इजरायल आक्रमण : राष्ट्रिय शोक घोषणा, परिवारलाई १० लाख रुपैयाँ

इजरायल आक्रमण : राष्ट्रिय शोक घोषणा, परिवारलाई १० लाख रुपैयाँ

काठमाडौं : सरकारले इजरायलमा मृत्यु भएका नेपालीका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने भएको छ।

मङ्गलवार राष्ट्रिय शोक घोषणा गर्दै आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई प्रति परिवार १०/१० लाख राहत दिने सोमबार बसेको मन्त्रिपरिषद्को विशेष बैठकले निर्णय गरेको हो।

आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्मानमा शोक व्यक्त गर्दै मङ्गलवार देशभरका सबै सरकारी कार्यालय, विदेश स्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन।

इजरायलमा बसिरहेका अन्य नेपाली फर्किन चाहेमा फर्कन सक्ने गरी व्यवस्था गरिएको उनले बताइन। प्रवक्ता शर्माका अनुसार इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहनेको विवरण अनलाइन प्रणालीमार्फत सङ्कलन गरी परराष्ट्र मन्त्रालयमा पठाउने छ।

स्वदेश फर्किन चाहने इजरायलमा रहेका नेपालीलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल दिन अनुरोध गर्ने, नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।

इजरायलमा १० नेपालीको मृत्यु (नामावली सहित)

इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको उद्धार सुरु गरिएको छ। हमास समूहको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो।

शनिवारदेखि बङ्करभित्र रहेका उनीहरूलाई इजरायली आर्मी क्याम्पभित्र लगेर राखिएको छ। सरकारले इजरायली पक्षसँग कुरा गरी युद्ध क्षेत्रमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लग्न आग्रह गरेको थियो। सोही अनुसार उनीहरूलाई सुरक्षित स्थानमा लगिएको हो।

विद्यार्थी टोलीमध्येका एक लुइस रिजालले फेसबुकमा लाइभ गर्दै अहिले आफूहरू सुरक्षित स्थानमा आएको र त्यहाँ द्वन्द्वको सम्भावना नभएको जानकारी गराएका छन्। उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जनाको टोली लर्न एन्ड अर्न कार्यक्रममा गएका हुन्।

उनीहरूकै समूहका १० जनाको आक्रमणमा मृत्यु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको बङ्करभित्र रहेका विद्यार्थीसँग संवाद गर्दै जतिसक्दो छिटो स्थानान्तरणको लागि प्रयास भइरहेकाले नआत्तिन र सुरक्षित रहन आग्रह गरेका थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.