‘क्रान्तिले ठुलो सपना दियो, डेलीभर दिन सकेन’

‘क्रान्तिले ठुलो सपना दियो, डेलीभर दिन सकेन’

काठमाडौं : शासन प्रणालीबाट जनता टाढा भएका छन्। राजनीतिलाई डोर्‍याउने प्रशासन भुत्ते भएको छ।

प्रशासन संयन्त्र प्रविधि मैत्री बन्न सकेको छैन। जनतामा निराशाको बादल मडारिएको छ। जनतालाई बाढेका सपना अनुसार डेलीभर नहुँदा राजनीति प्रति वितृष्ण बढेको छ।

सत्तामा जानका लागि जे पनि गर्ने नेताहरू नायकबाट खलनायक बनेका छन्। विकासमा असन्तुलन कायम छ। यी माथिका भनाई निजामती कर्मचारी देवीलाल चौलागाईद्धारा लिखित राजनीति, विकास र प्रशासन पुस्तक विमोचनमा व्यक्त भएका हुन्।

निजामती सेवामा ज्यालादारीले जति अस्थायीले नगर्ने र अस्थायीले जति काम स्थायीले नगर्ने अनुभव पूर्व प्रशासक कृष्णहरि बास्कोटाले सुनाए। राज्य संयन्त्र बुझेर पनि नबुझेको जसरी बस्दा पीडा हुने काँग्रेस सांसद कान्तिका सेजुवालले सुनाइन्।

अस्थिर राजनीति र कमजोर प्रशासनका कारण विकासको गति ढिलो भएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पुष्प कँडेलले बताए।

आफ्नो विगतसँग तुलना नगरी अरूको तुलना गर्नेहरूमा निराशा देखिएको उनले सुनाए। ‘सोचलाई सकारात्मक बनाउनु पर्छ, आफ्नो विगतसँग तुलना गर्नुपर्छ,’उनले भने,‘प्रतिव्यक्ति आय १४ सय भएको देशका नागरिक ३/४ हजार भन्दा माथि भएका देशसँग तुलना गर्दा निराशा हुने गरेको छ।’

पूर्व सचिव कृष्णहरि बास्कोटाले शासन प्रणालीमा आम जनतालाई सहभागी गराउनु पर्ने बताए। जनतालाई सहभागी नगराउँदा सरकारका राम्रै कामको पनि आलोचना हुने गरेको अनुभव पूर्व सचिव बास्कोटाले सुनाए।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीति बरालिएको बताए। ‘देश खत्तम हुन लागेको होइन,’उनले भने,‘विकासको गति भने पर्याप्त छैन।’
राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वलाई उनले उपलब्धि भनेका छन्। ‘क्रान्तिले ठुलो सपना दियो। डेलीभर दिन सकेन,’ज्ञवालीले भने,‘सार्वजनिक प्रशासन अपडेट हुन सकेको छैन। कुन बेला पाँच बज्ला भनेर हेर्ने संस्कृति कर्मचारीमा छ।’

बिपीमाथि अन्याय


शनिवार नै राजनीतिक विश्लेषक शङ्कर तिवारीको बिपी कोइरालाको जेल डायरी लोकार्पण कार्यक्रममा प्राध्यापक कृष्ण खनालले नेपाल र भारत दुवै देश राष्ट्रवादको जडतामा ग्रसित रहेको बताए।

उनले बिपी कोइरालासँग तुलना गर्ने कोही नेता नभएको जिकिर समेत गरे। ‘नेताहरूको अनुहारमा दाग लागेको छ,नेताहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन,’उनले भने, ‘नेताका छोराछोरी आफन्तसम्म जेल परेका छन्।’

उनले भारतमा तेस्रो कार्यकालका लागि पनि नरेन्द्र मोदी प्रधानमन्त्री बने अवस्था अहिले भन्दा झन् कठिन हुने खनालले टिप्पणी गरे।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बिपीमाथिको ठुलो अन्याय भएको बताए। बिपीलाई महामानव भन्दै गर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरू ओझेलमा परेको महामन्त्री थापाले सुनाए।

उनले महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्ने कुरा बिपीमाथिको ठुलो अन्याय हुने उल्लेख गरे। बिपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गर्नुभएको थापाले उल्लेख गरे।

उनले बिपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बिपी माथिको अन्याय भएको बताए। यसको प्रायश्चितमा काँग्रेसले यस पटक केन्द्रीय कार्यालयमा बिपी महोत्सव आयोजना गरेर बुझाएको उनले बताए।

‘महामानव भन्दै गर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरू खोज्नुपर्छ। महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्ने कुरा बिपीमाथिको ठुलो अन्याय हो,’काँग्रेस महामन्त्री थापाले भने,‘बिपी मान्छे हो, मान्छे भित्रका कुरा हामीले बुझ्नुपर्छ। बिपीले म मान्छे हुँ भनिरहनुभएको छ। मलाई मान्छे जसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ। तर मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छे भन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छौँ, त्यो अन्याय हो।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.