बझाङ भूकम्प : सुरक्षित स्थानमा बस्न आग्रह

बझाङ भूकम्प : सुरक्षित स्थानमा बस्न आग्रह

काठमाडौं : सुदूरपश्चिमको बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ। भूकम्प जाँदा १५ जना घाइते भएका छन्। बझाङमा टिमुर टिप्न गएकी ४० वर्षीया गुनमति धामी भूकम्पपछिको पहिरोमा परेर सम्पर्कविहीन भएकी छन्।

जयपृथ्वी नगरपालिका–११ स्थित ओखरमा टिमुर टिप्न गएकी धामी सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले जानकारी दिए। भूकम्पले बझाङसहित विभिन्न जिल्लामा घर तथा विद्यालय भवनहरूमा क्षति पुर्‍याएको छ।

बझाङको तलकोट र चैनपुर आसपास क्षेत्र केन्द्रबिन्दु बनाएर गएको भूकम्पले केही संरचनामा क्षति पुर्‍याएको छ। भूकम्पको केन्द्रबिन्दु रहेको बझाङमा १२ जना घाइते भएका छन्। ३१ वटा घर तथा सार्वजनिक संरचनामा क्षति पुगेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए।

भूकम्पको झड्का महसुस भएपछि बझाङ जिल्ला अस्पतालले बिरामीलाई भवनको बाहिर राखेर उपचार सेवा दिएको थियो। भूकम्प गएपछि गर्भवती महिलालाई अस्पतालबाट निकालेर बाहिर प्राङ्गणमा राखी प्रसूति गराइएको अस्पतालले जनाएको छ।

जयपृथ्वी राजमार्गका २ ठाउँमा पहिरो गएर सडकसमेत अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। भूकम्पपछि पटक पटक परकम्प जाँदा स्थानीय त्रसित बनेका छन्। स्थानीय प्रशासनले राति सुरक्षित स्थानमा बस्न सबैमा आग्रह गरेको जनाएको छ।

भूकम्पका कारण बैतडीमा दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा सिगास गाउँपालिका २ धौलाडकी ३५ वर्षीया कलशा धामी र डिलाशैनी गाउँपालिका २ रोपनबगडकी १० वर्षीया निरा भण्डारी रहेकी निमित्त प्रमुख जिल्ला अधिकारी शङ्कर बहादुर बोहराले जानकारी दिए।

भूकम्पका कारण अछाममा एक विद्यार्थी घाइते भएका छन्। केही घर र विद्यालय भवनमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिए। डोटीमा पनि केही घर चर्किएका छन्।

डडेलधुरा जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाको एक, गन्यापधुरा गाउँपालिकाका दुई र नवदुर्गा गाउँपालिकाका चार वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशमा समेत महसुस गरिएको थियो।

धनगढीमा पनि भूकम्पको धक्का महसुस भएपछि घर तथा कार्यालयभित्र बसेका धेरै मानिस घर बाहिर निक्लिएका थिए। धनगढी उपमहानगरपालिकाको स्थानीय आपत्कालीन सञ्चालन केन्द्रले सूचना सार्वजनिक गर्दै भूकम्पको थप परकम्प आउन सक्ने भएकाले नागरिकलाई सुरक्षित रहन सचेत गराएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो भने त्यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

त्यसपछि पनि ४ रेक्टर स्केल माथिका चार वटा परकम्प गइसकेको छ। दिउँसो ३ बजेर १३ मिनेटमा चैनपुर केन्द्र भएर ५.१ रेक्टर स्केलको परकम्प गएको छ। त्यसपछि ३ ः४५ बजे ४.१, ४ः२८ मा ४.१ र ४ः३१ मा ४.३ रेक्टर स्केलको परकम्प गएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.