कानुन मन्त्रीको छक्क पर्ने बोली, गगनले सुनाए गुटको कुरा

कानुन मन्त्रीको छक्क पर्ने बोली, गगनले सुनाए गुटको कुरा

काठमाडौं : सरकारका मन्त्रीहरू कानुन उल्लङ्घन गरेर फुर्ती लगाउन थालेका छन्। न्यायपरिषद्ले लिएको परीक्षामा फेल भएकालाई न्यायाधीशमा नियुक्ति गर्ने कानुन मन्त्री धनराज गुरुङ फुर्ती लगाउनेमा नम्बर एक बनेका छन्।

२ सय ११ जनाले परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भए पनि कानुन मन्त्री गुरुङले अनुत्तीर्ण भएकै मध्ये २८ जनालाई जिल्ला न्यायाधीशमा नियुक्ति गरेर जग हँसाएका छन्।

फेल भएकालाई भटाभट न्यायाधीश नियुक्त गरेर मन्त्री गुरुङले सबैलाई छक्क पारिदिएका छन्। परीक्षामा सर्वोच्च अदालतका इजलास अधिकृत पारसमणि पोखरेल मात्रै उत्तीर्ण भएका थिए।

तर, कानुन मन्त्री गुरुङ पास भएकाको मात्रै लिस्ट पाएकाले फेल भएका ५/७ जना न्यायाधीश नियुक्त भएको जिकिर गरेका छन्।

नेपाली काँग्रेसबाट मन्त्री बनेका गुरुङले पार्टीको केन्द्रीय समिति बैठकमा कानुनमा फेल भएकालाई नियुक्ति दिन नमिल्ने व्यवस्था नभएको सुनाए। त्यही कुरालाई उरालिरहेको उनले बताए। आफू अहिले यही कुराले हैरान भएको भन्दै मन्त्री गुरुङले केन्द्रीय सदस्यहरूको भावनात्मक सद्भाव लिने प्रयास समेत गरेका छन्।

उनले फेल भएकाको लिस्ट पत्रकारले पाएको तर, आफूले नपाएको पनि सुनाए। ‘फेल भएकालाई पनि नियुक्ति दियो भन्ने रहेछ, अब लोक सेवा आयोगले पास भएकाको नाम मात्रै पठाइदिँदो रैछ, फेल भएकाको नाम पठाउनु भन्दा थाहा हुँदैन भन्दा रैछन्,’मन्त्री गुरुङले काँग्रेस बैठकमा भने,‘फेल भएकाको लिस्ट नपाउने भयौ,तर पत्रकारलाई फेल भएकाको लिस्ट दिने रैछ, पत्रकारलाई दिने न्याय परिषद्लाई नदिँदो रैछ, अनि ५/७ जना फेल भएका पनि पर्दा रहेछन्।’

कानुन मन्त्री गुरुङ नक्कली भुटानी शरणार्थीको धन्धा चलाएर नेपाली नागरिकलाई अनागरिक बनाएका उच्च पदस्थ नेताहरूलाई जेल पठाउने न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवा प्रकरणमा पनि मुछिएका छन्।

उच्च पदस्थ नेताहरूलाई जेल पठाएको रिस राखेर कानुन मन्त्री गुरुङको प्रस्तावमा न्यौपानेको सरुवा गरिएको भन्दै आक्रोश व्यक्त भइरहेको छ।
गुरुङको सचिवालयले भने न्यायाधीश न्यौपानेको रुकुम जिल्ला अदालतमा सरुवा भएको विषयलाई मन्त्रीसँग जोडेर समाचार प्रकाशित भए पनि सत्य नभएको बताएको छ।

नक्कली शरणार्थी प्रकरणमा काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे सहित हाइ प्रोफाइल केन्द्रीय कारागार सुनधाराको जेलबासमा छन्।

सरकारको नेतृत्वमा रोइलो

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुक बाहिर रहेका बेला गठबन्धनको एक घटक काँग्रेस भित्र सरकारको नेतृत्वका विषयमा रोइलो सुरु भएको छ।

मुलुकमा भएका पछिल्ला घटनाक्रमबाट माओवादीप्रति सन्तुष्ट नदेखिएका काँग्रेसका नेताहरूले प्रधानमन्त्री प्रचण्ड नेपाल फर्किए लगत्तै सरकारको नेतृत्व लिने गरी अगाडी बढ्न सभापति शेर बहादुर देउवालाई दबाब नै दिएका छन्।

केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा बोल्ने नेताहरूले अब सरकारको नेतृत्व काँग्रेसले लिनुपर्ने बेला आएको भन्दै सभापति देउवालाई झकझक्याएका हुन्।

अहिलेको मुलुकको सरकारमा पार्टीका मन्त्रीहरूको काम प्रति आलोचना भइरहँदा कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षा मन्त्री पूर्णबहादुर खड्काले अफ्ठेरोलाई समाधान गर्न काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका काँग्रेस उपसभापति पूर्ण बहादुर खड्काले बताए।

‘नेपाललाई दुर्घटनामा जान दिँदैन, काँग्रेसले दुर्घटनाबाट बचाउँछ,जनताको साथ सबै दललाई साथ लिएर जान सक्छौ भन्ने विश्वासका साथ सभापतिको नेतृत्वमा अगाडि बढौँ,’खड्काले भने,‘हामी गर्न सक्छौ,सम्भव छ, पुरा गर्न सक्छौ।’

काँग्रेस महामन्त्री गगन थापाले पार्टी भित्रको गुट अन्त्य नभए विकराल रूप लिने चेतावनी दिए। त्यसका लागि आँखा चिम्लेर सभापति देउवाले गर्ने निर्णयमा जो पनि पर्न सक्छ भन्ने वातावरण बनाउन सुझाव दिए।

‘पार्टीमा गुटबन्दी नगरौँ, गुटबन्दी नगरौँ भन्दै गर्दा सँगैसँगै यो पनि भनौँ न, आँखा चिम्लेर सभापतिले गर्ने निर्णयमा जो पनि पर्न सक्छ भन्ने बनाउन पर्‍यो कि परेन पहिला?,सबै गुटको नेता सभापति भए पछि सबै सभापति कहाँ गैहाल्छन नि,’महामन्त्री थापाले भने,‘तर, एक थरी मान्छे त्यहाँबाट छिर्नै नपाएपछि बाँकी मान्छे त अर्को तिर छिर्ने अवस्था बनिहाल्छ नि।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले सरकारले दिएको आममाफीका विषयमा सरकार चुकेको बताए। राष्ट्रपति जस्तो पदलाई विवादमा ल्याउने काम भएको भन्दै उनले नेतृत्व सचेत हुनुपर्ने उल्लेख गरे।

‘आममाफी दिने सरकारको कामले राष्ट्रपतिलाई आलोचित बनायौ भने त्यसले मानिसहरूमा रहेको वितृष्णलाई बढाएर लैजान्छ,’महामन्त्री शर्माले भने,‘त्यो संस्थाको गरिमा अभिवृद्धि गराउने सन्दर्भमा नेपाली काँग्रेसको गम्भीरता पुग्नुपर्छ र खास गरी सरकारका कार्यवाहक प्रधानमन्त्री र मन्त्रीहरूको ध्यान पुग्नुपर्छ भन्ने लाग्छ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.