सुन तस्करीमा ६ जनालाई उन्मुक्ति, २९ विरुद्ध मुद्दा दर्ता

सुन तस्करीमा ६ जनालाई उन्मुक्ति, २९ विरुद्ध मुद्दा दर्ता

काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका मध्ये ६ जनाले उन्मुक्ति पाएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीेले मुद्दा चलाउन सिफारिस गरे पनि जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनालाई मुद्दा नचलाउने निर्णय गरेको छ।

पक्राउ परेका मध्ये ट्याक्सी चालक अशोक लामा, राजन कुमार श्रेष्ठ, पुष्पा जोशी, भन्सारका कर्मचारीहरू नरेश तामाङ, कमल परियार र श्रीधर टण्डनमाथि मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ।

सरकारी वकिलको कार्यालयबाट आधिकारिक पत्र आउने बित्तिकै सुन तस्करी प्रकरणमा पक्राउ परेका मध्ये ६ जना रिहा हुने केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

सीआइबीको प्रतिवेदन अनुसार २९ जनालाई मात्रै सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएर आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको करिब ६१ किलो सुन प्रकरणमा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार २९ जनालाई मात्रै मुद्दा दर्ता गरिएको सहन्यायधिवक्ता अच्युतमणि नेउपाने जानकारी दिए।

प्रतिवादीहरूलाई अवैध सुन चोरी पैठारी, सङ्गठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको एकीकृत कसुरतर्फ थप सजाय माग दाबी गरिएको छ। एकीकृत कसुर पुष्टि भएमा सबैभन्दा बढी सजाय हुने कसुरमा थप आधा सजाय समेत जोडिन्छ।

मुद्दा चलाइएका मध्ये माओवादी केन्द्र रोल्पाकी नेतृ अमला रोकासहित तीन जना फरारको सूचीमा छन्। अन्य २६ जना प्रहरीकै नियन्त्रणमा छन्। विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते स्कुटरको ’ब्रेक सू’मा ल्याइएको सुन ६० किलो ७१६ ग्राम सुन समातिएको थियो।

सबै आरोपितमाथि सुन तस्करी गरेकोमा ३ अर्ब ५० करोड २ लाख रुपैयाँ, ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेस भएको अभियोग पत्रमा उल्लेख छ।

प्रहरीले आरोपितमाथि बरामद भएको बाहेक अरू सुन पनि तस्करी गरेको आरोप लगाएको छ। आरोप पत्र अनुसार उनीहरूले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन्। बरामद सुन बाहेक अरू सुनको विषयमा सीआइबीले अनुसन्धान जारी नै राखेको जनाएको छ।

सरकारले सुन तस्करी उद्योग चलाएको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन्। आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन तस्करी गरेको ओलीले आरोप लगाए।

‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा एमाले अध्यक्ष ओलीले सरकारले ‘चिलतिर औँलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्विन्टलका क्विन्टल सुन तस्करी गरेको बताए।

उनले माओवादी नेता कृष्णबहादुर महरा बाबुछोराप्रति सङ्केत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउनका लागि २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेको बताए।

‘साढे नौ केजी सुन पक्राउ पर्‍यो। त्यो कहाँ गयो, के भयो, अत्तोपत्तो छैन र, बजारले त्यसलाई सामान्य रूपमा लिएको छ,’उनले भने,‘को को का बाउ छोरा के, के भयो रे। २९४ पटक सम्पर्क गरेको देखियो, भन्सारमा कुदेर गएको पाइयो। यो छोड्देऊ। यसो यसो भनेको पाइयो । तर पनि केही हुँदैन।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.