निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सङ्घीय संसद्लाई राष्ट्रसङ्घ महासचिवले सम्बोधन गर्ने

सङ्घीय संसद्लाई राष्ट्रसङ्घ महासचिवले सम्बोधन गर्ने

301
SHARES

काठमाडौं : नेपालको सङ्घीय संसद्मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने भएका छन्। सरकारको निमन्त्रणामा केही दिनमा काठमाडौं आउन लागेका गुटेरेसले सङ्घीय संसद्लाई असोज २७ गते दिउँसो ४ बजे सम्बोधन गर्ने भएका हुन्।

गुटेरेसको सम्बोधनबारे सरकारले सङ्घीय संसद् सचिवालयलाई औपचारिक जानकारी भने गराइसकेको छैन। अनौपचारिक रूपमा कुरा आएको संसद् सचिवालयले जनाएको छ।

गुटेरेसले असोज २७ गते गर्ने सम्बोधनको तयारीबारे सत्तारुढ नेकपा माओवादी केन्द्रले भने पार्टीमा छलफल गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणका क्रममा महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएको माओवादी संसदीय दलका सचेतक हितराज पाण्डेले जानकारी दिए। उनले संसद्मा महासचिव गुटेरेसको सम्बोधन तय भएको बताए।

संयुक्त राष्ट्रसङ्घका महासचिवको भ्रमण निकै महत्त्वपूर्ण हुने गरेको छ। नेपाल विश्वभरि शान्ति सैनिक पठाउने दोस्रो ठुलो देश हो। अहिले नेपालले शान्ति सेनाका रूपमा विभिन्न देशमा आफ्ना ६ हजार २९९ सुरक्षाकर्मी खटाएको छ।

धेरै शान्ति सैनिक पठाउनेमा बङ्गलादेश पहिलो र भारत तेस्रो स्थानमा छन्। सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य बनेको नेपालमा अहिलेसम्म ६ महासचिवले भ्रमण गरेका छन्।

सन् १९५९ को मार्चमा तात्कालिक महासचिव ड्याग ह्यामरशोल्डले नेपाल भ्रमण गरेका थिए भने सन् १९६७ को अप्रिलमा महासचिव ऊ थान्तले नेपाल भ्रमण गरेका थिए। सन् १९८१ को फेब्रुअरीमा कुर्त वाल्डहाइमले राजा वीरेन्द्रको पालामा नेपाल भ्रमण गरे।

सन् १९८९ को मार्चमा महासचिव हाभियर पेरेज द कोयारले पनि नेपाल भ्रमण गरे। सन् २००१ को मार्चमा महासचिव कोफी अन्नान र सन् २००८ को अक्टोबरमा महासचिव बान कि रुन काठमाडौं आएका थिए।

समाचार शेयर गर्नुहोस्
301
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.