एनआरएनए चुनाव : उम्मेदवार घोषणाको प्रतिस्पर्धा

एनआरएनए चुनाव : उम्मेदवार घोषणाको प्रतिस्पर्धा

काठमाडौँ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को चुनाव आउन एक महिना मात्रै बाँकी छ। एनआरएनएले हरेक दुई/दुई वर्षमा नयाँ नेतृत्व चयन गर्न महाधिवेशन गर्दै आएको छ।

एनआरएनएको ११ औँ महाधिवेशन आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौँमा हुँदै छ। महाधिवेशनमा अध्यक्ष लगायतका पदाधिकारीहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। महाधिवेशन नजिकिँदै गर्दा सामाजिक सञ्जालमार्फत उम्मेदवार घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ।

सामाजिक सञ्जालमा मात्रै सीमित रहेको उम्मेदवारी घोषणालाई आकाङ्क्षीहरूले औपचारिकता दिन सुरु गरेका छन्। पत्रकार सम्मेलन नै गरेर एनआरएनएको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले पहिलो उम्मेदवारी घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत हालकी अध्यक्ष रबिना थापा र बद्री केसीले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि औपचारिक रूपमा पत्रकार सम्मेलन भने गरेका छैनन्। श्रेष्ठले भने शुक्रवार पत्रकार सम्मेलन गरेर ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरे।

आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुई वर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि शुक्रवार ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित अध्यक्षमा उम्मेदवारी घोषणा गरे। उनले आगामी दुई वर्षको लागि पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरे।

सङ्घको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरूलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र सङ्गठित एनआरएनए बनाउने दृढता व्यक्त गरे।

‘सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए बनाउने मेरो प्रमुख उद्देश्य र सर्वोच्च प्राथमिकता हुनेछ,’ उनले भने,‘एनआरएनएमा विगतको मेरो भूमिकालाई नजिकबाट अवलोकन गर्नुहुने सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई म पद र प्रतिष्ठाका लागि भन्दा पनि सङ्घलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुँदै आएको छु। विजयी भएर शपथ लिएको दिनदेखि वार्षिक क्यालेन्डर र कार्य योजना  बनाएर सबैको विश्वास जित्ने गरी काम गर्ने सङ्कल्प व्यक्त गर्दछु।’

श्रेष्ठले दुई वर्षे कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने मात्र होइन, गैरआवासीय नेपालीहरूको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरु गरिएको रु.१० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने पहिलो प्राथमिकतामा राखेको बताए।

‘जन्मभूमिको विकासका लागि योगदान गर्न चाहने सबै गैरआवासीय नेपालीहरू समेट्ने उद्देश्यले सो कोषमा न्यूनतम २५० डलर लगानीको अवसर प्रदान गर्ने मेरो लक्ष्य छ,’उनले भने,‘गैरआवासीय नेपालीहरूको लगानीलाई सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई पनि लगानी कोषमा समेट्नका लागि आवश्यक कानुनहरूलाई समयानुकूल परिमार्जित तथा संशोधन गर्दै गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितो पत्र विनिमय बजारमा प्रवेश गराउन दिनरात प्रयास गर्नेछु।’

१०० अर्ब डलरको अर्थतन्त्र बनाउन सहकार्य गर्ने

अर्थतन्त्र मजबुत बनाउने सवालमा दीर्घकालीन योजना र महत्त्वाकाङ्क्षी सपनाहरू देख्नुपर्छ भन्ने मान्यता अनुरूप सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन एउटा स्पष्ट खाकासहित सङ्घले नेपाल सरकार तथा नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने पनि उनले प्रतिबद्धता जाहेर गरे।

संस्था स्थापनादेखि नै प्रवासी नेपालीहरूको मुद्दामा सक्रियतापूर्वक काम गरेको उल्लेख गर्दै उनले विदेशमा आर्जन गरेको ज्ञान, सिप, प्रविधि र पुँजीलाई स्वदेशको विकास र समृद्धिका लागि उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरी श्रम तथा सिप बैङ्क स्थापना गर्ने प्रतिबद्धता जनाए।

वैदेशिक रोजगारीमा देखिएका समस्याहरूको निराकरणमा सारथी बन्ने उल्लेख गर्दै अध्यक्षका उम्मेदवार श्रेष्ठले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्‍याउने व्यवस्था मिलाउन पहल गर्ने, श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउने दृढता व्यक्त गरे।

नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी सङ्घ र दातृ निकायसँग समन्वय गरी १० करोडको श्रमिक कल्याण कोष खडा गर्ने प्रतिबद्धता पनि उनले जनाए।

भावी दिनमा संस्थाको ओज र गरिमालाई अझै बढाउने गरी काम गर्ने सङ्कल्पका साथ सङ्घको भावी नीति, रणनीति, कार्य योजना मस्यौदा गर्न तथा दश वर्षे विस्तृत ‘भिजनरी’दस्ताबेज तयार गर्न विशेषज्ञहरू सम्मिलित एक उच्चस्तरीय समिति गठन गरेर काम गर्ने लक्ष्य तय गरेको उनले सुनाए।

‘एक एनसीसी, एक परियोजना’ लाई एनआरएनए फाउन्डेसनमार्फत एकीकृत रूपमा अघि बढाउने, परराष्ट्र मन्त्रालयमा एनआरएनए विभाग स्थापनाका लागि पहल गर्ने साथै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का अध्यक्षहरूलाई नेपाल सरकारको अवैतनिक वाणिज्य दूतको रूपमा मान्यता दिन नेपाल सरकारसँग पहल गर्ने पनि सो अवसरमा उनले जानकारी दिए।

आफ्नो दुई वर्षे कार्यकालमा स्थायी बासिन्दा (पिआर) भई विदेशमा बसेका नेपालीहरूका सम्बन्धमा संविधानको धारा २९१ मा राखिएको विभेदकारी प्रावधान संशोधनका लागि पहल गर्ने र एनआरएनएको लामो समयको पहलपछि गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने अवसर मिलिरहेकाले सो कार्यान्वयनलाई सहज बनाउन पहल गर्नुका साथै गैरआवासीय नेपालीहरू तथा भूपू गोर्खाहरूको वंशजको नागरिकताको निरन्तरताको लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए।

विदेशमै बसेर जन्मभूमि अर्थात् मातृभूमिको प्रवर्द्धन र प्रचारमा गैरआवासीय नेपालीहरूको सक्रिय सहभागिताका लागि ‘एक साथी नेपाल पठाऊँ’, ‘नेपाली भाषा र संस्कृति जोगाऔँ’ अभियान र नेपाल फेस्टिवल जस्ता कार्यक्रमलाई संसारभर सञ्चालन गर्ने लक्ष्य लिएको पनि उनले सुनाए।

सङ्घका केन्द्रीय उपाध्यक्षद्वय नरेन्द्र भाट तथा राज रेग्मी,  प्रवक्ता सोम सापकोटा, सचिवद्वय प्रवीण गुरुङ तथा गंगाधर गौतम, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, पूर्व सल्लाहकार हरिबोल भण्डारी, पूर्व आइसिसी सदस्यहरू विमल सुवेदी, अर्जुन श्रेष्ठ, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी लगायतले शुभकामना दिएका थिए भने महासचिव डा केशव पौडेलले स्वागत गरेका थिए।

सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष जिबा लामिछानेले श्रेष्ठलाई सङ्घभित्र एकताको सूत्रधार  भन्दै उनलाई सफलताको शुभकामना दिएका छन्।  त्यस्तै पूर्व अध्यक्ष भवन भट्टले  उनलाई समर्थ उम्मेदवार भनेका छन् भने अर्का पूर्व अध्यक्ष कुमार पन्तले उनलाई गतिशील एनआरएनए बनाउन  अग्रिम शुभकामना दिएका छन्।

सङ्घका संस्थापक अध्यक्ष राम प्रताप थापा, संस्थापक महासचिव भीम उदास, पूर्व संरक्षक इन्द्रा बन, पूर्व उपाध्यक्ष रामेश्वर शाहले शुभकामना सन्देश पठाएका छन्। आफ्नो शुभकामना सन्देशमा अध्यक्ष कुल आचार्यले महेश श्रेष्ठ एक शालीन र समन्वयकारी व्यक्तित्वको रूपमा रहेको र उनले सङ्घभित्र सहमति र सहकार्यलाई अगाडी बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

आइसिसीको युवा उपसंयोजकमा डा. बिसुन्के 


गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आइसिसीको युवा उपसंयोजकका लागि डा. शङ्कर बिसुन्केले उम्मेदवारी घोषणा गरेका छन्। उनले एनआरएनए आइसिसीको २०२३ देखि २०२५ कार्यकालका लागि एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय युवा उपसंयोजकका लागि उम्मेदवारी घोषणा गरेका हुन्।

‘युवा सशक्तीकरणमार्फत संस्थागत रूपान्तरण’ भन्ने मूल मन्त्र अघि सारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन्। आम युवाहरूको आवाजलाई सम्बन्धित ठाउँमा पुर्‍याउने र समाधानको खोजी गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

अमेरिकाज क्षेत्रका युवाहरूलाई लक्षित गरेर उच्च अध्ययन, खेलकुद, रोजगारीलगायत विभिन्न रचनात्मक क्रियाकलापको बारेमा योजना बनाउने र उचित कार्यान्वयन गर्ने लक्ष्य उनको छ।

पाँच वर्षदेखि अमेरिकामा डेक्सटप इन्जिनियरिङ पेसामा आबद्ध उनले हाल अवस्था कठिन भए पनि मेहनत गर्दा भविष्य उज्ज्वल हुने देखेको बताए। उनी सर्वसम्मत हुने आशामा छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.