इजरायलमा मारिएका नेपालीको शव यथाशीघ्र नेपाल ल्याइने

इजरायलमा मारिएका नेपालीको शव यथाशीघ्र नेपाल ल्याइने

काठमाडौं : इजरायलमा जारी युद्धमा मृत्युवरण गरेका र घाइते तथा उद्धारमा भइरहेको प्रयासका विषयमा सही सूचना दिने गरी व्यवस्था मिलाउन सरकारलाई दलहरूले सुझाव दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको सर्वदलीय बैठकमा दलहरूले विभिन्न सञ्चारमा माध्यमहरूमा फरक फरक त्रासदीपूर्ण समाचारहरू सम्प्रेषण भएकोमा ध्यानाकर्षण गराउँदै इजरायल घटनामा सिङ्गो पार्टी, देश एकै ठाउँमा रहेको बताएका नेकपा माओवादी केन्द्रमा सचेतक हितराज पाण्डेले जानकारी दिए।

बैठकले मृतकका शवलाई यथाशीघ्र नेपाल ल्याउने, असुरक्षित स्थानमा रहेकाको तत्काल उद्धार गर्ने विषयमा छलफल भएको काँग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौँको माइतीघरमा दीप प्रज्वलन समेत गरिएको छ। इजरायलमा हमासले गरेको आक्रमणमा ९ जना अमेरिकी, १० जना बेलायती र १२ जना थाई नागरिक पनि मारिएका छन्।

इजरायली सेनाले चितवनका बिभुषा अधिकारी, श्रेया तिवारी, कैलालीका रचना चौधरी, आशा मिश्र, सुष्मा रेग्मी र बिपना जोशीको उद्धार गरेको छ। यस्तै दाङका नबिन घिमिरे, बादल सुबेदी, बिपिन सुबेदी, कैलालीका बिशाल पाण्डे, आवाज भट्टराई, उपेन्द्र जोशी, रोहित नायक, अरबिन कुमार चौधरी, गणेश साउद र ओम प्रकाश चौधरीको उद्धार गरिएको छ।

बर्दियाका लुइस रिजाल, गुल्मीका मनिष खनाल, पर्वतका नारायण भुसाल, कञ्चनपुरका गणेश जोशी, सुर्खेतका प्रवीण बिसी, बैतडीका प्रमोद भट्ट, सिन्धुलीका अनुपम अधिकारी र रौतहटका नीरज कुशवाहको पनि उद्धार गरिएको छ।

कञ्चनपुरका नितिन भण्डारी, डडेलधुराका लोकेन्द्र विष्ट, बाजुराका रमेश बहादुर कार्कीको पनि उद्धार गरिएको छ। लर्न एन्ड अर्न कार्यक्रममा इजरायल पुगेका ४९ जना मध्ये १० जनाको मृत्यु भएको थियो।

इजरायल आक्रमण : राष्ट्रिय शोक घोषणा, परिवारलाई १० लाख रुपैयाँ

इजरायल र प्यालेस्टाईनबीच अहिले पनि दोहोरो भिडन्त भइरहेका छन्। अहिले सम्म आक्रमणका क्रममा १३ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले हमास विरुद्धको आक्रमणमा थप ३ लाख सेनालाई परिचालन गरिएको बताएका छन्।

इजरायली रक्षा मन्त्री योभ गालान्टले गाजापट्टीलाई पूर्ण रूपमा घेराबन्दी गर्ने आदेश दिए लगत्तै विद्युत्, खाद्यान्न र इन्धनको आपूर्ति बन्द गरिएको छ। गाजाको सबैभन्दा भिडभाड हुने शिविर मध्येको एक जबलिया शिविरमा इजरायलले गरेको आक्रमणमा ५० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ८ हजार मानिस घाइते भएका छन्।

इजरायलमा आक्रमण चर्कँदै गएपछि युरोपेली सङ्घ ईयुले आकस्मिक बैठक बोलाएको छ। ईयूले मङ्गलवार बस्ने गरी आफ्ना विदेश मन्त्रीहरूको आपत्कालीन बैठक बोलाएको युरोपेली सङ्घका प्रतिनिधि जोसेफ बोरेलले जानकारी दिए।

हमासका नेता मोहम्मद डेफले सबै नागरिक, बालबालिकाहरूलाई सम्मान गर्न र लडाइँमा प्रत्यक्ष रूपमा संलग्न नभएका कसैलाई पनि नमार्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायल सरकारले गाजामा बिजुली, इन्धन र खाद्यान्नको आपूर्ति पूर्ण रूपमा रोकेको बताएको छ।

सिक्किममा १० नेपाली बेपत्ता

सिक्किमको टिस्टा नदीमा बाढी आउँदा इलामका १० जना सम्पर्क विहीन भएका छन्। इलाम नगरपालिका ९ का १० जना बासिन्दा गत असोज १६ गतेदेखि सम्पर्क विहीन भएका हुन्।

कामको सिलसिलामा सिक्किम पुगेकाहरूसँग हालसम्म सम्पर्क हुन नसकेको वडा नम्बर ९ का वडाध्यक्ष गोपाल चौहानले बताए। आफैँले चिनेका ६ जना सम्पर्कमा नरहेका र उनीहरूसँगै अरू नेपालीहरू पनि हुनसक्ने उनले बताए।

सम्पर्कविहीन नेपालीहरूको अवस्था पत्ता लगाउन मङ्गलवार बिहान सरोकारवालाहरूको बैठक बोलाइएको छ। इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सेन बहादुर कार्की र लाक्पा शेर्पा बेपत्ता भएको अनौपचारिक सूचना आएको बताए।

सम्पर्कविहीन भएको मौखिक सूचना आए पनि सिक्किम प्रशासनबाट उनीहरूबारे जानकारी पाउन नसकिएको उनले बताए।

टिस्टा नदिमा बाढी आएपछि त्यहाँ टेलिफोन र विद्युत् समेत अवरुद्ध हुँदा सिक्किममा सम्पर्क स्थापित हुन नसकेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए। असोज १६ गते राति सिक्किमको लाचेन उपत्यकास्थित टिस्टामा बाढी आएको थियो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.