नागरिकमा असुरक्षा, प्रहरीले जारी गर्‍यो सर्कुलर

नागरिकमा असुरक्षा, प्रहरीले जारी गर्‍यो सर्कुलर

काठमाडौं : नागरिकमा असुरक्षाको महसुस गराएको छ। नागरिकमा शान्ति सुरक्षाको अनुभूति दिलाउन सरकार असफल देखिएको छ।

हत्या, हिंसा, चोरी लुटपाटका घटना नभएको दिन नै छैन। सोमबार मात्रै पत्रकार कृष्णसिंह धामीमाथि साङ्घातिक आक्रमण भएको छ। पत्रकारहरूलाई दिनदहाडै आक्रमण गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको अनलाइन पत्रकार सङ्घले ठहर गरेको छ।

संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार पूर्ण रूपमा उपयोग गर्दै समाचार सम्प्रेषण गर्न पाउने व्यवस्था मिलाउन सङ्घले सम्पूर्ण सरोकारवालासँग माग गरेको छ। घटनामा जो–कोही संलग्न रहेको भए पनि तत्काल कानुनी दायरामा ल्याई दोषीलाई कडा कारबाहीका लागि सङ्घले ध्यानाकर्षण पनि गराएको छ।

प्रहरीको पहुँचमै रहेको सार्वजनिक कार्यक्रमस्थलमै केही दिन अघि काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि साङ्घातिक आक्रमण भएको थियो। सत्तारुढ काँग्रेसको केन्द्रीय कार्य समिति बैठकमा सुरक्षाको अनुभूति दिलाउन नसकेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना नै भएको छ।

काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव माथि काठमाडौँको मुटु भृकुटीमण्डपको प्रहरीको पहुँचमै रहेको सार्वजनिक कार्यक्रमस्थलमै दिन दहाडै खुकुरी प्रहार गरी साङ्घातिक आक्रमणबाट गम्भीर घाइते बनाइनु, तीनकुनेमा कारखानामा सुतिरहेको अवस्थामा एक्कासि चार चार जनाको ज्यान लिने गरी आक्रमण हुनु लगायतका दर्जनौँ घटनाहरू दिनानुदिन घटीरहनुलाई काँग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ।

काँग्रेस बैठकका निर्णय सार्वजनिक गर्दै जारी गरिएको विज्ञप्तिमा लेखिएको छ,‘नागरिकको शान्ति सुरक्षाको जिम्मा मूलतः सरकारको हो। यी घटनाहरूले वर्तमान शान्ति सुरक्षाको अवस्थालाई उजागर गरेका छन् भने नागरिकमा असुरक्षाको महसुस गराएको छ।’

काँग्रेसले शान्ति सुरक्षाको क्षेत्रमा सरकारलाई नै चुनौती दिने घटनाहरूको गहिरो छानबिन र प्रभावकारी अनुसन्धान गरी दोषीलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। नागरिकहरूमा सुरक्षाको अनुभूति दिलाउनका साथै यस्ता घटना हुन नदिन प्रहरी प्रशासनको प्रभावकारी परिचालनका लागि काँग्रेस बैठकले नेपाल सरकारसँग माग पनि गरेको छ।

सरकारमा रहेको काँग्रेसले सुरक्षाको अनुभूति हुन नसकेको निष्कर्ष निकाल्दा चोरीका घटनाले प्रहरी र पीडित दुवै हैरान भएका छन्। प्रायः दिउँसो तथा रातिको समयमा चोरीका घटना बढ्न थालेको प्रहरीले जनाएको छ।

काठमाडौँको घट्टेकुलो चोक नजिक बस्ने चन्द्रकेशरी बज्राचार्यको घर, भक्तपुरको गठ्ठाघरस्थित अरनिको बस्तीमा बस्ने सबिन निरौलाको कोठा र भक्तपुरको दधिकोट नयाँबस्तीकी सानुमाया चित्रकारको कोठामा चोरी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बज्राचार्यको घरबाट नगद एक लाख ६० हजार, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामान गरी करिब छ लाख ६६ हजार, निरौलाको कोठाबाट ल्यापटप, घडी र नगद गरी करिब एक लाख सात हजार रुपैयाँ तथा चित्रकारको कोठाबाट करिब नौ लाख ६५ हजार सात सय बराबरको धनमाल चोरी भएको छ।

चाडपर्व नजिकिँदै गर्दा चोरी, लुटपाटका घटना बढेका छन्। नेपाल प्रहरीले पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाउन सर्कुलर गरेको जनाएको छ। चाडपर्व सुरु हुनुअघि नै चोरीका घटना बढ्न थाले पछि प्रहरीको केन्द्रीय कार्यालयले सबै प्रदेश प्रहरी कार्यालयसहित सम्बन्धित निकायहरूमा विशेष सुरक्षा योजना बनाएर पठाउन सर्कुलर नै जारी गरेको जनाएको हो।

चाडबाड नजिकिँदै गएकाले चोरी डकैती तथा आपराधिक गतिविधिहरू धेरै हुने हुँदा आवश्यक सावधानी अपनाउन प्रहरीले सबैमा आग्रह पनि गरेको छ। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले सामान्य अवस्थामा भन्दा थप प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्थालाई मजबुत बनाउन सर्कुलर जारी भएको जानकारी दिए।

प्रहरी प्रधान कार्यालयका अनुसार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार आयोजित सुरक्षा सम्बन्धी समसामयिक अन्तरक्रिया कार्यक्रममा सुरक्षा निकायहरूले एक आपसमा समन्वय एवम् सहकार्य गर्दै शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा देखिएका विभिन्न समस्याहरूको समाधानको लागि थप सक्रिय हुनुपर्ने बताए।

गृह सचिव दिनेश भट्टराईले हालको सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरी भरपर्दो सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्था मिलाउन र आम नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन सबैको समन्वय र सहकार्य जरुरी रहेको बताए।

प्रदेशको शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन नागरिकहरूमा सेवा प्रवाहको लागि सहजीकरण गर्दै विकास निर्माणलाई गति दिन र सुशासन कायम गर्न सुरक्षा निकायलाई उनले निर्देशन दिए।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नागरिकको मौलिक हक र अधिकारको संरक्षण गर्न नेपाल प्रहरी सदैव गम्भीर रहेको उल्लेख गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी अहोरात्र सक्रियताका साथ खटिएको बताए।

खुल्ला सिमानाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रणमा सम्पूर्ण सुरक्षा निकायहरूले आपसी समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.