एनआरएनएको अध्यक्षमा ३ जनाको उम्मेदवारी दर्ता

एनआरएनएको अध्यक्षमा ३ जनाको उम्मेदवारी दर्ता

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ। आइतबारसम्म अध्यक्ष पदका लागि ३ जनाले मनोनयन गराएका एनआरएनए निर्वाचन समितिले जनाएको छ।

यसअघि ५ जनाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए। उम्मेदवारी घोषणा गरेका मध्ये महेश श्रेष्ठ, आर के शर्मा र बद्री केसीले पाँच/पाँच लाख रुपैयाँ मनोनयन शुल्क तिरेर उम्मेदवारी दर्ता गराएका छन्।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी रबिना थापाको मनोनयन दर्ता भएको छैन। नेपाली समय अनुसार सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय छ। सबै पदहरूमा गरी हालसम्म ५ सय भन्दा बढीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

एनआरएनएको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौँमा हुँदै छ। कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका रहेको एनआरएनएले जनाएको छ।

एनआरएनएले पहिलो पटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको छ। अनलाइन मतदान हुने भएकाले मतदाताले मतदान गर्नैका लागि महाधिवेशनस्थल नेपालमा आउनु नपर्ने भएको छ।

तर उम्मेदवारले उम्मेदवारी दिन र उम्मेदवारका प्रस्तावक र समर्थकले भने सनाखतका लागि महाधिवेशन स्थल नेपालमा अनिवार्य आउनुपर्ने व्यवस्था रहेको छ।

असोज २९ गतेसम्म उम्मेदवारले प्रस्तावक र समर्थकसहितको सनाखत महाधिवेशन स्थलमै उपस्थित भएर गरिसक्नुपर्नेछ। महाधिवेशनबाट कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन हुनेछन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.