महाराजाधिराजकै नाममा ज्ञानेन्द्रको दशैं शुभकामना

महाराजाधिराजकै नाममा ज्ञानेन्द्रको दशैं शुभकामना

काठमाडौं : बडा दसैँ घर आँगनमा आएको छ। नेपालको राष्ट्रिय पर्व दसैँ पर्वको उल्लास छाएको छ। नवदुर्गा भवानीको प्रतीक निधारमा रातो टिका र कानमा जमरा सिउरिएर मनाइने दसैँका लागि घर पुग्नेहरूको लर्को लागेको छ।

गच्छे अनुसार खुसीका साथ दसैँ मनाउन परिवारबाट टाढा भएकाहरू घर पुगिरहेका छन्। एक आपसमा शुभकामना आदान प्रदानको क्रम चलिरहेको छ। सामाजिक सञ्जाल दसैँको शुभकामना सन्देशले भरिएका छन्।

नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलले बिहान ११ बजेर २ मिनेट जाँदा भाउजू विष्णुमाया पौडेलको हातबाट टिका जमरा र आर्सीवाद लिनुहुने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

राष्ट्रपति पौडेलले विजया दशमीको दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका दिने कार्यक्रम रहको छ। विजयादशमीका दिन राष्ट्रपति कार्यालयमा दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिने तालिका रहेको पोखरेलले जानकारी दिए।

सर्वसाधारणलाई टिका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहजपुरमा प्रवेशको व्यवस्था मिलाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। कार्यालयले टिका ग्रहणका लागि मर्यादित पोसाकमा आउन आग्रह गरिएको छ।

राजतन्त्रमा जस्तै गणतन्त्र घोषणापछि पनि ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव’का नाममा विजया दशमीको टिका लगाइदिने तालिका सार्वजनिक भएको छ। निर्मल निवासमा दिउँसो ४ बजेदेखि सर्वसाधारणलाई टीका–जमरा लगाइदिने तालिका उनको सचिवालयले सार्वजनिक गरेको छ।

यो वर्षको दसैँमा पनि ज्ञानेन्द्रको सचिवालयले ‘प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू’ भनेर शुभकामना सन्देश जारी गरेको छ। ज्ञानेन्द्रको सचिवालयले ‘कसैले कसैप्रति निषेध र निन्दा नगर्ने सबैले सबैको आस्था उपर उदारभाव राख्ने प्रयत्न हुनै पर्दछ’ भनेको छ।

शुभकामना सन्देशमा देश र जनता माथि अब कुनै प्रकारको घात हुन नहुने चाहना पनि व्यक्त गरिएको छ।‘खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्दछ देश र जनता माथि अब कुनै प्रकारको घात हुनु हुँदैन हाम्रो यही चाहना हो,’ज्ञानेन्द्रको सचिवालयले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ,‘श्री नवदुर्गा भवानीले हामी सबैलाई राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरून्।’

व्यक्तिगत स्वार्थ, दलीय भागबन्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको उल्लेख गरिएको छ। ‘यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन?’ भनेर प्रश्न गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बडा दसैँको शुभकामना सन्देश जारी गर्दै विद्यमान रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेको बताएका छन्। ‘लामो सङ्घर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठुलो चुनौती हाम्रासामु छ,’प्रधानमन्त्रीको सन्देशमा लेखिएको छ,‘हामीलाई पछाडि फर्किन या यत्तिकै रुमलिने छुट छैन।’

प्रधानमन्त्री प्रचण्डले सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी रहेको बताएका छन्। जात, वर्ग, धर्म, लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर “गरे हुन्छ, परिवर्तन सम्भव छ” भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता भएको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रसामु विद्यमान चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाउनु हुन सबैमा आव्हान गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.