इजरायलमा मृत्यु भएका नेपालीको शव तत्काल नल्याइने

इजरायलमा मृत्यु भएका नेपालीको शव तत्काल नल्याइने

काठमाडौं : इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ। परराष्ट्र मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरेर केही प्राविधिक कठिनाइ र प्रोटोकलको कारण इजरायल सरकारले हस्तान्तरण गरेपछि मात्रै शव नेपाल ल्याइने बताएको हो।

मृतकका शवहरू इजरायल सरकारले सुरक्षित रूपमा राखेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन। हमासले इजरायलमा गरेको आक्रमणमा १० जनाको मृत्यु भएको थियो। उनीहरूको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको प्रवक्ता लम्सालले बताइन।

इजरायलमा नेपालको नियमित उडान पनि भएकाले आउन इच्छुक नेपालीहरूका लागि त्यहाँस्थित नेपाली दूतावासले सहजीकरण गर्ने प्रवक्ता लम्सालले बताइन।

‘अज्ञात अवस्थामा रहनु भएका विपिन जोशीको हकमा इजरायल सरकारको समन्वयमा निरन्तर रूपमा उच्च प्राथमिकताका साथ खोजी गर्ने कार्य जारी छ,’उनले भनिन्,‘सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रूपमा राखिएको छ। मृतकहरूको शव यथाशीघ्र छिटो नेपाल ल्याउने गरी हामीले समन्वय र सहकार्य गरिरहेका छौँ।’

प्रवक्ता लम्सालले घाइते अवस्थामा रहेका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएको पनि जानकारी दिइन। अन्य २ जनाको भने उपचार जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘घाइते ४ जना मध्ये २ जना भर्खर अस्पतालबाट डिस्चार्ज हुनु भएको भन्ने प्रारम्भिक जानकारी छ हामीलाई। २ जनाको उपचार भइरहेको छ,’उनले भनिन्,‘बेपत्ता एक जनाको खोजीका लागि सबै संयन्त्रलाई परिचालन गरिएको छ। खोजी कार्य जारी छ।’

उद्धार गर्न परराष्ट्रमन्त्री इजरायल जाँदै

उद्धारको हार गुहार गरिरहेका नेपाली नागरिक लिन राति नेपाल एयरलाइन्सको विमान इजरायल जाँदै छ। सरकार भाषणबाजी र बैठकमा केन्द्रित हुँदा उद्धार हुन नसकेको गुनासो गरेका नेपाली नागरिक लिन राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल उड्न लागेको हो।

हमासको आक्रमणपछि इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्ने निर्णय बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ। उद्धारको पर्खाइमा रहेका नेपाली लिन मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउने निर्णय गरेको छ।

यदि इजरायलबाट कुनै पनि नेपाली आफैँ जहाजमा चढेर आउन चाहमा त्यस्ता व्यक्तिको भाडा समेत सरकारले बेहोर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए।

नेपाल एयरलाइन्सको जहाज दुबई हुँदै इजरायल जाने छ। इजरायल पुगेको तीन घण्टाभित्र जहाजले त्यहाँ रहेका नेपालीलाई लिएर फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। इजरायलमा विभिन्न माध्यमबाट गएका झन्डै ४५ सय नेपाली मध्ये २८८ जना नेपाल फर्कन चाहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले २५० सिट क्षमताको विमान इजरायल जान लागेको बताउँदै बेपत्ता एक नेपालीको खोजी तीव्र पारिएको जानकारी दिइन।

‘२८८ जना भन्दा बढिले नेपाल फर्कन चाहनुभएको छ। नेपाल फर्कन चाहनु हुनेहरूका लागि नेपाल एयरलाइन्सको २५० सिट क्षमता भएको बाईडबडी विमान राति नै इजरायल प्रस्थान गर्दै छ,’उनले भनिन्,‘इजरायलबाट नियमित वायुसेवा पनि चलिरहेकाले फर्कन इच्छुक नेपालीहरूलाई नेपाली दूतावासले सहजीकरण गर्ने ब्यहोरा पनि म यहाँहरूलाई अवगत गराउन चाहन्छु।’

इजरायलमा १० नेपालीको मृत्यु (नामावली सहित)

इजरायलमा मारिएका नेपालीको शव यथाशीघ्र नेपाल ल्याइने

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.