ भन्ने पक्षमा उभिएनन्। विवादका विषय सहमति, सहकार्य र एकताबाट मात्रै समाधान हुने अभिव्यक्ति दिँदै आएका नेम्वाङको असामयिक निधनले राजनीतिक वृत्त स्तब्ध बनेको छ।

सरकारले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ। श्रद्धाञ्जली व्यक्त गर्न नेता कार्यकर्ता पार्टी कार्यालय पुगेका छन्।

संविधान सभा अध्यक्ष नेम्वाङको निधन

नेपाली काँग्रेसले तामझामका साथ बिपीको विचार अहिलेको युवा पुस्तासम्म पुर्‍याउन आयोजना गरेको बिपी साहित्य महोत्सव नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै स्थगित गरेको छ।

बिपी साहित्य महोत्सव तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष, सालिन र सुयोग्य राजनीतिज्ञ सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ। बैठकले नेम्वाङको परिवारजन, नेकपा (एमाले) पार्टी र शोकाकुल सबैमा गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

संविधान सभाका अध्यक्षप्रति उच्च सम्मान प्रकट गर्दै भाद्र २६ का लागि निर्धारित “बिपी साहित्य महोत्सव—२०८०” का तेस्रो र अन्तिम दिनको सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्ने निर्णय गरेको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
433
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.