एनआरएनएको अध्यक्षमा चार जना भिड्ने

एनआरएनएको अध्यक्षमा चार जना भिड्ने

काठमाडौं : गैरआवासीय नेपालीहरूले प्राप्त गर्ने गैरआवासीय नेपाली नागरिकता वितरण कार्य मङ्गलवारबाट सुरु हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलवार बिहान ७ बजे गैरआवासीय नेपाली नागरिकता वितरण कार्यको शुभारम्भ गर्नुहुने उनको निजी सचिवालयले जनाएको छ।

गैरआवासीय नेपाली सङ्घ एनआरएनएको ११ औँ महाधिवेशन सुरु हुने दिन मङ्गलवार नै प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली नागरिक वितरण कार्यको शुभारम्भ गर्न लागेका हुन्। पहिलो गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्री निवास बालुवाटारबाट वितरण हुने भएको हो।

प्रधानमन्त्री प्रचण्डले विदेशमा भएका लाखौँ नेपालीले मतदान नगर्दा मतदान फर्जी हुन थालेको पनि बताएका छन्। जनप्रगतिशील मञ्च आबद्ध गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँग भेटघाट तथा अन्तर्राष्ट्रिय कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले फोनका भरमा गलत शक्तिले भोट पाएको उल्लेख गरे।

अध्यक्षमा चार जनाको उम्मेदवारी

एनआरएनएको नयाँ अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। एनआरएनएको नयाँ नेतृत्वका लागि हालका अध्यक्षसहित उपाध्यक्ष प्रतिस्पर्धामा उत्रिएका हुन्। अध्यक्षमा डा. बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाको उम्मेदवारी दर्ता भएको एनआरएनएको निर्वाचन समितिले बताएको छ।

केसी एनआरएनएको कार्यकारी अध्यक्ष छन् भने थापा ३ अध्यक्ष मध्ये एक छिन्। श्रेष्ठ र शर्मा एनआरएनएका हालका उपाध्यक्ष हुन्। महाधिवेशनबाट कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन हुनेछन्।

चार दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन मङ्गलवार बिहान ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम छ। समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहुने एनआरएनएले जनाएको छ।

एनआरएनएका प्रवक्ता सोम सापकोटाले संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था गरिएको बताएका छन्। निर्वाचनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदै छन्।

मतदान स्थलमै उपस्थित भएका मतदाताहरूका लागि अनलाइन भोटिङको व्यवस्था गरिएको छ। महाधिवेशनकैबीच विशेष सत्रको आयोजनासमेत गरिएको सापकोटाले बताए। एनआरएनएले ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आयोजना गर्ने जनाएको छ।

अक्टोबर १७ र १८ तारिखमा विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिकता ऐन र मताधिकार सम्बन्धमा नेपाल सरकार र सरोकारवालासहितको विशेष सत्रको आयोजना हुनेछ।

१९ अक्टोबर २०२३ मा सङ्घको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिनेछ। सङ्घको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन २० तारिख साँझ ५ बजे समापन हुनेछ।

ब्रिटिस गोर्खाले भण्डाफोर गर्ने

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन (बिगेसो)ले गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धिबारे अदालतको आदेश कार्यान्वयन नगरे तिहारपछि भण्डाफोर गर्ने चेतावनी दिएको छ।

सर्वोच्च अदालतले अन्यायमा पर्दै आएका ब्रिटिस गोर्खा सैनिकहरूको पक्षमा गरेको फैसलालाई सरकारले कार्यान्वयन नगरे तिहारपछि भण्डाफोर अभियान चाल्ने बिगेसोले चेतावनी दिएको हो।

काठमाडौँमा बिगेसो सिंगापुर विभागले पत्रकार सम्मेलन गरी २९ वर्षदेखि न्यायका निम्ति लड्दै आएको र अदालतले न्याय दिएकोप्रति आस्था र सम्मान बढेको समेत बताएको छ।

गत वर्ष माघ २४ गते फैसला भई नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएको र यसलाई कार्यान्वयन गर्न अझै थप सङ्घर्ष गर्न जरुरी देखिएको सङ्गठनका सल्लाहकार परि थापाले बताए।

गोर्खालीहरूलाई विश्वमा बहादुर भन्ने, उनीहरूको आवश्यकता महसुस गर्ने तर समान तलब, सेवा, सुविधा र पेन्सन नदिने अनि राज्यले भाडाका सेना बनाउने गरेकाले यो खारेज हुनु पर्ने सङ्गठनको माग छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.