इजरायलबाट २५४ नेपाली फिर्ता

इजरायलबाट २५४ नेपाली फिर्ता

काठमाडौं : नेपाल सरकारले इजरायलमा फसेका २५४ जना नेपालीलाई उद्धार गरेर स्वदेश ल्याएको छ। उनीहरूलाई उद्धार गरेर नेपाल वायुसेवा निगमको वाइडवडी विमानबाट नेपाल ल्याइएको छ।

इजरायल र हमासको युद्धमा परेका नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारी इजरायल गएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्किन चाहने ५०३ मध्ये २५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिटै ल्याउने जानकारी दिए।

‘इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्किन चाहने नेपालीलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराउनुभएको छ’, उनले भने, ‘५०३ जनाले नेपाल फर्कन अनुरोध गरेकोमा २५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ।’

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए।

इजरायलमा मृत्यु भएका नेपालीको शव तत्काल नल्याइने

चार नेपाली घाइते भएकोमा एक जना उपचारपछि सँगै स्वदेश फर्किएको, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए। ‘आक्रमणमा परी सम्पर्कविहीन विपिन जोशीको खोजी निरन्तर जारी छ’, उनले भने, ‘थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौँ।’

इजरायलमाथि हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले बताए।

कानुनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको मन्त्री साउदले बताए।

हाल तेल अभिवबाट नियमित रूपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यो पटक छुटेकालाई सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उनको भनाइ छ। इजरायलमा रहेका नेपालीलाई इजरायल सरकारले सुरक्षित स्थानमा राखिएको जानकारी दिएको उनले बताए।

इजरायलमा १० नेपालीको मृत्यु (नामावली सहित)

इजरायलमा मारिएका नेपालीको शव यथाशीघ्र नेपाल ल्याइने

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.