भेपमा सुन तस्करी : महरालाई उन्मुक्ति

भेपमा सुन तस्करी : महरालाई उन्मुक्ति

काठमाडौं : ६१ किलो सुन तस्करी प्रकरणका २५ जना जेल चलान भए पछि इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याएको सुन प्रकरणको फाइल खुलेको छ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्वसभामुख कृष्णबहादुर महराको समेत नाम मुछिएको भेप काण्डको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पूर्वसभामुख महरालाई भने उन्मुक्ति दिएको छ। उनका छोरा राहुल सहित चार जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको सीआइबीले जनाएको छ। सीआइबीले कृष्णबहादुरलाई भने प्रतिवादी नबनाएको जनाएको छ।

बयानका क्रममा महराले आफूले तत्कालीन भन्सार प्रमुखलाई फोन मात्रै गरेको जिकिर गरेका छन्। चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको स्वीकार गर्दै पूर्वसभामुख महराले वाङले आफूलाई फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएको बयान दिएका छन्।

तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई पहिलेदेखि चिनेको हुनाले के कसो भएको हो, कानुन बमोजिम के गर्न मिल्छ हेरि दिनु होला भनी फोन गरेको महराले कागजी बयान गरेका हुन्। भेप काण्डमा संलग्नता अस्वीकार गरेका महराले उन्मुक्ति पाएका हुन्।

तर, उनका छोरा राहुल, लोकेन्द्रकुमार पौडेल र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङसहित चार जनालाई प्रतिवादी बनाउन सीआइबीले राय दिएको छ।

प्रतिवादी बनाउन राय दिइएका एक जना अझै फरार छन्। चिनियाँ सुन तस्कर दाओजिन वाङसहित ६ जनालाई पछि खुलेको अवस्थामा प्रतिवादी बनाउन राय दिइएको सीआइबीले जनाएको छ।

भन्सारसम्बन्धी कसुर र सङ्गठित अपराधमा सीआइबीले प्रतिवादीहरूबाट ८ करोड ५७ लाख बिगो कायम गर्नुपर्ने राय दिएको छ।

६१ किलो सुन काण्ड : २५ आरोपी केन्द्रीय कारागार चलान

सीआइबीको अनुसन्धान प्रतिवेदन अध्ययन गरी तीन चार दिन भित्रैमा मुद्दा दायर गरिने सरकारी वकिल कार्यालय प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

सीआइबीले भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा राहुल महरालाई भदौ १३ गते पक्राउ गरेको थियो। यसै प्रकरणमा नाम मुछिएपछि सीआइबीले पूर्वसभामुख महराको पनि बयान लिएको थियो।

६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २६ मध्ये २५ जना पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेबल चलान भएका छन्। एक जनालाई भने काठमाडौं जिल्ला अदालतले धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.