काँग्रेसको कोशी विद्रोहले प्रचण्डलाई छटपटी

काँग्रेसको कोशी विद्रोहले प्रचण्डलाई छटपटी

काठमाडौं : कोशी प्रदेशमा काँग्रेसका विद्रोही केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भयसँगै सत्ता गठबन्धनमा गडबडको सङ्केत देखिएको छ। गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ।

पार्टीमा विद्रोह गरेर एमालेका ३९ जना सांसदको समर्थनमा काँग्रेस नेता कार्की मुख्यमन्त्री बनेपछि काँग्रेसको संस्थापन र इतरसमुहबीचको विवाद चर्किएको हो। काँग्रेसको इतर समूहले कोशीमा भएको राजनीतिक दुर्घटनाको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएको छ।

कोशी प्रदेशको घटनाक्रमका बारेमा सभापति देउवाले पार्टीका उपसभापति र महामन्त्रीसँग छलफल गरेका छन्। देउवासँगको छलफल पछि महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्रै विद्रोह भइसकेपछि कागजको चिर्कटोमा गरेको हस्ताक्षरको कारण माग गरेका छन्।

गठबन्धन भित्र देखिएको असन्तुष्टिकाबीच मुख्यमन्त्री कार्कीले बुधवार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। आइतबार मात्रै शपथ लिएका मुख्यमन्त्री कार्कीले हतार हतार आउँदो बुधवार नै विश्वासको मत लिने भएका हुन्। उनले एमालेका एक जना र काँग्रेसका एक जनालाई मन्त्रीमा नियुक्ति दिइसकेका छन्। एमाले सत्तारुढ बनेको छ।

प्रधानमन्त्री प्रचण्डको पद धरापमा पर्न नदिन कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेको नेकपा माओवादी केन्द्रले पनि कार्कीलाई नै विश्वासको मत दिने सङ्केत गरेको छ। पार्टीले आधिकारिक रूपमा निर्णय नगरे पनि कार्कीलाई पार्टीबाट विश्वासको मत दिने तयारी भइरहेको माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले बताए।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक कार्तिक १ गतेलाई बोलाइएको छ। कार्कीले विश्वासको मत लिन नसके कोशी प्रदेश सभा मध्यावधि चुनावमा जाने छ।

प्रचण्डलाई छटपटी

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पद जोगाउने ध्याउन्नमा लागेका छन्। कोशी प्रदेशमा काँग्रेसका विद्रोही नेता मुख्यमन्त्रीमा नियुक्त भए पछि प्रचण्डलाई आफ्नो प्रधानमन्त्री पद खुस्किने त्रास देखिएको छ।

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाको सन्देश सभा सकिएपछि सडक सङ्घर्ष चर्काउने चेतावनी नै दिएका छन्। छिट्टै मोर्चाको बैठक बसेर समीक्षा गरी सङ्घर्षका लागि जनपरिचालन गर्ने चेतावनी प्रधानमन्त्री प्रचण्डले दिएका हुन्।

काँग्रेससँगको सहकार्य लामो समय नजाने सङ्केत पाए पछि प्रधानमन्त्री प्रचण्डले काँग्रेस पार्टी हो कि, मञ्च हो कि, मोर्चा हो कि बुझिनसक्नु भएको बताए। सरकारको नेतृत्व गरेका प्रचण्डले लाखौँ जनता सडकमा उतार्न जरुरी रहेको बताए।

प्रचण्डलाई प्रधानमन्त्री पद जाने चिन्ताले सताउँदा काँग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का नेपाली सेनामा पूर्वलडाकुबाट सेवा प्रवेश गरेका सहायक रथी यमबहादुर अधिकारीको अवधि थप्ने विवादमा परेका छन्। उपप्रधानमन्त्री खड्का अधिकारीलाई प्रधानसेनापति बनाउने योजना अनुसार म्याद नथपिएको प्रष्टीकरण दिन थालेका छन्।

काँग्रेस र एमालेको सत्ता सहकार्य सुरु

अर्का उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ धार्मिक सामाजिक सद्भाव खलबलाउने क्रियाकलापविरुद्ध गम्भीर रूपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएर चीन गएका छन्।

आइतबार मात्रै विदेश भ्रमणबाट फर्किएका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भने अर्थतन्त्र लयमा फर्काउन हम्मेहम्मे परेको छ। उनले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने बताएका छन्।

प्रधानमन्त्रीदेखि सरकारका मन्त्रीहरू भाषणबाजी र विदेश भ्रमणमा मात्रै केन्द्रित भएको मौकामा व्यापारीहरूले बजार भाउ बढाएका छन्। नियमन गर्ने निकाय निदाएका छन्।

सरकारकै मन्त्रीले किसानसँग खरिद गरेको दूधको भुक्तानी नरोक्न भन्नु परेको छ। कृषि तथा पशुपक्षी मन्त्री वेदुराम भुसालले एक महिना भन्दा बढी दूध किसानको भुक्तानी नरोक्न निर्देशन नै दिएको बताए।

सरकारका मन्त्रीहरू जनताको सेवामा भन्दा व्यापारी, व्यवसायीको फाइदाका लागि काम गरिरहेका छन्। दसैँमा घर फर्कनेहरूले यातायात र हवाई भाडा अचाक्ली महँगो भएको गुनासो गरिरहँदा पर्यटन मन्त्री सुदन किराती भाडा बढ्नु जायज भएको तर्क गरिरहेका छन्।

इजरायलबाट ५ जनाको शव ल्याउने पहल

जनताले चयनको सास फेर्ने गरी सरकारले काम गर्न सकेको छैन। देशभित्र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर दिलाउन नसकेको सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शव समेत स्वदेश ल्याउन सकेको छैन।

२५४ जना नेपालीको हवाई उद्धार गरेको सरकारले इजरायलमा भएको युद्धका क्रममा मारिएका १० नेपाली मध्ये पाँच नेपालीको शव ल्याउन पहल सुरु भएको जनाएको छ।

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको सरकारी प्रक्रिया पुरा भएपछि तत्कालै मृत्यु भएका नेपालीको शव नेपाल ल्याउने बताए।

हमाससंगको युद्धका क्रममा मारिएका मध्ये नारायण प्रसाद न्यौपाने, लोकेन्द्र सिं धामी, गणेश कुमार नेपाली, दिपेश राज विष्ट र आशिष् चौधरीको शव इजरायल सरकारले तेल अभिव स्थित नेपाली राजदूतावासमा बुझाइसकेको छ।

युद्धका कारण देखाउँदै वैदेशिक रोजगार विभागले हाललाई इजरायलको श्रम स्वीकृति नदिने निर्णय समेत गरेको छ। विभागले श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेपछि इजरायलबाट बिदामा फर्किएकाहरू पनि नेपालमै रहने भएका छन्।

रविलाई ओलीको कटाक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेको अभिव्यक्ति विरुद्ध कटाक्ष गरेका छन्। केही दिनअघि कोशी प्रदेशमा भएको मुख्यमन्त्री नियुक्तिको विषयमा सबै पुराना दल सत्ताका लागि लुछाचुँडीमा रहेको भन्दै एउटै चुनाव चिन्ह लिएर भोट माग्न सुझाएपछि ओलीले त्यसको जवाफ फर्काएका छन्।

काठमाडौँमा आयोजित कार्यक्रममा ओलीले लामिछानेलाई बिचराको संज्ञा दिँदै पोहोर खुलेको लामिछानेको पार्टी पनि पुरानो भइसकेको टिप्पणी गरे।
ओलीले एमाले अहिले मिसन-२०८४ मा रहेको बताउँदै एकल बहुमतको सरकार बनाउने दाबी समेत गरे।

उनले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताए। अहिले अनेक प्रकारका उद्देश्य र तत्त्व सलबलाइरहेको उनले बताए। आफूलाई अद्यावधिक नगरेका कारण काँग्रेस बुढो भएको ओलीले टिप्पणी गरे। उनले काँग्रेसको कुनै नीति र विधि नरहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताएका छन्। पार्टीको नीति मन्थन कार्यक्रममा उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.